साउदीमा कोरोना बढ्दै, रमजानको महिना मस्जिदमा इफ्तारी नहुने

अहिलेसम्म तीन लाख ९४ हजारभन्दा धेरै संक्रमित

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा मुस्लिम धर्मावलम्बीहरुको रमजान नजिकै गर्दा कोरोना बढ्ने क्रम जारी रहेको छ । यसै क्रममा मंगलबार ७९२ जना कोरोना संक्रमित थपिएको छ । यो संख्या झन्डै ६ महिना यताकै अधिक हो ।

यहाँ गत फेब्रुअरीमा कोरोना संख्या दैनिक ५ सयको हाराहारी थप्ने थालेपछि पटकपटक गरेर एक महिना रेस्टुरेन्ट तथा होटलमा तयारी भएको खाना घरबाट लगेपछि मात्र खानुपर्ने नियम समेत बनाएका थिए । हाल भने दोब्बर संख्यामा कोरोना संक्रमितहरु भेट्न थालेका छन् ।

साउदीस्थित इस्लामी मामिला मन्त्रालयले यसवर्ष पनि मस्जिदमा इफ्तार, सुहोर, इतिकाफ लगायत नहुने जनाएको साउदी बुजले उल्लेख गरेको छ ।

साउदीमा हालसम्म ३ लाख ९४ हजार १६९ जना कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । डा.अब्दुलीका अनुसार मंगलबार ४६७;जना कोरोना बिरामी उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म साउदीमा ३ लाख ८० हजार ७७२ जना बिरामीहरु घर फर्किसकेको उनको भनाइ छ ।

संक्रमितमध्ये ६ हजार ६८६ जना साउदीका कोभिड अस्पतालहरुमा उपचार लिइरहेको डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार तीमध्ये ८४६ जना बिरामीहरु गम्भीर अवस्थामा उपचार भइरहेका छन् ।

त्यसैगरी मंगल ७ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । अहिलेसम्म ६ हजार ७११ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।

साउदीमा अप्रिल महिनाबाट दैनिक कोरोना संक्रमित बढेका हुन् । यसअघि दैनिक ४ सयदेखि ५ सयको हाराहारीमा संक्रमित थपिदै आएका थिए ।


कोरोनाको संकेत देखिएमा स्वास्थ्य मन्त्रालयका टोल्प फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले यहाँको सरकारद्वारा तयार पारेका कोरोना रोकथामका विधिलाई अपनाउन आग्रह गरे । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा नेपालीहरुलाई त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको हो’, राजदूत राजपुतले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत अन्य सामाग्री उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’

यस्तै साउदीका स्वास्थ्य मन्त्रालयले कोरोना रोकथामका लागि विभिन्न प्रणालीहरु अपनाउदै आएको छ । त्यसै क्रममा मास्कलाई प्रहिलो प्राथमिकता दिएको छ । मार्च महिनाबाट मास्क नाक र मुख छोप्ने गरि नलाएको खण्डमा मन्त्रालयले १० हजार साउदी रियाल जरिवाना लाग्ने सूचना जारी गरेको छ । यसअघि राम्रोसँग मास्क नलाएका, सामाजिक दुरी कायम नगरेकाहरुलाई १ हजार साउदी रियाल जरिवाना लिदै आएको प्रवक्ता डा.अब्दुलीको भनाइ छ । नागरिकहरु सचेत र कोरोना संक्रमित हुनबाट जोगाउनका लागि जरिवानालाई बढाएको प्रवक्ता डा.अब्दुलीको भनाइ छ । साउदी अरेबियामा कोरोना महामारी सन् २०२० मार्च २ तारीखमा इरान पुगेर फर्किएका २ जनाबाट सुरु भएको हो । उक्त कोरोना संक्रमित साउदीका कातिफ शहरका स्थानीय हुन् ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका