शैलुङ छ्योर्तेन निर्माण सम्पन्न गर्ने विषयमा हामी संवेदनशील र निरन्तर सक्रिय छौं- अध्यक्ष सेरप शेर्पा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

(रामेछाप जिल्ला दोरम्बा गाउँपालिका-१, डडुवामा वि.सं. २०२९ साल जेष्ठ ४ गते पिता साङ्गे शेर्पा र माता कान्छी शेर्पाको कोखबाट जन्मनु भएका सेरप शेर्पा व्यवसायी हुन् । गैरसरकारी संस्था ‘शैलुङ रिगसुम गोन्पो सेवा समाज’को हालै मात्र नेतृत्व सम्हाल्नु भएका शेर्पाको काँधमा रामेछाप र दोलखा जिल्लाको सीमानामा पर्ने शैलुङ डाँडामा निर्माणधिन शैलुङ बोधिचैत्य (ज्याङ्छयुब छ्योर्तेन/विश्वशान्ति स्तुपा) निर्माणको महत्वकांक्षी योजना सम्पन्न गर्ने जिम्वेवारी आएको छ । यससँगै उहाँको व्यस्तता पनि निकै बढेको छ । प्रस्तुत छ छ्योर्तेन निर्माणकै सन्दर्भमा सैलुङअनलाइन डट कमका लागि कृष्णकुमार लामाले शेर्पासँग गरेको कुराकानीको संपादित अंश ।)

शैलुङ रिगसुम गोन्पो सेवा समाजले शैलुङ डाँडामा बोधिचैत्य (ज्याङछ्युब छ्योर्तेन) निर्माण गरिरहेको छ । यसबारे छोटकरीमा बताइ दिनुहोस् न ?

पुज्यनीय गुरु लोसाङ नाम्ग्याल रिन्पोछेज्यू शैलुङ भ्रमणमा पहिलो पटक आउनु हुँदा छयोर्तेन निर्माणको इच्छा व्यक्त गर्नु भएको थियो । उहाँ शैलुङ रिगसुम गोन्पो सेवा समाजका संरक्षक पनि हुनुहुन्छ । उहाँको शैलुङ भ्रमण पश्चात यस विषयमा दोलखा र रामेछाप जिल्लाका स्थानीयहरुसँग चरणबद्ध छलफल चल्यो । स्थानीयजनहरुको पनि शैलुङ क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक हिसाबले प्रवद्र्धन गर्नु पर्छ भन्ने कुरा पहिलेदेखिकै हो । केही प्राविधिक र प्रक्रियागत कुराहरु पुरा गरी दुबै जिल्लाका स्थानीयहरुको अग्रसरतामा विशुद्ध सामाजिक उद्देश्य लिएर शैलुङ रिगसुम गोन्पो सेवा समाजको स्थापना भयो ।

समाजको स्थापना लगतै २०७२ साल चैत्र महिनामा छ्योर्तेन निर्माणका लागि सालाङ (भूमिपूजन) गर्यौं । भूभिपूजन त गर्यौं तर सबैभन्दा ठूलो कुरा त आर्थिक सङ्कलनको पाटो थियो । यो कार्य हामीले सबैभन्दा पहिले कार्यसमितिका सदस्यहरुबाटै सुरु गर्यौं । लगत्तै काठमाडौंलाई कर्म थलो बनाएर रहनु हुने त्यस भेगको स्थानीयहरुलाई भेला गरायौं । भेला निकै महत्वपूर्ण रह्यो । भेलामा केही रकम सङ्कलन भयो । धेरैजनाले सहयोगको प्रतिवद्धता जाहेर गर्नु भयो । त्यसपछि निर्माण समिति गठन गरेर करिब ५४ फिट अग्लो छ्योर्तेनको निर्माण कार्यलाई अगाडि बढायौं ।

छ्योर्तेन निर्माण कार्य कहाँसम्म पुग्यो र कहिलेसम्म सम्पन्न हुन्छ ?

अहिलेसम्ममा छ्योर्तेनको मूल संरचनाको निर्माण कार्य सम्पन्न भैसकेको छ । भन्नै पर्दा निर्माण कार्य सम्पन्न नजिक पुगिसकेको छ । बौद्धकलासँग सम्बन्धित कार्यहरु घोकिङ (बुद्धमुर्ति) र गजुर प्रतिस्थापन, रङ्गरोगन तथा लेखनका कामहरु मात्र बाँकी छन् । यी सबै कार्यहरु सम्पन्न गर्न अघि नै भनिसकेँ आर्थिक पक्षको कुरा त छँदैछ सँगसँगै मौसमको अनुकुलता पनि मिल्नु पर्ने हुन्छ । सबै कुराले साथ दिएमा २०७८ सालभित्र छ्योर्तेनको प्राणप्रतिष्ठान कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।

मूल संरचना निर्माण भैसकेको र अब बौद्धकलासँग सम्बन्धित कार्यहरु, घोकिङमा बुद्धमुर्ति प्रतिस्थापन र गजुर प्रतिस्थापनलगायत कार्यहरु बाँकी भन्नु भयो । बाँकी कार्यहरुको तयारी बारे बताइ दिनुहोस् न ?

गजुर बनिसकेको छ । छ्योर्तेनमाथि गजुर स्थापनका लागि फलामको सोली आकारको आधार बनाउने काम हुँदैछ । घोकिङमा स्थापन हुने बुद्ध मुर्ति बन्दै छ । घोकिङकै घेरामा राखिने तामाको पाता खोपेर बनाइने विशेष बौद्धकलाको काम सकिसकेको छ । छ्योर्तेनको गर्भमा सोकसिङ र स्हुङ प्रतिस्थापन पछि अन्य बौद्धकलाको काम हुनेछ ।

छ्योर्तेनको गर्भमा सोक्सिङ र सुङ प्रतिस्थापन गर्ने कार्यको तयारीमा लाग्नु भएको रहेछ त्यसबारे थप बताइ दिनुस न ?

हामीले सोकसिङ (छ्योर्तेनको मेरुदण्ड) र स्हुङ (धारणीमन्त्र) प्रतिस्थापन कार्य अघिल्लो महिनामा नै सम्पन्न गर्ने योजना राखेका थियौं । तर, बौद्धपात्रो अनुसार यस वर्षको पहिलो महिना (माघ-फाल्गुन) कालो महिना (अशुभ) परेकोले यसलाई पछि सार्नु पर्यो । अब आगामि नयाँ वर्ष २०७८ साल बैसाख महिनाको १२, १३ र १४ गते प्रतिस्थापनका लागि रिन्पोछेज्यूले नै मिति तय गरि दिनु भएको छ । यसको तयारीमा हामी जुटिसकेका छौं । सोक्सिङमा मन्त्र लेखन कार्य भैरहेको छ । छ्योर्तेनको गर्भमा प्रतिस्थापन गर्ने स्हुङ, त्यसमा समावेश हुने धार्मिक ग्रन्थ काङ्ग्युर, तेन्ग्युर र श्रद्धाका अरु धार्मिक सामग्रीहरुको छपाई तथा सङ्कलन भैरहेको छ । फेरि यी सामाग्रीलाई धार्मिक विधिबाट गर्नु पर्ने अनुष्ठानगत विधिविधानहरु पनि पुरा गर्नु पर्ने भएकोले त्यसको तयारीमा जुटेका छौं । यो महत्वपूर्ण कार्य अघि बढाउँदै गर्दा हामीले छ्योर्तेन निर्माणका लागि पचास हजारभन्दा माथि आर्थिक सहयोग गर्ने दाताहरुलाई काठमाडौंको बौद्धमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान पनि गर्यौं । यो कार्यक्रममा दानपति महानुभावहरुलाई छ्योर्तेन निर्माणका गतिविधि, अब निर्माण हुन बाँकी पक्षहरु र आम्दानी–खर्च विवरण पनि जानकारी गर्ने अवसर मिल्यो ।

छ्योर्तेन बौद्ध धार्मिक आस्थासँग जोडिएको संरचना हो । यसको निर्माण पक्षको जटिलता आफ्नो ठाउँमा छँदैछ । मूल कुरा यसको धार्मिक पक्षसँग स्थानीयहरुलाई जोड्नु हो । यसका लागि के कस्ता गतिविधिहरु गर्नु भयो र गर्दै हुनुहुन्छ ?

छ्योर्तेन निर्माण आरम्भ गर्नुभन्दा पहिले निर्माणस्थलमा भूमिपूजन (सालाङ) स्थानीयहरुकै सहभागितामा सम्पन्न भएको थियो । त्यसपछि पनि स्थानीयहरुका लागि रिन्पोछेज्यूबाट आयुअभिषेक (छेवाङ) प्रदान गर्ने कार्य भयो । छ्योर्तेनको धार्मिक पक्ष र यसको महत्व बारेमा बुझाउनका लागि संस्थाले कार्यक्रमका दौरान पर्चा र बुस्ररहरु प्रकाशन गरेर वितरण पनि गरेका छौं । यही आउँदो नयाँ वर्ष २०७८ साल बैसाख १२, १३ र १४ गते छ्योर्तेनको गर्भमा स्थापना गर्न लागेको सोक्सिङ र स्हुङ प्रतिस्थापनको समयमा पनि धार्मिक विधिविधा र पूजा कार्यक्रमहरु हुँदैछ । यसमा पनि स्थानीयहरुको उपस्थिति रहने नै छ । छ्योर्तेन निर्माण कार्य सम्पन्न भैसकेपछि विशेषतः शैलुङ वरिपरीका स्थानीयहरुको उपस्थितिमा प्राणप्रतिष्ठान कार्य हुनेनै छ । यसले स्थानीयहरुलाई छ्योर्तेनको धार्मिक पक्षसँग जोड्न र छ्योर्तेनको महत्वलाई बुझाउन सहयोग पुर्याउँछ जस्तो लागेको छ ।

छ्योर्तेन निर्माण कार्यमा ढिलाई भएको कुरा पनि आएका छन् । निर्माण कार्य ढिलाई हुनुको खास कारण चाहीँ के हो ?

यो कुरा सही हो कि हामीले निर्धारित समयमा छ्योर्तेन निर्माण कार्य सम्पन्न गर्न सकेनौं । हामीले छ्योर्तेन निर्माण कार्य सुरु गर्दा अठ्ठार महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिएका थियौं । समयमै छ्योर्तेन निर्माण कार्य सम्पन्न गर्ने भनेका पनि थियौं । अहिले आएर थाहा पाएँ कि यस्तो कार्यलाई समयसीमा तोकेर नहुने रहेछ । समाजमा आबद्ध हामी सबै कार्यसमितिका सदस्यहरु विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित छौं । यो महान कार्य भए पनि कतिपया अवस्थामा चाहेरै पनि पूर्ण समय दिन सकिँदो रहेनछ । अर्काे कुरा यहाँहरुलाई विदितै छ शैलुङ डाँडाको भौगोलिक स्थिति र हावापानीका कारण पनि हामीले चाहे अनुसार निर्माण कार्य अघि बढाउन सक्दैनौं । अझ महत्वपूर्ण आर्थिक कारण त छँदैछ । यी सबै कारणले गर्दा ढिला हुन गएको हो । तर, हामी निर्माण कार्यलाई सम्पन्न गर्ने कुरामा संवेदनशील छौं र निरन्तर सक्रिय पनि छौं । अर्काे कारण कोभिड १९ पनि रह्यो । कोभिड १९ महामारीका कारण शैलुङ रिगसुम गोन्पा समाजले पनि ठूलो क्षति व्यर्होनु पर्यो । हाम्रो संस्थाका संस्थापक अध्यक्ष तथा शैलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष समेत रहनु भएका प्रेम मोक्तानको कोभिडकै कारण असामायिक निधन हुन गयो । उहाँको अभिभावकत्व गुमाउन पर्दा हामी निकै दुःखी छौं । यो घडीमा उहाँप्रति यहाँको मिडिया मार्फत् पनि हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । यो अनित्यरुपी संसारमा शोक गरेर मात्र हुँदैन । शोकलाई नै शक्तिमा बदल्नु पर्छ भन्ने हाम्रो मान्यता हो । यही कुरालाई आत्मासाथ गर्दै प्रक्रियागत रुपमा मेलै समाजको जिम्मेवारी लिएँ र छ्योर्तेन निर्माण कार्य पनि अगाडि बढिरहेको छ ।

अहिले छ्योर्तेन निर्माण कार्य जारी नै छ । संस्थाभित्र आर्थिक अनियमितता भयो भन्ने पनि सुनिन्छ कतिको सत्य हो ?


संघसंस्थाले गर्ने धार्मिक एवं सामाजिक कार्य अझ भनौं निर्माणको काममा यस प्रकारका आशंकाहरु आउनुलाई स्वभाविक नै मान्छु पर्छ किनकी यो सबैको चासो र सरोकारको विषय पनि हो र रहनु पनि पर्छ । हामीले पनि सुन्यौं, छ्योर्तेन निर्माणलाई मागी खाने भाँडो बनायो भनेका । तर, जहाँसम्म समाजभित्रको वास्तविक कुरा छ त्यस्तो कुनै अनियमितता भएको छैन । हामी आर्थिक पक्षबाट निकै पारदार्शी छौं । संस्थाको आर्थिक पक्ष हामीले समय समयमा सार्वजनिक पनि गर्दै आएका छौं । यदि कसैलाई त्यस्तो लाग्छ भने हाम्रो कार्यालयमा सम्पर्क गरेर त्यस बारे यथार्थ जानकारी लिन सक्नुहुन्छ र सबै सरोकारवाला पक्षहरुसँग जानकारी लिन अनुरोध पनि गर्छु म ।

अन्त्यमा, भन्नै पर्ने छुटेका कुरा केही छन् भने राखिदिनुहोस् न ?

हामीले निर्धारित समयमा निर्माणको काम सम्पन्न गर्न सकेनौं । यसका विविध पक्ष र कारणहरु मैले अघि नै भनिसकेँ । तर, पनि हल्ला सुनिए जस्तो समाज गैरजिम्मेवार पक्कै छैन । हामी छ्योर्तेन निर्माण सम्पन्न गर्छौं नै । यसका लागि समाजलाई सबैतिरबाट हिजो पनि आर्थिक, भौतिक, नैतिक सबै प्रकारको सहयोग प्राप्त भयो । मूल संरचनाको काम सके पनि अझै धेरै कामहरु बाँकी छन् । फेरि पनि यी कामहरु यहाँहरुको सहयोग बिना सम्भव छैन । यसका लागि सबैरितबाट समाज सहायोगको अपेक्षा पनि गर्दछ । यो महान पुण्य कार्य गर्ने दूर्लभ अवसर हामीले प्राप्त गरेका छौं । आस्थावान सबै महानुभावलाई नयाँ वर्ष २०७८ को शुभकामना सहित बैसाख १२, १३ र १४ गते शैलुङ छ्योर्तेनको गर्भमा स्थापना गर्न लागेको सोक्सिङ र स्हुङ प्रतिस्थापन कार्यक्रममा हार्दिक निमन्त्रण पनि गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया