बार्षिक हजका लागि शुक्रबार २० लाख भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु मक्कामा भेला भएका छन् ।
हजका लागि हुने भेला विश्वमै ठूला धार्मिक भेलामध्ये पर्छ । हजका लागि मक्कामा आउनुलाई मुस्लिम धर्माबलम्बीहरुले जीवनमा एक पटक गर्नै पर्ने कर्मका रूपमा लिन्छन् ।
साउदी अरबको पश्चिमी क्षेत्रमा पर्ने मक्कामा हजका लागि मुस्लिम धर्मावलम्बीहरूको पाँच दिने मेला लाग्ने गरेको छ ।
‘हजका लागि आएका तिर्थयात्रीहरूलाई सहयोग गर्न हामीले राज्यका सवै सुरक्षाकर्मीहरूलाई तीर्थस्थलमा खटाएका छौं, भगवानका अतिथिलाई स्वागत गर्न पाउँदा हामी खुशी छौं,’ सुरक्षा निकायका एक जना प्रवक्ता बास्साम अट्टियाले भने ।
हजका लागि आएका २५ लाखमध्ये अधिकांश साउदी अरबबाहिरका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
‘हजका लागि आउने १८ लाख भन्दा बढी तिर्थयात्रीको प्रवेश अनुमतिपत्र जारी गरिएको छ, यो सहभागीताले हाम्रो सफलता देखाउँछ,’ हज मन्त्रालयका एक अधिकारीको भनाई छ । – एजेन्सी