कांग्रेसका केन्द्रीय नेताहरु सडक मर्मतमा जुटे

सैलुङअनलाइन संवाददाता
0 Shares
नुवाकोट

नुवाकोटको टोखा-झोर छहरे सडकखण्ड मर्मतमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महत, सांसद एवम् केन्द्रीय सदस्य बहादुरसिंह लामालगायत खटेका छन् । सहमहामन्त्री डा.महत, सांसद लामा, पुर्व जिल्ला सभापति ध्रुव अधिकारी र जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङसहित नेता तथा कार्यकर्ताहरूले आफ्नै पहलमा बाटो खुलाउन गैँची, बेल्चा, एक्जाभेटरसहित सडक मर्मतमा उत्रिएका छन् ।

सरकारले जिर्ण सडकहरूको मर्मत गर्न बेवास्ता गरेपछि कांग्रेस क्षेत्र नम्बर १ नुवाकोटले शनिबार टोखा–झोर छहरे सडकखण्डको आफै मर्मत गरेको हो ।

काठमाडौं प्रवेश गर्ने नाकाको उक्त सडकखण्डमा बर्षातले हिलाम्मे भएर मानिसहरुसमेत आवातजावत गर्न समस्या परिरहेको छ ।
विग्रेको २ किलोमिटर बाटो एक हप्तासम्ममा सवारीसाधन आवातजावत गर्न सक्ने बनाउँछौं, सांसद लामाले बताए । जनताको दुःखलाई कांग्रेसले टुलुटुलु हेरेर बस्न नसक्ने बताए । सांसद लामाले भने, ‘कम्युनिस्टहरूले काम गर्नेभन्दा गफ लगाएर बस्न जाने छन् । जनतालाई ढाँट्न पल्केका छन्’, सांसद लामाले भने, ‘पटकपटक राज्यका निकायलाई मर्मतका लागि आग्रह गर्दा समेत बेवास्ता ग¥यो । त्यसपछि हामीले आफैले नेता तथा कार्यकर्ताहरू श्रमदान गरेर जनतालाई राहत दिन आएका हौँ ।’

दुई तिहाईको कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी ओलीले गफ मात्रै गरेर जनता झुक्काउने कार्य गरेको सहमहामन्त्री डा.महतले आरोप लगाए । ‘दुई तिहाइको दम्भले गर्दा यो ओली सरकारले जनताका समस्या देख्न सकेन’, उनले भने, ‘जनताले दुःख पाउँदा नेपाली कांग्रेस टुलुटुलु हेरेर बस्न सक्दैन ।

नुवाकोटका दुबै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । जनताले दुःख पाउँदा पनि नेकपाका सांसदहरू कानमा तेल हालेर बसेको नेपाली कांग्रेस नुवाकोटले आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका