सन् १९९४ देखि संयुक्त राष्ट्रसंघले मनाउदै आएको आदिवासी दिवसको प्रत्येक वर्ष नारा फेर्ने गर्छन् । त्यसै अन्तर्गत यसपटकको नारा ‘आदिवासी भाषा वर्ष’ तय गरी विश्वभरका आदिवासीहरुले भव्य रुपले दिवस मनाएको हो ।
त्यसै क्रममा ९ अगस्ट शुक्रबार आदिवासी जनजाती महासंघ कुवेतले पनि विविध जातीय पहिचान झल्किने गीत, नृत्य, झाँकी र साँस्कृतिक कार्यक्रमका साथमा फर्वानियस्थित युनिक अडिटोरियम हलमा २५ औं विश्व आदिवासी दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले शुभकामना मन्तव्यका क्रममा प्रवासमा व्यस्तताका बाबजुद विश्व आदिबासीमा बृहत कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिए । राजदूत भण्डारीले आफ्ना रीतिरिवाज, कला, संस्कृति, परम्परालाई जोगाउन एक ढिक्का भई लाग्नुपर्ने बताए ।
कार्यक्रममा एनआरएनए आइसीसीका अमित राई, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी,नेपाल पत्रकार महासँघ कुवेतका सद्स्य पत्रकार नैना कला राई, अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङ्तान, सल्लाहकार खोप गुरुङ, तमू प्ये ल्हु संघ कुवेतकी अध्यक्ष उमा तमुस्यो, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा तामाङ घेदुङ, मगर संघ, किराँत राई यायोक्खा शाखा, किरात याक्थुङ चुम्लुङ, तमु प्ये ल्हु संघ, सुनुवार सेवा समाज, तमू समाज लगायत आआफ्ना भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका लागि महासंघका सल्लाहकार राजेन्द्र तामाङ र प्रवासी इलामेली सेवा समाजले आर्थिक व्यवस्थापन गरेका थिए । त्यसैगरी पिउने पानी समाजसेवी ललिता थापा मगरले र व्यानारका लागि सुरज मास्केले सहयोग गरेका थिए ।
“विश्वभरका आदिवासी जनजातीहरू एक हौ” भन्ने मुला नाराका साथ आयोजना गरेका कार्यक्रमका सभापति महासंघका अध्यक्ष अमृत तामाङले सबैलाई धन्यवाद ज्ञापन गरे ।