दिल्लीमा निषेधाज्ञा जारी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
91 Shares
नयाँ दिल्ली

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा निषेधाज्ञा जारी गरिएको छ ।कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

‘कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कर्फ्यु लगाउनुपर्ने निष्कर्षमा हामी पुगेका हौँ’, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने ।

सरोकारवाला र विज्ञहरूसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रिय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरे ।

गत बुधबार मात्रै दिल्लीमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका थिए । सरकारी अधिकारीहरूका अनुसार बुधबार दिल्लीमा एकैदिन १७ हजार २८२ जना सङ्क्रमित भएका थिए भने १०४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

दिल्ली प्रदेशमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ६७ हजार ४३८ जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । ती मध्ये ५० हजार ७३६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाइएको छ ।

सरकारी अधिकारीहरूका अनुसार दिल्ली प्रदेशमा मात्रै कोरोनाका कारण अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ ।

भारत देशभरि भने गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमणको महामारी सुरु भएयता एक दिनमा २ लाख भन्दा बढी सङ्क्रमित भएको बुधबार पहिलो पटक हो ।

यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका जनाइएको थियो ।

कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरू खोप लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका