भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । एकैदिनमा यति धेरै संक्रमित भएको यो नै पहिलोपटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सयभन्दा बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको उल्लेख छ । योसँगै देशभरी अहिलेसम्म कोरोनाका कारण कुल मृतकको संख्या एक लाख ७५ हजार ६४९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६९२ जना संक्रमित भएसँगै कुल संक्रमितको संख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित रहेकाहरुको संख्या १६ लाख ७९ हजार ७४० पुगेको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएरपनि मुक्त भइसकेकाहरुको कुल संख्या एक करोड २६ लाख ७१ हजार २२० पुगेको छ । भारतीय मेडिकल रिसर्च काउन्सीलले गत शुक्रबार मात्रै देशभरी १४ लाख ९४ हजार ३९७ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।