शिक्षकलाई कोरोना देखेपछि विद्यालय बन्द

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
कंचनपुर

कंचनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । यहाँस्थित भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टलाई कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण गरेका शिक्षक भट्टसँगै उनकी श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि शिक्षक भट्टले आफ्नो सम्र्पकमा रहेका अन्य शिक्षक तथा विद्यार्थीसमेतलाई परीक्षणका लागि आग्रह गरेको छ । विद्यालयका अन्य १६ शिक्षकको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको विद्यालयले जनाएको छ । त्यसैगरी कञ्चनपुरमा आइतबार भीमदत्तनगरपालिका-९ ब्रह्मदेवका नौ व्यापारीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भारतबाट गड्डाचौकी हुँदै स्वदेश फर्किरहेका एक र ब्रह्मदेवमा नौ गरी दशमा कोरोना संक्रमण देखिएको बताए । भारतमा पूर्णागिरी मेला शुरु भएसँगै सीमावर्ती नेपाली ब्रह्मदेव बजारमा चहलपहल शुरु भएको थियो । केही दिनअघि पनि ब्रह्मदेवमा छ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया