काँग्रेस बारामा विवाद

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
बारा

क्रियाशील सदस्यताको विषयलाई लिएर नेपाली काँग्रेस बारामा विवाद बढेको छ । सभापति देउवा निकट पक्षका नेताहरूले विधान विपरीत क्रियाशील वितरण गर्न लागेपछि अर्को पक्षले सोको विरोध जनाएको हो ।

देउवा निकट पक्षका नेताले महाधिवेशन आफ्नो अनुकूल बनाउन वर्षौँदेखि काँग्रेसमा योगदान पुर्‍याएका कार्यकर्तालाई पाखा लगाएर नेकपा एमाले लगायत अन्य पार्टी र आफ्नो परिवारभित्रका नातेदारलाई प्रक्रिया विपरीत विभिन्न बहानामा क्रियाशील वितरण गरेपछि आफूहरूले सो को विरोध गरेको निजगढका मेयर एवं महाधिवेशन प्रतिनिधि सुरेशकुमार खनालले बताए ।

१३औ महाधिवेशनमा छुट भएकाहरू भन्दै किर्ते गरेर क्रियाशील सदस्यता वितरण गरेपछि निजगढमा विवादले चरम रूप लिएको हो । १३ औ महाधिवेशनमा निजगढका १४ जना कार्यकर्ताहरू क्रियाशील सदस्यता प्राप्त गर्न वञ्चित भएका थिए ।

काँग्रेस निजगढद्वारा बिहीबार गरिएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीको निर्देशनमा काँग्रेस निजगढका सभापति महेशी कुमारले १३ औ महाधिवेशनमा क्रियाशील सदस्यता पाउन छुटेका क्रियाशील सदस्यको सङ्ख्या १४ जना मात्र भएपनि १४२ जना भएको भन्दै सोही अनुसार अन्य पार्टीका कार्यकर्ताहरूलाई समेत क्रियाशील वितरण गरेको मेयर समेत खनालले बताए । नयाँ थपिएका १४२ क्रियाशील सदस्यको सूचिमा १३ औ महाधिवेशनमा छुटेका १४ जना कसैको पनि नाम नरहेको तर १३ वर्ष उमेरका किशोरको समेत क्रियाशील सदस्यता आएको र अन्य पार्टीका कार्यकर्ताहरूलाई क्रियाशील वितरण गरेकाले आफूहरूले त्यसको विरोध गरेको खनालले बताए ।


अवैधानिक तरिकाले थप भएका क्रियाशील सदस्यताको विरोधमा केन्द्रीय कार्यालयमा काँग्रेस निजगढ नगर कार्यसमितिका बहुमत पदाधिकारी र कार्यसमिति सदस्य सहित महाधिवेशन प्रतिनिधिहरूले खारेजको लागी उजुरी गरेको र छानबिनको प्रक्रियामा रहेकोमा वडा कार्यसमितिको बैठक र निर्णय बिनै किर्ते माईन्युट गरेर नवीकरणको लागी वडा कार्यसमितिका सदस्यहरूलाई झुक्क्याएर हस्ताक्षर गरेपछि दुई पक्षबिच हात हालाहालको स्थिति समेत उत्पन्न भएको छ । निजगढ नगरपालिकामा जम्मा ३७९ जना क्रियाशील सदस्य सङ्ख्या रहेका छन्।
सोही सङ्ख्याको क्रियाशील सदस्य नवीकरण गर्ने भन्दै झुक्क्याएर वडा कार्यसमितिका सदस्यहरूलाई झुक्क्याएर अवैधानिक तरिकाले थप गरिएको १४२ जना क्रियाशील सदस्य समेत नवीकरण गर्न थालिएको काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क का प्रत्याशी उम्मेदवार पेमासिद्धि लामाले बताए ।

नगर सभापतिलाई सो कार्य नगर्न सुझाव दिँदादिँदै अटेरी गरिरहेकोप्रति लामाले आपत्ति समेत जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेका सङ्गठित सदस्य रहेकाहरूको समेत पार्टी प्रवेश नै नगरी पार्टीमा कुनै योगदान बिनै नेपाली काँग्रेसको क्रियाशील आउनु खेदजनक रहेको नेपाली काङ्ग्रेसकी महाधिवेशन प्रतिनिधि माला लामाले बताए । वर्षौँदेखि नेपाली काँग्रेसमा योगदान पुर्याएकाहरुलाई क्रियाशील सदस्यताबाट वञ्चित गराएर पार्टीमा योगदान नै नपुर्‍याएका अन्य पार्टीका पदाधिकारी र सदस्यहरूलाई क्रियाशील सदस्य वितरण गरेर कार्यकर्ता निराश पार्ने काम गर्न नहुने लामाले जनाइन् ।

त्यसै गरी नेपाली काँग्रेस निजगढका उपसभापति नवराज तिमल्सिनाले क्रियाशील सदस्यताको विषयमा समाधानको उपाय खोज्न नगर कार्यसमितिको बैठक राख्न नगर सभापति महेशी कुमारलाई आग्रह गर्दा पार्टी कार्यालयमा कसैलाई पनि उपस्थित हुन नदिने धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया