टी-२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

लेग स्पिनर सन्दीप लामिछाने टी-२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेको छ । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएको हो ।

मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए । उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएको छ । हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिइसकेको छ । नेदरल्यान्डससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिएको हो ।

लामिछानेले नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाएको छ । उनले २५ टी-२० खेलमा ४५ विकेट लिएको छ ।यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उनले ३२ खेलमा ४१ विकेट लिएको छ । टी-२० मा लामिछानेले ७५ वटा टी-२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेको हो । टी-२० अन्तरराष्ट्रिय खेलमा उनले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व-११ टोलीबाट खेलेको हो । सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तरराष्ट्रिय खेलमा उनले डेब्यु गरेको हो । लामिछाने नेपालका लागि टी-२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुन् ।

डेब्यु खेलमै कमलसिंह ऐरीको तीन विकेट

नेपालका कमलसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको मलेसियाविरुद्धको खेलमा डेब्यु गर्दै २० वर्षीय ऐरीले तीन विकेट लिए । त्रिदेशीय सिरिजअन्तर्गत बिहीबारको खेलमा उनले तीन दशमलव एक ओभर बलिङ गर्दै १६ रन मात्र खर्चिए ।


ऐरी अविनाश बोहराको स्थानमा टोलीमा समावेश भएको हो । उनले आफ्नो दोस्रो ओभरमा मलेसियामा शार्भिन मुनिएन्डीलाई तथा वीरनदीप सिंहलाई पेभेलियन फर्काए भने तेस्रो ओभरको पहिलो बलमा मोहम्मद वाकिफलाई कुशल मल्लद्वारा क्याचआउट गराएको थियो । महेन्द्रनगर घर भएका ऐरीले गत वर्ष नेपालमै सम्पन्न विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो । उक्त खेलमा उनी विकेटविहीन रहे ।

करण केसी विश्व रेकर्ड बनाउनबाट चुके

यहाँ जारी त्रिदेशीय टी-२० सिरिजमा नेपाली बलर करण केसी विश्व रेकर्ड बनाउनबाट चुके । मलेसियाविरुद्धको खेलमा उनले उत्कृष्ट ब्याटिङ गरे । आठौं नम्बरमा ब्याटिङका लागि मैदानमा प्रवेश गरेको केसीले १३ बलमा ४५ रन बनाए । यस क्रममा उहाँले सात छक्का हान्नुभयो । केसीले ११ बलमा ४४ रन बनाउनुभएको थियो । उनले १२औं बलमा छक्का प्रहार गर्न सकेको भए सबैभन्दा छिटो अद्र्धशतकको विश्व रेकर्ड बराबरी हुने थिए । तर केसीले १२औं बलमा एक रन मात्र बनाउन सके र विश्व कीर्तिमान बनाउनबाट वञ्चित रहे । हाल १२ बलमा अद्र्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय क्रिकेट खेलाडी युवराज सिंहको नाममा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका