नेपाली दूतावासले २ करोड ५० लाख मिनाहा गराई भुजेलको उद्धार

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियास्थित नेपाली दूतावासले एक नेपालीलाई २ करोड ५० लाख रुपैयाँभन्दा बढी मिनाहा गराई नेपाल फर्काएको छ । पछिल्ला अढाई वर्षदेखि नेपाली दूतावासको पहलमा उपचाररत वेदबहादुर भुजेललाई बिहिवारको हिमालय एयरलाइन्सको उडानबाट नेपाल फर्काएको विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

दूतावासद्वारा जारी ` विज्ञप्तिमा वैदेशिक रोगजारीको सिलसिलामा साउदी अरबको रियादस्थित एउटा कम्पनीमा काम गर्दागर्दै दुर्घटनामा परी अपांग हुनगई विगत अढाई वर्षदेखि यस राजदूतावासको सेल्टरमा रहनुभएका हरैचा-०९, मोरङ्ग घर भएका श्री बेदबहादुर भुजेल आज अपरान्ह नेपाल फर्किनुभएको ´ उल्लेख छ ।

भुजेल कम्पनी छोडेर अन्यत्र काम गर्दा दुर्घटनामा परेका कारण नेपाल फर्काउन ढिला भएको नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिए । राजदूत राजपुतका अनुसार दुर्घटना लगत्तै भुजेललाई रियादस्थित (Family Care Hospital) फेमेली कियर अस्पतालमा भर्ना गरिएका थिए ।

विज्ञप्तिमा ` अस्पताल बसाई र उपचार खर्चको बिल ८ लाख साउदी रियालभन्दा बढी ( ने.रु.२ करोड ५० लाखभन्दा बढी ) आएको थियो । उहाँ
गैरकानूनी हैसियतमा रहेर काम गरी रहेको अवस्थामा दुर्घटनामा पर्नुभएको हुँदा निजको उपचारको क्रममा खर्च भएको अस्पतालको विल तिर्ने जिम्मा कसैले पनि लिएन । उपचार खर्चको विल कसैले तिर्न नमानेपछि अस्पालले निज भुजेल विरुद्ध मुद्धा दायर गरी निजलाई राजदूतावासको जिम्मा लगाएको ´ लेखिएको छ ।


साउदीमा विदेशी नागरिकमाथि मुद्दा दायर भएमा उक्त मुद्दाको सुनुवाइ नहुदासम्म देश छोड्न प्रावधान रहेको छ । दूतावासले भुजेलका पहिले कम्पनी र उनलाई साउदी पठाउने नेपाली म्यानपावर कम्पनीसँग पच्चीस-पच्चीस हजार साउदी रियाल व्यहोर्ने गरी एकजना कानून व्यवसायी राखी भुजेलको प्रतिरक्षाको शुरुवात गरिएको थियो । दुई वर्षसम्म कुनै कानूनी
प्रगति गर्न नसके पनि दूतावासले उनलाई नेपाल पठाउन निरन्तर प्रयास गरे र भुजेलले विल तिर्न
नसकिने भएपछि अस्पतालले भुजेलविरुद्धको मुद्दा फिर्ता लिएको दूतावासको भनाइ छ ।

` अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटकपटक भेटवार्ता र पत्राचारमार्फत निज भुजेल विरुद्धको मुद्धा फिर्ता लिई निजलाई नेपाल पठाउन सहयोग गरिदिन अनुरोध गर्यो । अन्ततः दूतावासको अथक प्रयासको परिणामस्वरुप अस्पतालले गत दुई हप्ताअघि निज भुजेलविरुद्ध अदालतमा रहेको केस फिर्ता लिई दियो । र, त्योसँगै बेद बहादुर भुजेलको स्वदेश फिर्ती प्रकृयाको मार्ग प्रशस्त भयो ´ दूतावासको विज्ञप्ति उल्लेख छ ।

दूतावासले भुजेलको स्वदेश फिर्तीमा अस्पतालले ८ लाख २३ हजार साउदी रियाल ) मिनाहा गरी मुद्धा फिर्ता लिएर सहयोग गरेकोमा गहिरो आभार प्रकट गरेको छ । त्यसैगरी भुजेललाई स्वदेश फिर्तीका लागि आवश्यक खर्च प्रवन्ध गरिदिने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय साउदी लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका