बियोन्डोले फुल बुट्टे गाउँदा मन्त्री दंग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौँ

जब फुल बुट्टे सारीकी अफ्रिकन गायिका बियोन्सेले यो गीत प्रत्यक्ष रूपमा गाइन । दर्शकले उनलाई तालीले निरन्तर साथ दिए । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीदेखि चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालसम्म पुलकित भए । शुक्रबारबाट काठमाडौँको नाचघरमा सुरु भएको नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ को उद्घाटन समारोहमा गायिका बियोन्सेले फुल बुट्टे सारी गीत गाएर दर्शकको मन जितेकी हुन् ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिसकेशनको आयोजनामा सुरु भएको यो महोत्सवको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरे । मन्त्री ज्ञवालीले यस्ता महोत्सवले नेपाल अफ्रिकाको सम्बन्ध सधैँ राम्रो हुने बताए । यस्तो अवस्थामा पनि सामाजिक दुरी कायम गरेर नवौँ वर्षदेखिको महोत्सवलाई निरन्तरता दिनु आयोजक संस्थाको सराहनीय कार्य भएको मन्त्री ज्ञवालीले बताए । विभिन्न अफ्रिकन मुलुकका सिनेमा खोजेर महोत्सव गर्नु पनि राम्रो भएको मन्त्री ज्ञवालीले बताए । नेपाली चलचित्र निर्माताहरूको मागलाई मध्यनजर राख्दै सरकारले विदेशमा रहेका नेपाली दूतावास मार्फत अन्तर्राष्ट्रिय नेपाली फिल्म महोत्सव आयोजना गर्ने योजना बनाइरहेको पनि मन्त्री ज्ञवालीले बताए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले मन्त्री ज्ञवालीको भनाईलाई समर्थन गर्दै सरकारले विदेशमा रहेका नेपाली दूतावास मार्फत चलचित्र महोत्सव गर्नेबारे आफूहरूले पहल गर्दै आएको जानकारी गराए । यस्तै नेपाल अफ्रिका चलचित्र महोत्सवसँग बोर्ड सुरु देखि नै जोडिएको र यस्तो महोत्सवले नेपाली चलचित्रको विकाशमा ठुलो मद्दत पुग्ने बताए । अहिले कोभिडका कारण सिनेमा हल बन्द भएकाले सरकारले बोर्डलाई आर्थिक सहयोग गर्नु पर्ने माग पनि उनले मन्त्रीसँग सो कार्यक्रममा राखे ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले अफ्रिका र नेपाललाई सांस्कृतिक रूपमा जोड्न नै नियमित रूपमा यो महोत्सव गर्दै आएको आयोजक संस्था कलेज अफ जर्नालिज्मकी अध्यक्ष डा। मञ्जु मिश्रले बताइन् । कोभिडको सन्त्रास बिच पनि पूर्ण सामाजिक दुरी कायम गर्दै आफूहरूले महोत्सव आयोजना गरिरहेको उनले जानकारी गराइन् ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले आफू सुरुका दिन देखिनै नेपाल अफ्रिका फिल्म महोत्सवसँग नजिक रहेको र महोत्सवमा सांस्कृतिक संस्थानले पनि सहकार्य गर्दै आएको बताए ।
यो महोत्सवमा आइतबार ११ बजेबाट २ बजेसम्म नेपाली र अफ्रिकन चलचित्रबारे कार्यशाला आयोजना गरिने महोत्सव निर्देशक डब्बु क्षत्रीले बताए । सुरुका दिनमा अफ्रिकन सिनेमा जुटाउन निकै गाह्रो भए पनि अहिले महोत्सवमा निकै राम्रा नेपाली र अफ्रिकन फिल्म सहभागी हुने गरेको पनि क्षत्रीले बताए । महोत्सवमा यसपटक ८ वटा नेपाली लामा छोटा चलचित्र र ९ वटा अफ्रिकन चलचित्र रहेको पनि क्षेत्रीले जानकारी गराए ।
महोत्सवमा सांस्कृतिक संस्थानका कलाकारले विभिन्न लोक नृत्य प्रस्तुत गरेर दर्शकको मन जिते । पत्रकार एवम् चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, अभिनेता प्रदीप बास्तोला र गायिका एवम् सञ्चारकर्मी सरिता भारतीलगायतको निर्णायक समूहले महोत्सवमा नेपाली चलचित्र चयन गरेको थियो ।


महोत्सवमा चयन भएका १५ वटा चलचित्र मध्य शुक्रबार पहिलो दिन पाँच ओटा चलचित्र प्रदर्शन गरियो । जस मध्य पाँच वटा चलचित्र शुक्रबार देखाइयो । शुक्रबार महोत्सवको उद्घाटनमा जिम्वावेको चलचित्र गुड म्यान प्रदर्शन गरियो । इजिप्टको चलचित्र बबल्स र ड्राई हट समर, नामिभिया एवम् ब्राजिलको फिल्म बडी गेम प्रदर्शन गरियो । हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र आमा पनि शुक्रबार महोत्सवमा प्रदर्शन गरिएको थियो ।

महोत्सवमा शनिबार माधवराज खरेलको दुर्गामाण्डु सहित गणेशसँग रावलको समस्या, सजल लोप्चनको गाइड र पुरुषोत्तम बस्नेतको चलचित्र सुरक्षा प्रदर्शन गरिँदैछ । यस्तै शनिबार नै पाँच वटा अफ्रिकन चलचित्र पनि प्रदर्शन गरिँदै छ ।

काठमाडौँको जमल स्थित नाचघरमा जारी यो महोत्सव आइतबार १२ वैशाखसम्म तीन दिन चल्ने छ । महोत्सवमा नेपाल र अफ्रिकाको गरेर १५ वटा लामा छोटा चलचित्रले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका