सैलुङ ज्याङछ्युब छ्योर्तेनमा सोक्सिङ प्रतिस्थापन (फोटो फिचर)

काठमाडाैं

दोलखा र रामेछापको संगमस्थल सैलुङमा निमार्णधीन अवस्थामा रहेको सैलुङ ज्याङछ्युव छ्योर्तेनमा सोक्सिङ प्रतिस्थापन गरियो । श्रद्धेय धर्मगुरु टुल्कु लोसाङनाम्गेल रिम्पोछे, खेन्पो सर्वजीत गोङ्बा, सिद्ध लामागुरुहरु, स्थानीय लामाहरु, स्थानीयबासीहरु र श्रद्धालु भक्तजनहरुको समुपस्थितिमा सोक्सिङको शुद्धीकरण (ढुप्स्याक) पूजा गरी छ्योर्तेको गर्भगृहको माथिल्लो सतहको बीचमा पारी प्रतिस्थापन गरियो ।

छ्योर्तेन (बोधिचैत्य)को मेरुदण्डको रुपमा रहेको सोक्सिङ २८ फिट लामो रहेको छ । सोक्सिङ सैलुङ गाउँपालिका ४ मागापौवा, मागङबाट गत बैशाख ४ गते स्थानीय लामागुरु र स्थानीयको सक्रियतामा धार्मिक विधिअनुसार सैलुङमा पुर्याएको थियो । २८ फिट अग्लो सोक्सिङ शैलुङ रिगसुम गोन्पो सेवा समाजका सदस्य धावा वाङ्गेल मोक्तानले निशुल्क दान गरेको हो । सोक्सिङ स्युग्पा (धुपी) को रुखबाट निर्माण गरिएको हो । उक्त रुख करिब ६५÷६६ वर्ष पुरानो हो । रुखलाई समाजका सदस्य धावा वाङगेल मोक्तानका बुबा पेमा दोर्जे लामा मोक्तानले ९÷ १० को उमेरमा लिसंखुबाट ल्याएर रोपेका थिए । पेमा दोर्जे अहिले ७६ वर्षमा प्रवेश गरेको छ ।

सोक्सिङ छ्योर्तेनको प्राण स्तम्भ (मेरुदण्ड) हो । यसलाई भोट भाषामा सोक्सिङ भनिन्छ । सोक भनेको आत्मा र सिङ भनेको बृक्ष हो । सोक्सिङ चौकुने आकारमा मुनिबाट माथितिर जाँदा सानो आकार हुँदै जान्छ । सोक्सिङको टुप्पोमा बोधिचैत्य कुँदिएको छ भने सोक्सिङको मुनि बज्र आधार रहेको छ । सोक्सिङको सतहम सुनबाट बौद्ध मन्त्र (बोधिसत्व तथा बुद्ध) कुँदिएको छ । सोक्सिङलाई धारणी मन्त्र द्धारा बेरिएको छ । यस मन्त्रले सम्पूर्ण सत्वप्राणीको कल्याण हुने धार्मिक विस्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका