शैलुङको भ्यु टावर भत्काएमा माफी माग्ने : पूर्वमन्त्री पोखरेल

सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडाैं

शैलुङमा बनेको ४५ फिट उचाईको भ्यु टावर भत्काएमा पूर्व पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेकपा प्रदेश ३ का सचिव आनन्दप्रसाद पोखरेलले माफी माग्ने बताए । शनिबार ह्याङ्ला काठमाडौं दोलखा तामाङ समाजले आयोजित ‘शैलुङ र पर्यटन विषयक अन्तरक्रिया एवं शैलुङ नामाक’ बृत्तचित्र प्रदर्शनमा पूर्वमन्त्री पोखरेलले कृत्रिम संरचनाले पनि पर्यटनको आकर्षण बढाउन सकिने बताए । तर, यसले प्राकृतिक संरचना विगारेको हो भने भत्काउँदा पनि हुने बताए ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानको नेतृत्वमा पर्यटनमन्त्री भएको पालामा त्यस भ्यु टावरको लागि बजेट विनियोजित गरेको थियो । यसले प्राकृतिक संरचनालाई विगारेको भन्दै चौतर्फी दबाब गरिरहेका छन् ।

शैलुङ र पर्यटनको विषयकमा बोल्दै पूर्वमन्त्री पोखरेलले भने–‘शैलुङ बायोकल्चर हेरिटेजको अनुपम नमुना हो । जलधारभित्रको जीवनको आधार हो । पर्यटनको आकर्षणलाई बढाउन वरिपरि घुम्ने केबुलकार, फुट ट्रेल बनाउनुपर्छ ।’

संघीय सांसद शान्ति पाख्रिनले शैलुङ ज्ञान प्राप्तिको तपोभूमि भएको बताइन् । शैलुङको प्राकृतिक स्रोत साधनको भरपूर उपभोग गरेर शैलुङको पर्यटनको विकास गर्न सक्छौं । सांसद पाख्रिनले भनिन्, ‘पर्यटकीय पुर्वाधार निर्माणमा सबै जुट्नु जरुरी छ ।’ सबै दत्तचित्त भएर लागे शैलुङ विकासमा कुनै कमी नहुने बताइन् ।

पूर्वसांसद जितविर लामाले धर्मशास्त्रमा शैलुङ विश्वविद्यालय रहेको उल्लेख गर्दै शैलुङ सभ्यताले तामाङ जातिको धार्मिक, सांस्कृतिक र पहिचानको थलो भएको बताए ।

यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले शैलुङ विकासको लागि यस वर्ष ५० लाख विनियोजित गरेको जनाए । पर्यटकलाई शैलुङ जान विकासका पूर्वाधार, बासको व्यवस्था र त्यहाँ घुम्ने सुरक्षित वातावरणको निर्माण गर्नुपर्छ । उनले भने, ‘शैलुङलाई केन्द्रमा राखेर एककृत शैलुङ बिकास गुरुयोजना निर्माण गर्नुपर्छ ।’ शैलुङलाई जोड्ने ट्रेकिङ ट्रेल बनाई प्रदेश नं. ३ को पर्यटन हब बनाउनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले शैलुङ मिडहिल हेरिटेज बनाउन सकिने बताए । पर्यावरणीय पद्धतिको व्यवस्थापन, स्रोत व्यवस्थापन, धार्मिक, सांस्कृतिक, जैविक विविधताको पर्या पर्यटन उद्योग बनाउन सकिने बताए ।

शैलुङ सम्भावना नै सम्भावनाको उचाईमा रहेको प्रदेश नं. ३ का योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताए । यसको बजारीकरण गर्नु जरुरी रहेको छ । बस्नेतले भने, ‘पर्यटन भनेको सपना र उद्योग पनि हो । अनुपम सांस्कृतिक महत्वलाई अगाडि बढाउन सके पर्यटन अर्थतन्त्रको मुख्य पाटो बन्नेछ ।’

अन्तराष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामाले शैलुङ तामाङ सभ्यताको केन्द्र रहेको उल्लेख गरे ।

शैलुङ गाउँपालिकाको अध्यक्ष भरतप्रसाद दुलालले शैलुङ साङ्गे म्हारमोचेले तपस्या गरेको थलो किंवदन्तीमा उल्लेख भएको बताए । यो महाभारत श्रृंखलाको उच्च पर्वत हो । अध्यक्ष दुलालले भने, ‘यसमा सीमाङ्कन गरी तीनै तहको विकासमा सहजता बनाउनुपर्छ ।’

रामेछाप दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले शैलुङ सबैको साझा थलो हो । स्थानीय तहले छुट्टछुट्टै सीमाङ्कन गरेर भागबण्ड नभई एकिकृत गर्नु जरुरी रहेको बताए । यसरी नै मेरो नेतृत्वमा बनेको भ्यु टावर भत्काउनुभन्दा पनि संरक्षण सम्बद्र्धन गर्नुपर्छ । नयाँ संरचना बनाउन दिन नहुने बताउदै अध्यक्ष मोक्तानले भने– ‘तीन वटै गाउँपालिका एकिकृत विकासमा लाग्नुपर्छ ।’ उनले थपे, ‘यसलाई वातावरणीय हिसाबले पनि सफा राख्नु जरुरी रहेको छ ।’

मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले शैलुङ भ्र्रमणमा आउँदा लोकल सामग्री दिने र दिनुपर्ने बताए । उनले नेचुरल ब्युटीलाई संरक्षण गर्नु सबैको दायित्व रहेको औल्याउदै यसको विकासमा लगानी गर्न आग्रह गरे ।

बृत्तचित्रमा शैलुङको बिशेषता बोकेको बुद्धको पाईला, शैलुङ्श्वरी महादेव, जडिबुटीहरु, १ सय ८ ओटा भन्दा बढी रहेका थुम्का, स्थानीय भेषभुषा र रहनसहन लगायतलाई समेटिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका