प्रवासीको संख्या दक्षिण कोरियामा पाँच वर्षयताकै कम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दक्षिण कोरिया

दक्षिण कोरियामा विदेशी जनसंख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मंगलबार प्रकाशित एक सरकारी तथ्याङ्अनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको संख्या २० लाखभन्दा तल झरेको हो ।


कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको संख्या कम भएको तथ्यांकमा उल्लेख गरिएको छ । गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको संख्या १९ लाख ९९ हजार रहेको छ । गतवर्ष कोरियामा प्रवासीको कुल संख्या २२ लाख थियो । उक्त संख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९.२ प्रतिशतले कम हो । हालको संख्या सन् २०१५ यताकै सबैभन्दा कम हो ।

सन् २०१५ मा प्रवासीको संख्या १८ लाख थियो । त्यसैगरी सन् २०१९ को डिसेम्बरमा प्रवासीको संख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्यांकले देखाएको छ । हाल रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३.४ प्रतिशत छ, भने दोस्रोमा भियतनामीको संख्या १०.६ प्रतिशत छ । त्यसैगरी थाइल्याण्ड र अमेरिकी नागरिक क्रमशः ८.९ र ७.३ प्रतिशत छ ।

कोरोना माहामारीका कारण कोरियामा रोजगारी कठिनाइ पनि थपिएको छ । नेपाललगायत विभिन्न देशबाट कोरिया आउन चाहनेहरू पनि आउन सकेका छैनन् । उसो त यो संख्या घट्नुमा कोरोना माहामारी अघि छोटो बिदामा स्वदेश फर्केका प्रवासी श्रमिक, विद्यार्थी, व्यवसायीलगायत पनि स्वदेशमै अड्किनुलाई पनि लिन सकिने बताइन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका