चौथो अध्यक्ष कप भलिबल: महिलातर्फ ओखलढुंगा र पुरुषतर्फ भोजपुरलाई

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
खोटाङ

खोटाङ, खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका-१ नेपालेडाँडाले उचालेको छ ।

गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक गाउँपालिका-३ थिदिङ्खालाई सोझो सेटमा हराउँदै नेपालेडाँडाले उपाधिमाथि कब्जा जमाएको हो ।

जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारस्थित भगवती दीनानाथ माविको प्राङ्गणमा आयोजित महिलातर्फको प्रतियोगिताको उपाधि ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-१ मोलीले उचालेको छ ।खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ स-छितापोखरीलाई सोझो सेटमा हराउँदै मानेभञ्ज्याङ गाउँपालिका-१ मोलीले उपाधिमाथि कब्जा जमाएको हो ।

पुरुषतर्फको प्रतियोगितामा चम्पादेवी गाउँपालिका-१ पलापु ओखलढुङ्गा र खोटाङको ऐँसेलुखर्क गाउँपालिका-६ ज्यामिरे तथा महिलातर्फ खोटाङको बराहपोखरी गाउँपालिका-२ सुन्तले र रामप्रसादराई गाउँपालिका-८ बासीखोरा भोजपुरले सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् । प्रतियोगितामा खोटाङ, ओखलढुङ्गा, उदयपुर र भोजपुरका गरी पुरुषतर्फ २३ समूह र महिलातर्फ आठ समूहको सहभागिता रहेको खेल संयोजक एवम् खोटेहाङ गाउँपालिका-२ वाप्लुखाका वडाध्यक्ष दीपेन थुलुङले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो तथा दुई सेमिफाइनलिष्ट समूहलाई क्रमशः नगद एक लाख ११ हजार १११ रुपैयाँ, ६६ हजार ६६६ रुपैयाँ र ३३ हजार ३३३ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।


यस्तै विधागत पुरस्कारअन्तर्गत अनुशासित समूहमा पुरुषतर्फ चम्पादेवी गाउँपालिका-१ पलापु ओखलढुङ्गा तथा महिलातर्फ बराहपोखरी गाउँपालिका-२ सुन्तले, उत्कृष्ट खेलाडी पुरुषतर्फ षडानन्द नगरपालिकाका सन्दिप कठेत तथा महिलातर्फ आमचोक गाउँपालिकाका ममता राई, उत्कृष्ट लिफ्टर पुरुषतर्फ आमचोक गाउँपालिकाका निशान राई तथा महिलातर्फ मानेभञ्ज्याङ गाउँपालिकाकी पूर्णिमा बाहिङ राई र उत्कृष्ट स्पाइकर पुरुषतर्फ चम्पादेवी गाउँपालिकाको समिप श्रेष्ठ तथा महिलातर्फ मानेभञ्ज्याङ गाउँपालिकाकी चन्दाकुमारी बस्नेतले हात पारेका छन् ।

चौथो अध्यक्षक कप अन्तर वडास्तरीय महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट समूह तथा खेलाडीलाई जनही पाँच-पाँच हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । विजयी समूह तथा खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पुरस्कार प्रदान गरेको थियो ।

गाउँपालिकाको चौथो वार्षिक उत्सव समापन कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट कृषक समूह, उत्कृष्ट पशुपालक समूह, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शिक्षकलगायतलाई एघार हजार १११ रुपैयाँसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो । तीन दिनसम्म मनाइएको वार्षिक उत्सवका अवसरमा विभिन्न जातजातिको सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण भीडभाडका कारण समुदायमा फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका