कोभिड-१९ को विश्वव्यापी संकटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म संक्रमण फैलिन र कोरोनाकै कारण मृत्यु संख्या बढ्न थालेपछि नागरिकमा त्रासदी फैलिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साता अघिदेखि सरकारी तथा निजी विद्यालयहरु बन्द भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक क्षेत्र र काम कारवाहीको तालिका सार्वजनिक गर्दै यही वैशाख १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । कर्णालीका अन्य जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न कार्यक्रम, हिँडडुल तथा आवतजावतमा भीड हुन नदिन कडाइ गरेका छन् ।
कोरोना संक्रमणमा अत्यधिक प्रभावित भएका भारतबाट ज्यालादारी काम गरेर फर्केका कर्णालीका नागरिकबाट सङ्क्रमण बढ्ने कुरालाई गम्भीरताका साथ बुझेर कर्णाली प्रदेश सरकारले प्रवेश नाकामा कडाइ गरेको छ । यद्यपि संक्रमण दर भने घटेको छैन । एक सातादेखिको अवस्थालाई नियाल्दा कर्णालीमा दैनिक ६० देखि ७५ प्रतिशतको दरले कोरोनाका संक्रमित बढेको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्काले जानकारी दिए ।
` यो एक-दुई दिनमा केही मात्रामा घटे पनि ६० प्रतिशतभन्दा तल संक्रमण दर जान सकेको छैन ´, प्राडा खड्काले भने, ` संक्रमितहरुले अस्पताल भरिभराउन हुन थालेको छ । यो आपत्कालीन अवस्थामा जनशक्ति अभाव हुँदा काम गर्न पनि समस्या भएको छ ।´ उनका अनुसार कर्णालीमा बुधबार एकैदिन ३११ कोरोना संक्रमित थपिएका छन् । आइसियु ३५ र भेन्टिलेटर पनि आवश्यकता अनुसार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले उपकरण सञ्चालन गर्ने जनशक्ति भए १०० आइसियु पनि चलाउन सकिने बताए । केही दिनमै अस्पतालको नवनिर्मित भवनमा सर्ने र आफ्नै प्लान्ट सञ्चालन गरी काममा सहजता ल्याउने उनको भनाइ छ ।
प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४३ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये २१५ जना सुर्खेतका मात्र छन् । निर्देशनालयका अनुसार संक्रमित दैलेखका ३२, सल्यानका २९, कालिकोटका १०, रुकुम पश्चिमका नौ, जुम्लाका आठ, जाजरकोटका सात, डोल्पाका एक र अन्य प्रदेशका तीन जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमित हुनेको संख्या आठ हजार ८९५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा आज थप एकजना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३९ पुगेको छ । कर्णालीमा सक्रिय संक्रमितको संख्या ९८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६१६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।
हालसम्म कर्णालीमा पिसीआरबाट ९९ हजार २९८ र एन्टिजेन्ट विधिबाट छ हजार ४६० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पाँचजना डिस्चार्ज हुँदा कोरोना संक्रमण मुक्त हुनेको संख्या सात हजार ५३८ रहेको छ । प्रदेशभरि गरेर पछिल्लो २४ घण्टामा २३० कोरोनाका बिरामी आइसोलेसनमा छन् । निर्देशक खड्काका अनुसार प्रदेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका संक्रमितहरुको अवस्था अझ बढी गम्भीर रहेको छ ।