साउदीस्थित नेपाली दूतावास तीन दिन बन्द

एक कर्मचारी कोरोना संक्रमित

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

साउदी अरेबियास्थित नेपाली दूतावास तीन दिन बन्द हुने भएको छ । एक कर्मचारी कोरोना संक्रमित भएपछि दूतावास बन्द हुने भएको हो । दूतावासले सोमबार सूचना जारी गरेर वैशाख २१ गतेदेखि २३ गतेसम्म अर्थात अप्रिल ४ तारीखदेखि ७ सम्म बन्द हुने जनाएको हो ।


दूतावासको सूचनामा ` स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि दूतावासको एकजना कर्मचारी कोभिड-१९ बाट संक्रमित हुनुभएको र उहाँसँग दूतावासका अन्य कर्मचारी प्रत्यक्ष सम्पर्कमा आएको हुँदा सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने जस्तैः राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी आदि सेवाहरु ´ बन्द गरेको उल्लेख छ ।

` यसअघिको सूचनामा राहदानी सेवाको लागि वैशाख २४ गते शुक्रबार सार्वजनिक विदाको दिन दूतावास खुल्ला रहने जानकारी गराइएकोमा सो दिन उक्त सेवा पनि बन्द रहने व्यहोरा जानकारी गराइन्छ । यसबाट सेवाग्राहीलाई पर्नजाने असुविधा प्रति दूतावास क्षमाप्रार्थी छौं ´ सूचनामा लेखिएको छ ।

दूतावासले अत्यावश्यक कामपरी सम्पर्क गर्नुपरेमा ल्याण्डलाइन नं. ०११४६१११०८ मा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै दूतावासका हटलाइन नं. ०५५९३८९६०० र इमेल (nepalembassyrivadh@gmail.com)मार्फत् समेत आफ्नो समस्या राख्न सकिने दूतावासको भनाइ छ ।

तपाईको प्रतिक्रिया