पत्रकार महासंघ उपत्यकाद्वारा ‘कोभिड–१९ उपत्यका संयोजन समिति’गठन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौँ

नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिद्वारा ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ (सिभिसिसी) गठन गरेको छ । सोमबार समितिको अध्यक्ष श्रीजन झाको अध्यक्षतामा बसेको भर्चुअल बैठकबाट सो निर्णय गरेको हो ।

कोभिड–१९ ले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड सङ्क्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय लगायतको काम गर्नका लागि अध्यक्ष झा संयोजक रहने गरी संयोजन समिति गठन गरेको हो ।

संयोजन समितिमा महासचिव टेनिस रोका, सचिव रोशन पाण्डे र सदस्य विष्णु निश्चलसहित तीन जिल्लाका अध्यक्षहरू सदस्य रहेको जनाएको छ ।

यसै गरी प्रदेश अन्तर्गतका तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) शाखालाई कोभिड–१९ को विषयसँग सम्बन्धित कार्य गर्न सक्रिय समिति गठन गरी स्वास्थ्य सावधानीसहित काम गर्न र आफू मातहतका सदस्यलाई कोभिड सङ्क्रमण भए त्यसको दैनिक तथ्यांक संकलन गर्न, सङ्क्रमितको अवस्था के कस्तो रहेको हो त्यसको विवरण संकलन गर्न, होम आइसोलेसन वा हस्पिटल के कहाँ रहेको हो त्यसको जानकारी राख्न र सोको दैनिक विवरण प्रदेश समिति तथा सिभिसीसीलाई उपलब्ध गराउन निर्देश पनि गरिएको छ ।

त्यस्तै ‘उपत्यका प्रदेश पत्रकार कोभिड राहत कोष’ स्थापना गरेको छ । कोष संयोजन समितिको संयोजक कोषाध्यक्ष अर्जुन पन्त र सदस्यहरूमा रत्न श्रेष्ठसहित तीन जिल्लाका कोषाध्यक्ष रहेका छन् ।

कार्यसमितिले मापदण्ड तय गरी कोषमा उपलब्ध रकम सङ्क्रमितलाई सहयोग गरिनेछ । साथै, कोषमा सहयोगका लागि सरकारी तथा निजी सबै निकायसँग अनुरोध पनि गरेको छ ।

यसै गरी, उपत्यका प्रदेशको समन्वयमा मिसन मिडियाद्वारा गरिएको कोभिड बिमा अन्तर्गत बिमितसँग निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिनेछ ।

सञ्चारगृहहरुलाई श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरूको सेवा सुविधा नियमित गराउन अनुरोध गरिएको समितिका अध्यक्ष झाले जानकारी दिए । उनले भने‚ ‘कोरोनाको बहानामा जबरजस्ती निष्कासित नगर्न र बिदामा नराख्न आग्रह गरेको छ ’।


महासंघको आग्रहलाई बेवास्ता गर्दै नियमित सेवा सुविधा उपलब्ध नगराइए, निष्कासित वा बिदामा राखिएको पाइएमा आन्दोलनमा जाने निर्णय भएको अध्यक्ष झाले बताए ।

फ्रन्टलाइनमा खटिने पत्रकारहरूलाई सरल र सुलभ तरिकाले पिसिआर टेस्ट, कोभिड विरुद्धको खोप र स्वास्थ्य र सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय भएको महासचिव टेनिस रोकाले जानकारी दिए । उनले भने‚‘श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरूलाई राहत र सहुलियतको व्यवस्था गर्नुका साथै सर्वसाधारणलाई सुसूचित गराइरहेका सञ्चारमाध्यम र पत्रकारहरूलाई इन्टरनेट, टेलिफोन, विद्युत् जस्ता अत्यावश्यक विषयमा सहुलियत दिन माग गर्ने गरेको छ ।’

त्यस्तै जनतालाई सूचना र जानकारीमार्फत सुसूचित गराउने महत्त्वपूर्ण जिम्मेवारी वहन गरिरहेका सञ्चारकर्मीलाई कोभिडको समयमा उचित स्वास्थ्य सावधानी अपनाएर मात्र कार्य क्षेत्रमा खट्न अनुरोध गरेको छ । साथै, अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन, रिपोर्टिङ गर्दा अधिकतम रूपमा टेलिफोन, मोबाइल तथा इमेल इन्टरनेटको प्रयोग गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका