कोभिड–१९ सङ्क्रमित हुनुहुन्छ? योग र व्यायामलाई ध्यान दिनुस् : डा. क्षितिज बराकोटी

अञ्जु तामाङ संवाददाता
काठमाडौँ

योग नेपालको परम्परागत व्यायाम हो । योग स्वास्थ्यका लागि फाइदाजनक हुँदा विश्वभर योगलाई महत्त्वका रूपमा हेर्ने गरिन्छ । योगले मानसिक, शारीरिक र नसर्ने खालको विभिन्न रोग दूर गराउनुका साथै लागेको व्यक्तिलाई पनि धेरै फाइदा पुर्‍याउँछ । चेतनाको स्तर बढाउन शरीरलाई स्वस्थ राख्न र शरीरको विकार हटाउनको लागि पनि योगको महत्त्वपूर्ण भूमिका हुन्छ । योग खाली पेटमा गर्दा राम्रो मानिन्छ ।

अहिले विश्व कोभिड–१९ को महासङ्कटमा परेको छ । यसबाट नेपाल पनि अछुतो रहेन । एकै दिनमा ५५ जनाको मृत्यु हुनुमा हामी जस्तो गरिब राष्ट्रको लागि सामान्य होइन । यो कुरालाई सामान्य लिने र सुरक्षाको उपाय नअपनाउने हो भने समस्याले झन् विकराल रूप लिन सक्छ ।

तपाई कोभिड–१९ सङ्क्रमित भएर होम आइसोलेसनमा बसिरहेको छ । योग व्यायाम र केही सामान्य कुरालाई ध्यान दिने हो भने कोभिड–१९ लागे पनि आत्तिनुपर्दैन । डा. क्षितिज बराकोटीले होम आइसोलेसनमा बसेका सामान्य अवस्थाका सङ्क्रमितको लागि महत्त्वपूर्ण जानकारी दिएका छन् ।

डा. बराकोटी प्राकृतिक चिकित्सक तथा योग विज्ञ हुन् । उनी ३ दशकदेखि यही क्षेत्रमा आवद्व छन् । उनी आफै पनि अहिले कोभिड–१९ सङ्क्रमित भएर होम आइसोलेसनमा छन् । उनकै शब्दमा नागरिकलाई जानकारी यसरी गराएका छन् ।

योगले स्वस्थ र तन्दुरुस्त बनाउँछ

सक्नुहुन्छ, कोभिड–१९ बाट जोगिनुस् । कोभिड–१९ सङ्क्रमित नै हुनुहुन्छ र अवस्थामा सामान्य छ भने व्यायाम र घरायसी कुराले पनि कोभिडबाट बच्न सकिन्छ । योगले स्वस्थ र तन्दुरुस्त बनाउँछ । स्वस्थ जीवनयापनको लागि योगको महत्त्वपूर्ण भूमिका हुन्छ ।

कोभिड–१९ सङ्क्रमित सामान्य अवस्थामा होम आइसोलेसनमा नै हुनुहुन्छ भने योग प्रणायमलाई पनि ध्यान दिनुस् । योग र व्यायाम स्वस्थ व्यक्तिको लागि पनि राम्रो हुन्छ दैनिक । म आफै पनि कोभिड–१९ सङ्क्रमित हुँ र मैले पनि यही कुरालाई ध्यान दिइरहेकोछु । योगले श्वास लिन सजिलो हुन्छ भने रोगसँग लड्न सक्ने क्षमताको विकास गर्छ ।

नियमित व्यायाम गर्ने, मन शान्त राख्ने, घरको रमाइलो वातावरण हुँदा सङ्क्रमितलाई रोगसँग लड्न सक्ने क्षमताको वृद्धि हुन्छ ।

कोभिड–१९ हुनुहुन्छ, अवस्थामा सामान्य छ भने पनि तपाईँले नियमित रूपमा अक्सिजन र शरीरको तापक्रम नापी रहनुपर्छ ।

शरीरमा अक्सिजन कम भयो भने व्यायाम प्रणायमबाट सामान्य रूपमा आउन सकिन्छ । योग अभ्यासले शरीरमा भएको दुखाइलाई पनि कम गर्न सकिन्छ भने श्वास फेर्न सजिलो हुन्छ ।

अक्सिजनको मात्रा ९० भन्दा कम हुन दिनुभएन । अक्सिजनको मात्रा कम हुँदै गयो भने चिकित्सकको सल्लाह अनुसार उपचारमा लाग्नुपर्ने हुन्छ ।

प्रणायमबाट अक्सिजन बढाउन सकिन्छ । घरमा बसेको समयमा नियमित श्वास फेर्दा लामो श्वास फेर्नुस् । अक्सिमिटर हातमा राखेर लामो श्वास फेर्दा अक्सिजनको मात्रा घटेको बढेको थाहा हुन्छ । अक्सिजनको मात्रा बढ्दा स्वास्थ्यमा सुधार हुन्छ ।

यो जानकारी सामान्य अवस्थामा भएका सङ्क्रमितहरूको लागि हो यदि तपाईँको फोक्सोमा नै धेरै समस्या छ भने अस्पताल जानु नै राम्रो हुन्छ ।

दैनिक तातोपानीको बाफ लिनुस् । रुघाखोकीले नाक बन्द हुँदा बाफले नाक खुलाउँछ । बेलाबेलामा तातोपानी सेवन गरीराख्नुस । तातोपानी स्वास्थ्यको लागि राम्रो हुन्छ भने कोभिड–१९ को बिरामीको लागि अति उत्तम हुन्छ ।

तातोपानीमा हात र खुट्टा डुबाउँदा शरीरको दुखाई कम हुनुको साथै खोकी लाग्न पनि कम हुन्छ । कोभिडका सबै बिरामीलाई एउटै समस्या हुन्छ भन्ने हुँदैन तर तातोपानी पिउने गर्नुस् । हातखुट्टा तातोपानीमा डुबाउँदा अथवा शरीर दुखेको ठाउँमा हटवाटरले सेक्दा निकै आराम मिल्छ ।

होम आइसोलेसनमा बस्ने सङ्क्रमितले तातोपानीको बाफ लिने, तातोपानीमा नुन राखेर घाँटी कुल्ला गर्ने, गरम मसलाको चिया बनाएर दिनमा २ देखि ३ कप पिउँदा पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । तर धेरै मात्रामा प्रयोग गर्दा पिसाब पोल्नेदेखि विभिन्न समस्या हुने हुँदा दिनमा २ देखि ३ कप मात्रै सेवन गर्नुहोला ।

भिटामिन सी प्रयोग गरौँ


भिटामिन सी भएका खानेकुराहरु सेवन गर्ने । रसिलो फलफूल, कागती पानी, सम्भव भएसम्म अमला अथवा अमलाको पाउडर सेवन गर्दा पनि राम्रो हुन्छ । हरियो सागपात, टुसा उम्रेको गेडागुडीको रस सेवनले शरीरलाई ऊर्जा प्रदान गर्छ । यसो गर्दा तापक्रम पनि सामान्य हुने र लक्षण पनि घट्ने हुँदा कोभिडबाट जोगिन सकिन्छ ।

कोभिड सङ्क्रमित अथवा हुने सम्भावना छ भने अक्सिजन र शरीरको तापक्रम नियमित चेकजाँच गरीराख्नुस । कोभिड सङ्क्रमित सबैलाई एउटै लक्षण हुन्छ भन्ने हुँदैन कसैलाई बान्ता हुन खोज्ने अथवा हुने पखाला लाग्ने पनि हुन्छ । भेरियन्ट कोभिडले धेरै समस्या निम्त्याउने गरेको पाइन्छ । छिटो सर्ने र शरीरमा पनि छोटो समयमा धेरै समस्या हुने भएको हुँदा अहिलेको समयमा धेरै सजकता अपनाउनुपर्ने देखिन्छ ।

कोभिडले मुख्यतः फोक्सोमा समस्या ल्याउने र निमोनिया भएर बिरामीको मृत्युसम्म हुने भएको हुँदा सकेसम्म कोभिडबाट जोगिन मेरो सबै नागरिकहरूलाई आग्रह छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका