माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ४८ मिटर पेनस्टक पाइप जडान कार्य सम्पन्न भएको छ । पेनस्टक पाइप जडान गर्नका लागि २ महिना लागेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।
उनले ३ सय ७२ मिटर लामो सुरुङको तल्लो खण्डमा ३५ मिटर पेनस्टक पाइप जडान भएको बताए । उनले भने यो खण्डमा सोमबार थप ५ मिटर जडान हुँदैछ । ३ सय १० मिटर लामो माथिल्लो खण्डमा साढे १२ मिटर पेनस्टक पाइप जडान पूरा भएको छ । यो साता थप १० मिटर जडान हुने उनले जानकारी दिए । प्रवक्ता गणेश न्यौपानेले भने, ‘आयोजनामा सबैभन्दा जटिल नै पेनस्टक पाइप जडानको काम हो । दैनिक काम हुँदा पनि जडान सकिन अझै ६ महिना लाग्छ ।’
आगामी माघभित्र दुवै खण्डमा पाइप जडानको काम पूरा हुनेछ । लामोे प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ र माथिल्लोमा ९ गतेदेखि पेनस्टक पाइप जडान सुरु भएको थियो । प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने, पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट२) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।
माथिल्लोे ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।
अब चालु वर्षको माघ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहितको नयाँ एकीकृत तालिका तय गरिएको छ । ४ सय ५६ मेगावाटको उक्त आयोजनाको करिब ९८ प्रतिशत निर्माण पूरा भएको छ ।