उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्किए

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन् । उनी सवा १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

स्वास्थ्यस्थितिबारे जानकारी लिन विमानस्थल पुगेका पत्रकारहरुलाई प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न मानेनन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।

साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो । १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंह लगायतको टोली सिंगापुर गएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका