गाउँमै कोभिड अस्पताल

बागमती

मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारको लागि सुविधा सम्पन्न कोभिड अस्पताल तयार गरेको छ । अक्सिजन सहितको आवश्यक स्वास्थ्य सामाग्री समेत खरिद गरी राक्सिराङ–५ स्थित ठाडेचुरेमा २६ शय्याको अस्पताल तयार गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

विपद् व्यवस्थापन कोषबाट ५० लाख रुपैयाँ विनियोजन गरी ३५ सिलिन्डर अक्सिजन, एक हजार पिस एन्टिजेन किट, पिपिई, मास्क, स्यानिटाइजर, औषधिलगायतका सामाग्री खरिद गरी अस्पताल तयार गरेको गाउँपालिकाले जनाएको छ ।

अक्सिजनसहितका अस्पतालमा डाक्टरसहितको स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री उपलब्ध गराउन सक्षम भएका र गाउँपालिकामा रहेका कूल ४१ स्वास्थ्यकर्मी मध्ये अस्पतालमा १० स्वास्थ्यकर्मी खटाइने उहाँले जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले अस्पतालमा एक÷एक डाक्टर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, दुई अनमी, दुई अहेब र तीन कार्यालय सहयोगी खटिने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण

बकैया गाउँपालिकास्थित हात्तीसुँडे सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय बुद्ध माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराचन्द्र बजगाईँ (निशान) ले ३ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको हो । उनले अक्सिजनसहित १० शय्याको आइसोलेसन वार्ड सञ्चालनका लागि शय्या र पाँच अक्सिजन सिलिन्डर, स्यानिटाइजर, माक्स र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हात्तीसुँडे स्वास्थ्य इकाईका प्रमुख कृष्ण जिम्बाले जानकारी दिए । आइसोलेसन वार्ड सञ्चालन गर्न बकैगा ३ का वडाध्यक्ष दिलबहादुर बोम्जन र जय बकैया कन्स्ट्रक्सन कम्पनीको विशेष पहल रहेको बताइएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर खनाल, वडाध्यक्ष बोम्जन, गाउँपालिकाको स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेल, प्राथमिक स्वास्थ्य चौकीका डा युवराज पाण्डे, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख कृष्ण लामा जिम्बा र जय बकैया कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

निषेधाज्ञाको अवज्ञा गर्ने पक्राउ

निषेधाज्ञाको अवज्ञा गर्दै भिडभाड गरेर मिठाइ बेचेको आरोपमा प्रहरीले हेटौँडा बजारबाट थप एक जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका ४ मा रहेको दाजुभाइ स्वीट्स पसल बन्द गरी एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । सोमबार पनि सोही पसलका सञ्चालक सहित चार जनालाई पक्राउ गरिएको उनले बताए ।

‘सोमबार पक्राउ गरिएका चार जना हिरासतमै छन्,आज पनि भिडभाड गरेर सञ्चालन गरिएको पाइएपछि एक जनालाई पक्राउ गरेर स्वीट्स पसल बन्द गरेका छौ,’उनले भने । पक्राउ परेकाहरूलाई सङ्क्रमण रोग ऐन २०२० बमोजिम आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।


मन्दिरको आवास भवन निर्माण

हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा दक्षिणकाली मन्दिरको आवास भवनको निर्माण सुरु गरिएको छ । उपमहानगरपालिकाको चालू आर्थिक वर्ष ०७७/०७८ विनियोजित रु ३० लाख रुपैयाँको लागतमा भवन निर्माण सुरु भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

जिल्ला बाहिरबाट आएका भक्तजनहरू लागि बासका लागि सहज होस भन्ने उद्देश्यले आवास भवन निर्माण गर्न लागिएको हो । उक्त आवास भवनको उपमहानगरपालिकाका प्रमुख महतले आज भवनको शिलान्यास गरे । भवनमा २० जनालाई बस्न मिल्ने गरी निमार्ण गरिएको छ । दक्षिणकाली मन्दिरमा भक्तजनहरू टाढा टाढाबाट आउने हुनाले रात बिताउन बास स्थानका लागी सहज होस भन्ने उद्देश्यले आवास भवन निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका