गोसाईकुण्ड : सबैको भगवान

फुर्पा तामाङ अधिवक्ता
रसुवा

‘सबैको भगवान्, गोसाईकुण्ड भगवान !’ जसलाई गोसाईकुण्डको शक्तिबारे थाहा छैन, उसलाई यो भनाइ अनौठो, अमिल्दो र अपत्यारिलो हुन सक्छ । तर, जसलाई परेको छ, उसले यो कुरा साँच्चै हो रहेछ भनि विश्वास गर्छन् किनभने धर्म, धार्मिक र आध्यात्मिक कुरा कुनै तर्कले होइन विश्वास र आस्थाले मात्र अनुभूत गर्न सकिने विषय हो । न त यसलाई वादविवादको विषय बनाउन मिल्छ । जब धर्मलाई वादविवादको विषय बनाइन्छ, तब त्यहाँ शान्ति हुँदैन । झगडाको बीउ रोप्ने काम सुरु हुन्छ ।

हो, संसारमा धेरै मानिसहरू आस्तिक छन् र नास्तिक पनि । आस्तिक पनि एउटै मात्र छैनन्, धेरै धर्मका छन् । धर्म पनि धेरै छन् । यसका अनुयायीहरू पनि फरकफरक छन् । यसकारण गोसाईकुण्ड भगवानप्रतिको आस्था, विश्वास र सम्मान गर्नेहरू पनि फरक–फरक धर्मका अनुयायीहरू छन्, हुन्छन् ।

हिन्दुहरु यो कुण्डमा वर्षको दुई पटक पूजाका लागि पुग्ने गर्छन्, गंगा दशहरा र जनैपूर्णिमा । धेरै टाढाबाट भक्तजनहरू आउँछन् । यो क्रम धेरै पुरानो समयदेखि हो । यस समयमा थरीथरीका भक्तजनहरू देख्न सकिन्छ । भाग खानेदेखि शुद्ध शाकाहारी भक्तजनहरु आउँछन् । लट्टाधारी जोगीदेखि घरदेखि कुण्डसम्म नाङ्गो खुट्टाले हिँडेर आउने जाने सम्मका हुन्छन् । यी भक्तजनहरू गोसाईकुण्ड भगवानप्रतिको आस्थाले आएका हुन् । उनीहरूको जीवनकालमा भगवान् गोसाइँकुण्डको अनुकम्पाले काम गरेका हुन्छन् ।

कुरा हिन्दूको मात्र होइन । कुरा बौद्ध र बोन (बोन्पो÷झाँक्री) धर्मका अनुयायीहरू विशेषगरी तामाङ जातिले यो कुण्डलाई असाध्यै मान्दछन् । उनीहरूको श्रद्धा र भक्ति कुण्डलाई आफ्नो महान् देवता वा पितृहरूसँग जोडेर हेर्दछन् । उनीहरू जनैपूर्णिमाको बेला पूजा गर्न जान्छन् । बोन्पो (झाँक्री)सँग धार्मिक, सांस्कृतिक र मनोरञ्जनका शब्दहरू राखेर गीत गाएर नाचगानसहित पूजाका लागि कुण्ड पुग्छन् । तर, गंगा दशहाराको बेलामा भने तामाङ बोन्पोहरु कुण्ड जाँदैनन् । बोनधर्म (झाँक्री) अनुसार यो परम्परा कुण्ड बनेदेखिको हो ।

तामाङ बोन्पोहरू गोसाईकुण्डलाई धेरै नामले पुकार्छन् । छोकर (सेतो कुण्ड) भन्छन् । ‘छो’ भनेको ‘कुण्ड’ र ‘कर’ भनेको ‘कर्पो’ अर्थात् सेतोको पुछ«े शब्द हो । सेतो कुण्ड भन्नुको अर्थ शान्ति, शालीन र राम्रो कुण्डको रूपमा लिइन्छ । यसैगरी ह्याप छेग्यालछेम्पो (पिता) र ह्युम फमाडोल्मो (माता) र ल्हाछेन्पो मादेउ (ठूलो भगवान) को रूपमा मान्ने चलन छ ।

बोन्पो (झाँक्री) हरूले धेरै कुण्डहरुलाई पुज्ने गर्छन् । तीमध्ये पनि गोसाईकुण्डलाई सबैभन्दा ठूलो भगवानको रूपमा लिइन्छ । गोसाईकुण्डलाई जिल्लाका १०८ कुण्डमध्ये सबैभन्दा ठूलो क्षेत्रफलको हिसाबले मात्र नभएर पुजिने परम्पराको दृष्टिकोणले पनि ठूलो मानिन्छ । नयाँ बोन्पो (झाँक्री) सिकेपछि कुण्डमा गएर पूजा गर्नु पर्दछ । बोन्पोको मृत्युपश्चात् आत्मा (बेन्से) कुण्डमा पूजा गरेर कुण्डदेखि पश्चिममा रहेको डुप्खाङ (गुफा)मा तोर्मो बनाएर अन्तिम बिदाइ गरिने परम्परा छ । यसकारण यो कुण्डको महत्व यस जिल्लाका तामाङ बोन्पोहरूमा असाध्यै रहेको छ ।

बोन्पोहरूको मात्र कुरा छैन । बौद्ध लामाहरू पनि पूर्णिमाको बेला पूजा गर्न जान्छन् । मृतकहरूको नाउँबाट बत्ती बाल्ने, लुङ्दर चढाउने, कोरछ्याङ (दान दिने) र छो (प्रसाद) बाँड्छन् । यो काम गर्न रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका हिमाली गाउँमा बसोबास गर्नेहरू आउने गर्छन् ।

गोसाईकुण्डमा स्नान गरेपछि दुःख, बिमार र ग्रहदशा टार्न सकिन्छ भन्ने विश्वास छ । मनले चिताएको कुरा पूरा हुन्छ भन्ने ठूलो विश्वास छ । जीवनभरिमा सके तीनपटक नसके एकपटक भए पनि गोसाईकुण्डमा गएर पूजा गर्दा आफ्नो लक्ष्य र उद्देश्य पूरा भएको बताउनेहरू प्रशस्त छन् ।

काठमाडौं म्हेपीमा बस्ने रिता श्रेष्ठको बिमारी डाक्टरले दिएको औषधिले कहिल्यै निको हुन सकेन । उनले लामो समय डाक्टरसँग उपचार गरे । उनी मात्र नभएर उनका परिवार धेरै चिन्तित थिए । श्रीमान्, दाजुभाइहरू र छोराछोरी सबै दुःखी थिए । एक रात उनले सपना देखिन्– भोलेबाबाको भक्त बन । गोसाईकुण्डमा नाङ्गो खुट्टाले हिँडेर जानू । तेरो मनको इच्छा पूरा हुनेछ । उनी काठमाडौंदेखि हिँडेर गोसाईकुण्ड पुगिन् । कुण्डमा स्नान गरी पूजा गरेर फर्किन् । त्यसपछि उनी निको भइन् ।

जापानका प्राध्यापक डा. काजुको तत्सुमी र उनकी प्रेमी ई. केन्जीबीच लामो समय प्रेम सम्बन्ध रह्यो । तैपनि विवाहको साइत जुर्न सकेको थिएन । यो कुरा उनले सानो भार्खु, रसुवाका सोनाम छिरिङ लामालाई सुनाइन् । लामाले उनलाई गोसाईकुण्ड लगेर पूजा गरिदिए । पूजा गरेको तेस्रो वर्ष विवाहको साइत जु¥यो । दुवैजना नेपाल आएर गोसाईकुण्डमा पुगेर विवाह गरे ।

ठूलो भार्खुनिवासी गोसाईकुण्डका मुख्य पूजारी बोन्पो (झाँक्री) दावा तामाङ भन्छन्, ‘सन्तान नहुनेले गोसाईकुण्डमा स्नान गरेर सन्तान मागे सन्तान हुन्छ । धन मागे धन दिन्छ । आयु मागे आयु दिन्छ । यसकारण यो कुण्डलाई पिता–माता (ह्याप छेह्यालछेम्पो, ह्युम फमाडोल्मो) र सेतो कुण्ड (छोकर) भनेको हो ।’

बोन्पो दावा तामाङका पिता पूर्खाहरू यो कुण्डसँग जोडिएर आउँछ । उनीहरूका पूर्खा कर्पु बेनलाई गोसाईकुण्ड भगवानले सपनामा मन्त्र सिकाएर बोन्पो (झाँक्री) बनाएको कथा ठूलो भार्खु गाउँमा अहिले पनि प्रचलित छ । मानव बोन्पो गुरुबिना भगवानले नै सपनामा सिकाएर कर्पुबेन बोन्पो (झाँक्री) भएकोले उनलाई औतारी/अवतारी झाँक्री भनिन्छ । अन्य झाँक्रीहरू जुत्ता लगाएर ढ्याङ्ग्रो बजाई कुण्डमा पूजा गर्न जान्छन् । तर, कर्पुबेन् (झाँक्री) कै पालादेखि निजका सन्तानहरू अहिलेसम्म पनि गोसाईकुण्ड नाङ्गो खुट्टा जान्छन् । गाउँदेखि कुण्डसम्म जङ्गलको काँडे गोरेटाहरूमा मन्त्र जप्दै कुण्ड पुग्छन् र फर्कन्छन् । तर, खुट्टामा एउटा काँडासम्म बिजेको हुँदैन । यो उनीहरूको धार्मिक प्रतिज्ञा (दम्ल) हो ।

के तपाईं पनि आफ्नो मनोकामना पूरा गर्ने इच्छा गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने गोसाईकुण्ड यसैपालि आउनुहोस् । अर्को पालि जान्छु नभन्नुहोस् । आउनुहोस्, हामी रसुवावासी तपाईंहरूलाई स्वागत गर्छौ ।
ठूलो भार्खु, रसुवा

तपाईको प्रतिक्रिया