आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७६ वितरण

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं
तस्विर-KD Gurung

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ कौशल चेम्जोङ, राजबहादुर गुरुङ, गणेश राई र शोभा श्रेष्ठलाई प्रदान गरेको छ ।

सोमबार अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा नेपाल फोनिजको २० औं स्थापना दिवसमा उनीहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले सरकारले आदिवासी जनजातिको मागहरु सम्बोधन गर्ने बताए ।

यस वर्षको उक्त पुरस्कारमा रेडियो, अनलाइन, छापा र टेलिभिजनमा कार्यरत पत्रकारलाई पुरस्कृत गरेका हुन् । पुरस्कारको राशी जनही २० हजार रहेको थियो ।

उक्त समारोहमा फोनिजका संस्थापकदेखि पाँचौं महाधिवेशनसम्मका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएका छन् ।

पुरस्कार छनौट समितिमा संयोजक खिम घले, अनिता गुरुङ र उजिर मगर रहेका छन् ।

कौशल चेम्जोङ

२०४५ सालबाट दृष्टि साप्ताहिकमार्फत पत्रकारिता सुरुवात गरेका कौशल चेम्जोङ वरिष्ठ पत्रकार हुन् । तीन दशकको निरन्तर पत्रकारिता यात्रामा चेम्जोङले ‘टंकेला साप्ताहिक’को सम्पादक÷प्रकाशक हुँदै ब्लाष्ट दैनिक धरानको कार्यकारी सम्पादक, स्पेसटाइम दैनिक, च्यानल नेपाल र रेडियो नेपालको स्थानीय सम्वाददाताको रुपमा जिम्मेवारी निर्वाह गरिसकेको छ । प्रारम्भदेखि हालसम्म जनआस्था साप्ताहिकको वरिष्ठ संवाददाताको रुपमा कार्यरत चेम्जोङ रेडियो त्रियुगामा स्थापनाकालदेखि नै स्टेशन म्यानेजरको रुपमा कार्यरत छ । चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उप सभापति समेत हुन् ।

गणेश राई

कान्तिपुर दैनिकका वरिष्ठ उप–सम्पादक गणेश राई लामो समयदेखि आदिवासी जनजातिको मुद्दामा कलम चलाउँदै आएको छ । २०५० देखि २०७४ सम्म त्रिभाषीय त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ सम्पादन गरेका राईले कौशिकी, निप्सुङ, कावा लगायतका भाषिक पत्रिकामा सम्पादकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेको छ । २०४८ सालबाट वाम्बुले राई भाषा लेखन थालनी गरेका राई ‘किरात राई पत्रकार संघ’ का संस्थापक अध्यक्ष हुन् । अहिले फोनिजको सल्लाहकार पनि हुन् ।

राजबहादुर गुरुङ

२०५१ सालबाट पत्रकारितामा सक्रिय राजबहादुर गुरुङ पोखराबाट प्रकाशित÷सञ्चालित यूनाइटेड दैनिक र यूनाइटेडखबर डटकमको प्रकाशक तथा सम्पादक हुन् । जनसत्ता साप्ताहिक, सूचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श, तरुण, घटना र विचार, जनमन्थन, सगरमाथा टेलिभिजन लगायतमा काम गरिकेका गुरुङ नेपाल पत्रकार महासंघ कास्कीको पूर्व उपाध्यक्ष हुन् । उनी फोनिजको सल्लाहकार हो ।

शोभा श्रेष्ठ

नेपाल टेलिभिजनमा वरिष्ठ समाचार सम्पादकको रुपमा कार्यरत शोभा श्रेष्ठ लामो समयदेखि आदिवासी जनजातिको विषयमा कलम चलाउँदै आएकी छन् । आदिवासी जनजातिको भाषा, कला, संस्कार, संस्कृति, रितिरिवाज र परम्परामा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशाण गर्दै आएका श्रेष्ठ नेवाः पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरिसकेको छ ।

तस्विर-KD Gurung

तपाईको प्रतिक्रिया