त्रिशुली बस दुर्घटना : बेपत्ताको खोजीमा पाँच जिल्लाका प्रहरी परिचालन

सैलुङअनलाइन संवाददाता
0 Shares
धादिङ

बेनीघाटरोराङ गाउँपालिका-३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी जिल्लालाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् ।

चितवनको कुरिनटारमा समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्तले बारम्बार भइरहने सवारी दुर्घटना कम गराउन सरकारले प्रभावकारी कार्य गर्न नसकेको बताएका छन् ।

वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

खोजीकार्य गर्न हिँडेरमात्र सम्भव नभएकाले त्रिशूली नदी किनारमा रहेका छ रिसोर्टलाई समेत सतर्क रहन र खोजीकार्यमा सघाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

गत शुक्रबार मलङ्गवामा चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना ६ ख ७४६९ नंको बस दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ । उक्त बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशङ्का गरिएको प्रजिअ पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका