तामाङ राजनीतिक कार्यकर्ताको गन्तव्य !

काठमाडौँ

विषय प्रवेश

निरङ्कुश राणा शासनकालको १०४ वर्षे अवधिमा भयानक दमन र कोपभाजनमा परेका तामाङ जातिलाई त्यो उकुसमुकुसबाट निस्कन छटपटि भइरहेको थियो ।  राणाकालमै यो जातिमाथि कानुन बनाएरै मासिन्य मतवाली बनाएकोले जीवनका सबै क्षेत्रहरूमा यिनीहरूमाथि गरिएको त्यो बहिष्करण कति पीडादायी थियो, त्यसको इतिहास अझै आउन सकेको छैन । त्यस्तो दानवीय शासनको चक्रबाट मुक्ति प्राप्त गर्न गोर्खा दलको स्थापना भयो । वि.स.१९९० को दशकदेखि दन्केको त्यो आगो नेपाली काँग्रेसको स्थापनापछि डढेलोको रूपमा विस्तार भयो । नेपाली काँग्रेसको प्रजातन्त्र प्राप्तिको लडाइँमा आफ्नो पनि नागरिक अधिकार र राणा शासनबाट उन्मुक्तिको सपना साँचेर थुप्रै तामाङ युवाहरू २००७ सालको प्रजातन्त्रको आन्दोलनमा ज्यानको बाजी लगाएर होमिए । निर्मल लामा, श्यामकुमार तामाङ, डोनस ग्राङदन, नरेन्द्र लामालगायतका थुप्रै युवाहरू मुक्ति सेनामा लागे । तत्कालीन राणा शासन विरोधी र प्रजातन्त्र स्थापनाको लागि खोलिएका मुक्ति सेनाको २३ जनाको कमान्डरहरूमा ८ जना त तामाङ युवाहरू नै थिए ।

नेपाल तामाङ घेदुङ पनि ती विभिन्न दलमा रहेका तामाङहरूका आफ्नो राजनीतिक क्यारियर बनाउने बिसौनी मात्रै हुँदै आएका छन् ।

सात सालको त्यो आन्दोलन सफल भयो । नेपाली काँग्रेसको सरकार बन्यो । आन्दोलन सफल भएपछि ती तामाङहरू राजनीतिका मूलधारबाट हराउन थाले, क्रमशः उनीहरू किनारामा पर्न थाले । आन्दोलनको बेलामा अग्रिम मोर्चामा भएका ती नौजवानहरू त महत्त्वहीन हुँदै नेतृत्वमा कहीँ देखिएनन् । नेपाली काँग्रेसले वि.स.२०१५ सालको आम चुनावमा अत्यधिक बहुमत ल्याए तर कोही तामाङहरू र ती प्रत्यक्ष आन्दोलनमा लागेका युवाहरू कसैलाई सो दलले टिकट दिएर जिताएनन् । (स्रोत २०१५ आम निर्वाचनको नतिजा) जब राजा महेन्द्रले पौष १, २०१७ सालमा निर्वाचित मन्त्रीमण्डल र तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई जेलमा कोचेर पञ्चायती राजतन्त्र थोपरे त्यस विरुद्ध पुनः आन्दोलन गर्न नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले तामाङ युवाहरूलाई गोलबन्द गर्न थाले । पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रसहित बहुदलीय व्यवस्थाको सूत्रपात गर्न चलेको ३० वर्षे आन्दोलनमा थुप्रै तामाङहरूले अरूले सरह नै योगदान र बलिदान दिए । दलहरूले उनीहरूलाई प्रजातन्त्र र बहुदलीय व्यवस्था बहाली भएपछि सबै समस्याको समाधान हुन्छ भनेर आश्वस्त गरेका थिए । २०४६ सालमा प्रजातन्त्र र बहुदलीय व्यवस्था पुनर्बहाली भएपश्चात् आ-आफ्ना आस्थाअनुसार नेपालमा रहेका पाँचौँ ठुलो जनसङ्ख्या यो जाति विभिन्न दलमा आबद्ध भए । नेपालका चलेका सबै राजनीतिक आन्दोलनमा यिनीहरूको रगत पसिना बगेको छ । सबै दलहरूमा यिनीहरूको सक्रिय संलग्नता रहँदै आएको छ ।

ल्होछारको सन्दर्भ

गत वर्षको ल्होछारको शुभ अवसरमा हरिवन नगर घेदुङ, सर्लाहीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । सो कार्यक्रममा पक्तिंकार प्रमुख अतिथिको रूपमा आमन्त्रित थिए । उक्त ल्होछार कार्यक्रममा त्यस नगरपालिका र जिल्लामा रहेका तामाङहरू र विभिन्न राजनीतिक दलमा क्रियाशील व्यक्तिहरूको प्रतिनिधिमूलक उपस्थिति थियो । सो नगरपालिकाका उपप्रमुख रेणुका पौडेल पनि उपस्थित थिइन् । शुभकामना मन्तव्य आदानप्रदानको राम्रो माहौल सृजना भयो । प्रमुख अतिथि भएकोले पक्तिंकारको पालो सबैभन्दा पछाडि आउने त स्वाभाविक नै थियो ।

मन्तव्य राख्ने क्रममा पक्तिंकारले अरू प्रसङ्गहरूसहित मुख्य दुई वटा सन्दर्भमा जोड दिएँ । पहिलो, केही वर्ष अगाडि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चितवनको सार्वजनिक आमसभामा, ‘तामाङ भनेका छोरी चेली बम्बइमा बेचेर गुजारा चलाउने जाति हुन् ।’ यो आशयका मन्तव्य दिएको थियो । दोस्रो, नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काठमाण्डौंमा अगुवा कार्यकर्ता भेलामा खादा बहिष्कार गर्नुपर्ने प्रशिक्षण दिएका थिए ।(स्रोत नयाँ पत्रिका दैनिक, १५ माघ) यी दुवै सन्दर्भमा नेपालका मात्रै करिब २० लाख तामाङहरूमा त्यति व्यापक बहस र विमर्श भएन । एकथरि तामाङहरू जो माओवादी पार्टीमा आबद्ध थिए, उनीहरू केही बोल्नै सकेनन्, पार्टीभित्र पनि यो मुद्दा उठाउन सकेनन् । सो पार्टीबाहिर रहेका तामाङहरूले झिनो स्वरमा बोल्न थालेका थिए, त्यो पनि माओवादीका तामाङ कार्यकर्ताहरूले रुचाएनन् । तामाङ जातिको एकल जातीय संस्था नेपाल तामाङ घेदुङमा यो विषयले त्यति स्थान पाएनन् । एउटा प्रेस विज्ञप्ति निकाल्न पनि हम्मे हम्मे पर्‍यो । सैलुङ अनलाइन पत्रिकाले यसको विषयमा गम्भीरताका साथ समाचार प्रकाशन गर्दा माओवादीनिकट तामाङहरूले सो पत्रिकालाई केरकार गरेको समाचार गृहका साथीहरूले पक्तिंकारलाई भनेका थिए ।

व्यक्तिगत तुच्छ स्वार्थका लागि नेताका प्यारो बन्न दास हुन तयार हुने जमातले समाज, जाति र राष्ट्रको हितमा काम गर्लान् भनेर कसरी विश्वास गर्ने ?

त्यसैगरी, शेखर कोइरालाले तामाङ जातिको जीवनमा महत्त्वपूर्ण सांस्कृतिक अर्थ राख्ने खादा बहिष्कारको प्रशिक्षण दिँदा काङ्ग्रेसभित्रका तामाङ कार्यकर्ताहरूले बोल्नै सकेनन् । यो राष्ट्रिय बहसको विषय बन्न सकेन । उनले त्यो प्रशिक्षण दिएको केही दिनमै सर्लाहीका तामाङ बाहुल्य गाउँ घुर्कौलीको स्याङतानटोलमा उनको भव्य स्वागत तथा सम्मान कार्यक्रम त्यहाँका काँग्रेसी तामाङहरूले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा भएका थिए । उनी जाने बाटोमा सघन तामाङ बस्ती थियो र कार्यक्रमस्थल त झनै तामाङबाहेक अरू कुनै जाति नभएको गाउँ नै थियो । सोही मौकामा पक्तिंकारले त्यहाँको नगर घेदुङलाई कालो झन्डा प्रदर्शन तथा विरोध कार्यक्रमको आयोजनाको निमित्त आग्रह गरेको थिएँ । तर घेदुङले त्यो प्रस्तावको कुनै सुनुवाइ नै गरेन । यसरी तामाङ जातिलाई र उसको संस्कृतिमाथि पटक पटक होच्याउँदा र अपमान गर्दा पनि बोल्न नसकेको परिवेशमा पक्तिंकारले सो ल्होछार शुभकामना कार्यक्रममा मन्तव्य राखेको थिएँ । पक्तिंकारले, ‘राजनीतिक दलमा लागेका तामाङहरूमाथि प्रश्न गर्दै आफ्नो अस्तित्व र जातिको हितको लागि केही गर्न नसक्ने जसले त्यसको विरुद्धमा बोल्यो त्यसैको मुख बन्द गराउन खोज्ने त्यस्ता लाक्षी कार्यकर्ताहरूलाई आलोचना गरेको थिएँ ।’

शेखर कोइरालालाई प्रश्न गर्न नसक्ने तामाङ कार्यकर्ताहरू र उनलाई कालो झन्डा देखाउन हिम्मत नगर्ने हो भने यो जातिको अस्तित्वमा गम्भीर सङ्कट आएको चित्रण गर्दै यस्तो राजनीति गरेर कहाँ पुग्छ ? भन्ने प्रश्न राखेको थिएँ । पक्तिंकारले, ‘जुन पार्टी र त्यसका शीर्षस्थ नेतृत्वले यो जाति वा कुनै पनि जातिको विरुद्धमा जातीय अपमान हुने तर्क राख्छन्, तिनका विरुद्धमा जुनसुकै मूल्य चुकाएर भए पनि लड्न पर्छ र बोल्न पर्छ भनेर सबैलाई सार्वजनिक अपिल गरेको थिएँ ।’

उपर्युक्त कथन र मन्तव्य राखेकाले काँग्रेस निकट केही तामाङ मित्रहरूले फलानोलाई किन प्रमुख अतिथि बनाएको ? उनले शेखर कोइरालालाई कालो झन्डा देखाउने मन्तव्य राखेछन् । त्यसैले यस्तो मन्तव्य राख्ने व्यक्तिलाई प्रमुख अतिथि किन बनाएको भनेर आयोजकलाई स्पष्टीकरण मागेको घटना पक्तिंकारलाई आयोजकले सुनाएको थिए । सो सुनेपछि पक्तिंकारले स्पष्टीकरण माग्ने हो भने म घरमै छु, त्यतै जानुस् भन्नुस् भनेँ । अथवा स्पष्टीकरण लिन मन भए काँग्रेस निकटका तामाङहरू एक ठाउँमा भेला हुनु भन्नु म त्यही आउँछु, यो खबर सुनाइदिनु आयोजकलाई भनेँ । पक्तिंकारले राखेको मन्तव्यलाई लिएर स्थानीय काँग्रेसी तामाङ कार्यकर्ताहरू र आयोजक संस्था नेपाल तामाङ घेदुङबीचमा दोहोरी नै चलेछ । आयोजकले बताए अनुसार जो जो व्यक्तिहरूले स्पष्टीकरण मागेका थिए, तिनीहरूलाई पक्तिंकारले राम्रैसित चिन्दो रहेछ । अरुबेला पक्तिंकारसित बेला बेलामा भेटघाट गर्ने र फोन गर्ने ती मित्रहरू अचेल सम्पर्क गर्न छाडे ।


तामाङ राजनीतिक कार्यकर्ताको गन्तव्य !

यो वास्तविकता हो कि नेपालका वा बाहिरका तामाङ विभिन्न दलमा विभाजित छन् । ती दलहरूमा ती राजनीतिक कार्यकर्ताका ठुलो लगानी परिसकेको छ । लगानी भन्नाले उमेरको लगानी, पैसाको लगानी वा अन्य लगानीहरू होलान् । आफू सम्बद्ध दल छोड्ने अवस्था पनि छैन । तर त्यस्ता राजनीतिक दलका कार्यकर्ताहरूले आफ्नो पार्टी र नेताले आफ्नो जातिका बारेमा जस्तोसुकै अपमानजनक र विद्वेष फैलाउने नीति र बोली वचन लिएको अवस्थामा पनि तिनीहरू केही बोल्ने र गर्ने हैसियतमा छैनन् ।

एकार्थमा, दास मनोवृत्तिमा तिनीहरू बाँचिरहेका छन् । आफ्ना पार्टीका एजेन्डाहरू ल्याएर विशुद्ध जातीय र सांस्कृतिक हितार्थ स्थापित भएका संस्थाहरूमा वितण्डाता मच्चाउने र आपसी कृत्रिम मतभेद बढाउने कार्यहरू भइरहेका छन् । नेपाल तामाङ घेदुङ पनि ती विभिन्न दलमा रहेका तामाङहरूका आफ्नो राजनीतिक क्यारियर बनाउने बिसौनी मात्रै हुँदै आएका छन् । आफ्नो राजनीतिक सिभि बनाउने कार्यले यो संस्था आफै सुकेनास लागेर सुक्दै गइरहेको देखिन्छ । आफ्ना पार्टीका नेताहरूले जे भनेपनि त्यसको प्रतिरक्षा गर्ने कार्यकर्ताले आफ्नो समाज र जातिको हितमा के काम गर्न सक्छन् होला र ? विभिन्न पार्टीमा लागेका ती तामाङ राजनीतिक कार्यकर्ताको गन्तव्य कता हो ? व्यक्तिगत तुच्छ स्वार्थका लागि नेताका प्यारो बन्न दास हुन तयार हुने जमातले समाज, जाति र राष्ट्रको हितमा काम गर्लान् भनेर कसरी विश्वास गर्ने ? मानवशास्त्री डा.डम्बर चेम्जोङको कथन उपयुक्त छ, ‘जनजाति र दलितले भर्‍याङ बन्नुमै आफ्नो सफलता ठाने ।’(स्रोतः अन्तर्वार्ता, हिमाल खबर, चैत २७ गते) यो तथ्य तामाङमा पनि लागू हुन्छ । उनीहरूले प्रदर्शन गरेका राजनीतिक व्यवहारहरूले यही तथ्यलाई दर्साउँछ ।

प्रचण्ड र शेखर कोइरालाजस्ताहरुले तामाङ जाति र उसका संस्कृतिमाथि हिलो छ्याप्ने कार्यको विरोध गर्ने, त्यसको प्रतिवाद गर्नेहरूलाई उल्टै स्पष्टीकरण सोध्ने ती राजनीतिक कार्यकर्ताहरूको आफ्नो गन्तव्य के हो ? आफ्नो लक्ष्य के हो ? यस्ता दास मनोवृत्तिका कार्यकर्ताहरूबाट तामाङ समाज दिग्भ्रमित हुँदै आएकोले यस जातिको मुक्ति, पहिचान, आत्मसम्मान र अस्तित्वको लागि अब बौद्धिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू मैदानमा उत्रिनुको विकल्प छैन । अन्धभक्त उत्पादन गर्ने दलहरूमा लागेका यस्ता राजनीतिक कार्यकर्ता नामको अनुयायीहरूबाट समाज, जाति र राष्ट्रलाई सदैव खतरा रहिरहन्छ । त्यसप्रति सचेत रहन आवश्यक छ ।

यो पनि

हरिवन नगरपालिकामा भाषाको स्थिति र भाषिक नीति

नेपाली राजनीतिको दुःख

तपाईको प्रतिक्रिया

पत्रपत्रिका