ककनी गाउँपालिका वडा नं. १ कोल्पु खोलामा बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ ।
ओखरपौवास्थित कोल्पुखोलामा अवैध बालुवा उत्खननबाट बनेको खाल्टोमा डुबेर स्थानीय १३ वर्षकी बिनिता बलामी र सिन्धुली जिल्ला फिक्कल गाउँपालिकाकी ३५ वर्षीय लक्ष्मी तामाङ रहेकी छिन् ।
बिनिता बलामी नुहाउन जाने क्रममा बालुवा झिकेको खाल्डोमा डुबेकी थिइन् र उनलाई बचाउने क्रममा लक्ष्मी तामाङको पनि डुेबको प्रत्यक्षदर्शी स्थानीयहरुले बताए ।
गाउँपालिका र वडा कार्यालयकै मिलेमतोमा कोल्पुखोला किनारामा बालुवा उत्खनन् कार्य हुँदै आएको थियो ।
मृत व्यक्तिहरुका शबलाई वालुका उत्खनन् गर्ने ब्यक्ति मोहन कृष्ण श्रेष्ठको बालुवा भण्डारण र स्काभेटरसँगै राखेर प्रदर्शन जारी राखेको छ । खोलामा बालुवा झिक्न नपाउने माग सहित स्थानीयले प्रशासन र वडा कार्यालयको विरोध गरिरहेको छ ।
सोमबार साँझ ५ः४५ बजेको घटनालाई लिएर यतिखेर कोल्पुखोलामा तानावपूर्ण अवस्था सिर्जना भएको छ । स्थानीयले क्षतिपूर्तिको माग सहित बालुवा उत्खनन् कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेका छन् ।
स्थानीय प्रशासनका अनुसार वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामी, स्थानीय मोहनकृष्ण श्रेष्ठलगायतको स्काभेटरले बालुवा उत्खनन् गर्दै आईरहेको बुझिएको छ । घटनाको जिम्मा मोहनकृष्ण श्रेष्ठले नलिएसम्म शब नबुझ्ने भन्दै अहिले विरोध भईरहेको दिपक बलामीले घटनास्थलबाट जानकारी दिएका छन् ।