पहाड-पर्वत पुज्ने-पुकार्ने परम्परा

काठमाडाैं

नेपाल सरदभित्र पहाड-पर्वत, भीर-पहरा, छाँगा-छहरा, गुफा-ओडार, नदी-नालाहरुलाई देवत्वको प्रतिक भनि पुज्ने प्रचलन परापूर्वकालदेखि नै चल्दै आएको हो । यो प्राकृतिक शक्तिको पूजकहरुले थालनी गरेका हुनाले यो त्यसैको परम्परा मानिन्छ जो तन्त्र विद्यासँग पनि जोडिन पुग्यो ।

नेपालमा बोनतन्त्र, शैवतन्त्र, शाक्ततन्त्र र बौद्धतन्त्रको विधीविधान प्रचलनमा रहेका छन् । पौराणिक कालदेखि शैवतन्त्र र कालितन्त्रलाई हिन्दूतन्त्र भन्ने गरिएको छ । तन्त्रले जडशक्ति (भौतिकतत्व)लाई लौकिक शक्ति मान्दछन् भने आध्यात्मिक शक्ति (चेतनातत्व)लाई अलौकिक शक्ति मान्ने गरिन्छ । बौद्धहरु लौकिक शक्तिलाई साधनाको रुपमा ग्रहण गर्छन् भने अलौकिक शक्तिलाई साध्य मान्दछन् ।

ती दुई विपरित तत्वहरुको जोगलाई नै ‘योगा’ भन्ने गरिएको देखिन्छ । नौ नाडी, अनेक नशाको ‘तन्तु’हरुको संरचनाभित्र वायु र रक्तसंचारका सूक्ष्म विन्दुहरु प्रवाहित रहेका हुन्छन् र ती लयवद्ध वा संगीतवद्ध ढङ्गबाट सञ्चालन हुने गर्छन् । त्यसबाट उत्पन्न हुने मनसा (मनोदसा)लाई ‘त्राण’ दिन आह्वान (मन्त्र)हरु उच्चारण गर्ने गर्छन् । यसलाई भजन वा भक्ति–किर्तनको रुपमा भक्तिमार्गीहरुले रुपान्तरण गरिएको भनिन्छ । जुन सरल अभ्यास हो ।

तर, तन्त्र तथा मन्त्रयानको अभ्यास जटिल प्रक्रियाको मानिन्छ । तन्त्र-मन्त्रलाई पनि योगसँग जोडेर (समन्वय) अभ्यास गर्नु उत्तम मान्ने गरेको छ । त्यसले जीवन र जगतको अवोधगम्य ठानिएका विभिन्न रहस्यमय गाँठाहरु फुकालिन्छन् भन्ने विश्वास तान्त्रिकहरुको हो । जसलाई मोक्ष वा मुक्तिको संज्ञा दिने गरिएको छ ।

प्राचीन मोहनजोड्दा-हडप्पा सभ्यताकालदेखि नै हिमालय (कैलाश) पर्वतलाई शिव लिङ्गको रुपमा स्थापना गरी पुज्ने परम्परा रहेको पाइएको छ । सिन्धुघाटी क्षेत्र भएर बग्ने अनेक नदीनालाहरु सबै हिमालय (कैलाश) वा पर्वत क्षेत्रबाट बगरे गएका नदीनालाहरु हुन् । वैदिकहरुले त्यस परम्परालाई ‘लिङ्ग पूजक’ भनि निन्दा समेत गरेको पाइन्छ । तर, शैवतन्त्रको विकाससँगै वैदिक समाजमा पनि त्यसको प्रभाव बढेर व्यापक हुन पुग्यो ।

उता स्याङस्युङ सभ्यातामा पनि कैलाश पर्वतको महिमा सर्वोच्च स्थानमा कायम रहने गरेको थियो । बोनहरुका ‘महागुरु’ पनि उनै शिव (महादेव) हुन् भन्ने गरिन्छ । बोनहरुका लागि हिमालय पर्वतका सबै शिखरहरु देवी (ज्योमो) र देवता (ज्योहो)का बासस्थान हुन् ।

केही लेखकहरुको दावी अनुसार भोट (बोद्) जातिका प्राचीन पूर्खा कैलाश मानसरोवरभन्दा उत्तर-पश्चिम क्षेत्रका सिन्क्याङ बासिन्द हुन् । जुन स्याङस्युङ सभ्यताकै प्रभाव क्षेत्र पनि हो । कैलाश मानसरोवरबाट पूर्वतिर बग्ने चाङ्बो (ब्रम्हापुत्र) नदी किनारै किनार पूर्वतिर बसाई सर्दै जाने ऐतिहासिक कालक्रममा ब्रम्हपुत्र नदीतटकै नजिकको यारलुङ उपत्यकामा प्रथम चन्बो वंशजको राजसंस्था ई.पू. १५०-३५० मा स्थापना भएको तिब्बती इतिहासकारहरु बाताउने गर्छन् । जतिखेरा बोन संस्कृतिले आफ्नो निश्चित मापदण्ड कायम गरिसकेका थिए ।

अशोक सम्राटको पालामा तत्कालिन लियुल (सिन्क्याङ)मा बौद्धधर्मको व्यापक प्रचारप्रसार भएको थियो । यस अघि उत्तर काकेशीयाई पर्वतमालाबाट दक्षिण-पूर्वतिर सर्दै आएका खस जातिको प्रभुत्व त्यस क्षेत्रमा स्थापित भएको पनि देखिन्छ । पछिल्लो समयमा भने मुस्लिम तुर्कहरुको आक्रमणबाट त्यहाँका प्राचीन स्मारकहरु खण्डहरमा परिणत भए । नूतन बोनहरुले पनि आफ्नो धर्मको उद्गमस्थल स्याङस्युङ क्षेत्र मानिएको छ । खाशागार (सिन्क्याङ)बाट विस्थापित खस जातिहरु वर्तमान भारतको काश्मीरमा (खाशमीर) सर्वप्रथम स्थापति भएको मानिन्छ ।

विश्वका मानव जातिले सभ्यताको बाटो पहिल्याउने कठिन प्रयास गर्ने गर्दा आफ्नो समाजको अर्थतन्त्र, सामाजिक बनौट, राजनैतिक (राज्य) परिवेश र भौगोलिक अवस्था समेतलाई समेटेर एउटा खालको आदर्श समाजको परिकल्पना गरेका हुन् । ऋग्वेदको ‘सँगै हिड्ने, सँगै बाँच्ने, सँगै खाने’ भन्ने जस्ता वेदवाणीहरुले पनि त्यही बताउने गरेको पाइन्छ । सामुहिक प्रयत्नका लागि साझा समुहिक आस्थाको आवश्यकता रहन्छ । त्यही सामुहिक आस्थाबाट संस्कृतिको विकास हुने गरेका छन् ।

हिमालय तथा पर्वतीय क्षेत्रको जनजीवन हिमाल–पहाड र त्यसबाट बग्ने गरेका नदीनालाहरु र वन-जंगलसँग सम्बन्धीत र अभिन्न रुपले जोडिएका छन् । प्राचीन आदीमानवहरु, पहराका ओडारहरुमा बसोबास गर्ने गर्थे जहाँ उनीहरु अन्य जीवजन्तुहरुको आक्रमणबाट सुरक्षित हुन्थ्यो । तामाङ जातिको ताम्बा (कथावाचक)ले बताउँदै आएको फा-टेहु (पीता बाँदर) र मा-ड्रगस्रिनमो (माता पहाडी यक्षणी) को कथाले पनि त्यही जनाउँछ । उनीहरु ओडारवासी थिए ।

त्यस्तै शिकार, फलफूल, कन्दमूलदेखि औषधीहरुसम्म पनि वनजंगल वा पहाडबाटै प्राप्त गर्ने हुनाले आफ्नो बासस्थान पहाडको महत्व जीवनवृत्ति समेतका लागि एकदमै ठूलो मानिने गर्यो । त्यस क्रममा पहाड-पर्वतलाई पुज्ने–पुकार्ने परम्पराको शुरुवात हिमालयलाई दैवीकरण गर्ने गरे । त्यसरी पर्वतलाई दैवीकरण गरी पुज्ने-पुकार्ने परम्परालाई कायम राख्न पर्वतपूजकहरुले आफूहरु जहाँ जहाँ उपस्थित भए त्यहीँ त्यहीँका पर्वतमालालाई दैवीकरण गर्दै लाने गरेको देखिन्छ । त्यो पशुपतिनाथको मन्दिर कुनै नयाँ स्थानमा स्थापना गरे जस्तै थियो ।

बौद्धतन्त्रको प्रचारसँगै तिब्बत (भोट)मा भने लामाहरुले स्थानीय देवता पहिचानमा आएको भन्दै नयाँ नयाँ नाम र पहिचानसहित पर्वतहरुलाई दैवीकरण गर्दै लगे । यस अघि बोनहरुले पनि त्यसै गर्ने गरेका थिए ।

हिन्दू परम्परामा हिमालय कैलाशपति (महादेव) र पार्वती (उमादेवी)का वासस्थान हुन् अर्थात् शिवालय हो । कैलाश पर्वतलाई बोन, शैव (हिन्दू), जैन, बौद्ध र शिख धर्मावालम्वीहरुले आ–आफ्ना ईष्टदेव (प्रमुख देवता) वा आदीगुरुको रुपमा पुज्ने गर्छन् । अनेक मतसम्प्रदायले एउटै तिर्थास्थललाई मान्दै आएको यो एउटा अनौठो संयोग मानिन्छ । त्यसले मानिसको आस्थाहरुलाई एउटै ठाउँमा बाँधी दिएको पनि छ । हिमाली बौद्ध काग्युपा (काग्युद्पा) सम्प्रदायले ब्रम्हाण्डको सुमेरुपर्वत जस्तै कैलाशपर्वतलाई जम्बुद्वीपको ‘सुमेरुपर्वत’ मानेका छन् । अर्थात् यो (कैलाशपर्वत) पृथ्वीको शिखर (शीर) हो अनि चुडामणि पनि । कैलाशको उपनाम ‘बसुनाभी’ भनि धनश्रीको निधिको रुपमा पनि लिइन्छ ।

कैलाश मानसरोवरलाई केन्द्र मानि त्यसको वरिपरिका पर्वतीय क्षेत्रको देश-देशान्तरमा फैलिएको ‘पर्वतराज’को रुपमा पुज्ने–पुकार्ने संस्कृति अहिले सीमित देशहरुमा मात्र यथावत रहेको छ । टर्किज, अटोमन, ईस्लामिक साम्राज्यको विस्तार गर्ने अभियान अन्तर्गत अफ्गानिस्तान, पाकिस्तान र सम्पूर्ण केन्द्रीय एशीयाका देशहरु ईस्लामीकरणमा पर्न गएपछि पर्वत पुज्ने केही मिथककथाहरु मात्र बाँकी रहेका छन् ।

मुस्लिम धर्म मान्ने तुर्क मूलका उईग्युर जातिले पनि शिखर पूजा गर्ने गर्दैनन् । उनीहरु धर्म परिवर्तनमा परेका हुन् । भोटका लेखकहरुले बर्मी पर्वतमालादेखि आसामसम्मका बासिन्दहरुलाई मोनपा (मोनखमेर) भन्ने गरेको र ती क्षेत्रलाई मोनयुल (मोनदेश) भनि सम्वोधन गर्ने गरेका छन् । त्यो भोटान्तको दक्षिणी भाग हो ।

भारतका मनुस्मृति र चाणक्य नीति वा कौटिल्य अर्थशास्त्रमा वर्णित किराँतहरु जंगलवासिहरु हुन् भनेका छन् । प्रायः मोन जाति र किराँत जाति एउटै हुन् भन्ने गरेता पनि उनीहरु बीच अहिले भाषा तथा संस्कारमा विविधता कायम रहेको छ । प्राचीन भारतका लेखकहरुले किराँतीहरु पहाडको लेक भाग जहाँ तिक्त (चिरौटा) उम्रिन्छ त्यहाँ बसोबास गरेको मानेका छन् ।

पूर्वोत्तर भारतको नागाल्यैण्ड, मिजोराम, मणिपुर र अरुणाञ्चल प्रदेशदेखि बर्मा र कम्बोडियामा समेत ‘मोन जाति’ (किराँत) रहेको मानिन्छ । तर, यो मोन (खमेर) वा किराँत शब्दको नाम कहिले भू-क्षेत्र विशेष र कहिले एकखालको परम्परासँग जोडेर प्रयोग गरेको पाइएकोले त्यसबाट निश्चित जाति विशेषलाई मात्र लक्षित नगरेको देखिन्छ । वास्तवमा किराँत वा मोनले निश्चित सांस्कृतिक समूहरुलाई जनाउने गरेको देखिन्छ । भारतवर्षको गंगानदी भन्दा माथितिरको वासिन्दा र भोटको हिमालयको तलातिरको जातिहरुलाई एउटै टोकरीमा हालेर नाम दिने गरेको मानिनु पर्छ । जहाँसम्म पर्वतलाई देउता मानि पुज्ने–पुकार्ने सवाल छ त्यो कैलाश मानसरोवर हिमाली क्षेत्रबाट फैलिएको देखिन्छ । हुन त अफ्रिकी महादेश र ल्याटिन अमेरीकी समाजमा पनि पर्वतलाई देवता मान्ने प्रचलन पहिले नभएको होइन अहिले क्रिश्चियानिकरण भई त्यो प्रथा लोप हुन गएको मानिन्छ । धर्म दर्शनको अपवादमा केही आदिवासीहरुले मान्दै पनि आएका छन् ।
विकास सँगसँगै विशुद्ध पर्वत (स्थुल पहाड)लाई मान्ने परम्पराको विरोध पनि हुन थाल्यो । यस प्रसंगमा नूतन (नयाँ) बोनका संस्थापक तोनपा सेनराबलाई भोटका कोङ्पो क्षेत्रका प्रमुख कोङ्जे कारपोले उनलाई पर्वत ‘ज्योरी नाग्पो (कालोदेव पर्वत)को शरणमा जाऊ र मान्छेलाई ढोग’ भन्ने लिखित कथा स्मरणीय छ । तथापि कोङ्पो क्षेत्रमा रहेको बोन री (बोन पर्वत)लाई नेपालका तामाङ झाँक्रीहरुले पनि पुज्ने गरेको तथ्य तिनका बोन काइरान (बखान)बाट थाहा हुन्छ । तर, केही बोन वा झाँक्रीले शब्द अपभ्रंस गरी ‘ज्योरी नाग्पो’को सट्टा ‘जोगी नाग्पो’ भनि उच्चारण गर्ने गर्नाले अर्थ विचलनमा पर्न गएका पनि छन् ।

नेपालको सन्दर्भमा र अन्य मुलककै हकमा पनि हिन्दू तथा बौद्ध जनसमुदायले आ-आफ्नै परम्परा अनुसार पहाड-पर्वतको टुप्पो वा देवस्थलहरु विशेष गरी शिवालय (पर्वत)मा गई पूजाआजा गर्ने गर्छन् । विग्रह, शान्ति र शुभलाभको कामना गरी प्रार्थना गर्ने गर्छन् । हिन्दू तथा बौद्ध साधकहरुले भने आ-आफ्नै शास्त्रीय विधिविधान अनुसार अनुष्ठान गर्ने गर्छन् । त्यसले धर्मको अभ्यास (साधना) र सांस्कृतिक गतिविधिलाई छुट्याउने रेखा कोरे ।

हिन्दूहरुले शैलुङ पर्वतलाई शैलुङ्गेशवर वा शैलुङ्गेश्वरी भनि शिवशक्तिको प्रतिक वा थलो सम्झी पूजाआजा गर्छन् भने बोन झाँक्रीहरुले भने आफ्नो गुरुद्वारा दिक्षित पद्दति अनुसार ‘गुप्तमन्त्र’को माध्यमबाट ‘अदृष्य शक्ति’को आह्वान गर्ने गर्छन् । साथै अनेक भूतप्रेत गैरमानवीय अनेक देवीदेवताको नाम लिएर तिनलाई सन्तुष्ट पार्ने प्रयास गर्ने गर्छन् । तिनले आह्वान गर्ने गरेका अनेक ‘शक्ति समूह’को स्वरुप अज्ञात रहने गर्दछ ।

तर, हिन्दू तथा बौद्ध तान्त्रिकहरुले भने साकार आलौकिक शक्ति र अन्य अज्ञात लौकिक शक्तिको पनि वर्गिकरण गरी पूजाआजा गर्ने गर्छन् । बौद्धहरुले शक्तिपीठ मानिएका स्थानमा ‘बलिपूजा’ चढाउने गरिन्न । तर, सर्वसाधारण बौद्ध समुदायले भने कालो बोन वा झाँक्रीको माध्यमबाट बलिपूजा चढाउँदै आएको पनि पाइन्छ । बोन झाँक्रीहरुले प्राय सन्सारीमाई (मातृगण), नागनागेनी, चनशिकारी, सिमेभूमे जस्ता स्थानीय ‘देवी–देवता’ र लोकजगतमा क्रियाशील अदृष्य शक्तिको साधना गर्ने गरेका छन् । झाँक्रीले आफ्नो गुरुको ‘गुरुमन्त्र’को शक्तिले ती अदृष्य शक्तिहरु आफूतर्फ आकर्षित गर्ने गर्छन् । तर अहिले प्राचीनकालको गुढ अर्थ बोक्ने मन्त्रहरु प्राय लोप भएर गएको मानिन्छ । त्यस्ता मन्त्रसाधानाको पद्धतिलाई निरन्तरता दिन बलियो गुरुपरम्पराको श्रृङ्खला कायम राख्न सक्नु पर्ने हुन्छ ।

भारतको मलयगिरी, श्रीपर्वत, चीनको पञ्चशिर्ष पर्वत, ताईसन पर्वत जस्तै नेपालको शैलुङ पर्वत पनि धार्मिक आस्थाकै कारण पुजनीय रहेका छन् । हिमाली क्षेत्रको पर्वत माथिको आस्थाले आफ्नो मातृभूमि र माटोको मायालाई ताजा राख्ने दिशामा पनि योगदान पुर्याउने गरेको छ ।

हिमाल-पर्वतको दैवीकरण गर्नाले समाजको आध्यात्मिक भोकलाई पनि मेटाउँदै आएको छ । सभ्यताको उषकालदेखि नै मानव जातिले प्राकृतिक सम्पदाहरुको महत्वलाई संगाल्दै आएको हो । धर्मले त्यसलाई सामाजिक संस्कृतिमा परिणत गरिदिएको छ । त्यसलाई जगेर्ना गर्नु पर्ने आजको आवश्यकाता हो ।

धार्मिक तिर्थास्थलहरुप्रति अगाध श्रद्धा राख्ने वैचारिक श्रृंखलाको लामो ऐतिहासिक पृष्ठभूमि रहेको छ । जाति समुदायहरुको विशेष खालका चाड-पर्व वा मेलाहरुलाई केलाउने गर्दा त्यसको वैचारिक तथा ऐतिहासिक पृष्ठभूमितर्फ ध्यान पुर्याउनु पर्ने हुन्छ । यस दृष्टिबाट शैलुङ पर्वत बारे चर्चा परिचर्चा गर्ने गर्दा हिमालय क्षेत्रको धर्म, इतिहास र संस्कृतिको रुपरेखालाई नियाल्नु अनावश्यक मान्नु हुन्न ।

शैलुङ पर्वतकै सेरोफेरोमा बसोबास गर्ने जनसमुदायको धार्मिक-सांस्कृतिक परम्पराको प्रसंगमा गाँसेर आउने शैलुङ पर्वतको पवित्र गरिमालाई प्रष्ट पार्न परम्परागत सोच, धार्मिक आस्था र सांस्कृतिक मान्यताबारे चर्चा गर्न आवश्यक छ ।
हिमालय, पहाड, पर्वत र नदीनालाहरु सृष्टिको अनुपम बरदान हुन् । धार्मिक आस्थाले गर्दा त्यसले अलौकिकतालाई पनि आफूमा समाहित गरेका छन् । श्रद्धा, भक्ति र आस्थाकै कारण अनेक लौकिक-अलौकिक शक्ति र ज्ञान हासिल गर्ने गर्छन् भन्ने विश्वास चलिआएको छ । गएको युगहरुमा मानिस र प्राकृतिक सम्पदाबीचको सम्बन्धले एउटा उचाई हासिल गर्दा दैवीकरण हुन गयो । अहिले अपवादहरु पनि देखा पर्न थालेका छन् । यो स्थितिमा आईपुग्दा जनताले आफ्नो ऐतिहासिक कालदेखिको राष्ट्रिय सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्न त्यसको महत्वलाई बुझ्नु बुझाउनु पर्ने हुन्छ । धार्मिक स्थलहरुलाई पर्यटनको थलो, मानेरन्जनको केन्द्र वा व्यापार नाकाको रुपमा मात्र हेर्न थालेकाले सामाजिक पहिचान समेत स्वतः लोप भएर जाने देखिएको छ । त्यसैकारण संयुक्त राष्ट्रसंघले नै विश्व सम्पदा एवं राष्ट्रिय सम्पदाको संरक्षण गर्न सरोकारवाला राष्ट्रलाई नै जिम्मेवारी दिलाउँदै आएको छ ।

हिमाली सभ्यताको प्रारम्भमा मानिसको चिन्तन-मननको प्रणाली विकास हुँदै जाने क्रममा आफ्नो शारिरिक शक्ति र ज्ञान-विवेकले समाधान दिन नसक्ने समस्याहरु आइपर्ने गर्दा अलौकिक शक्तिको आव्हान गर्ने प्रथा बसाल्दै आए । त्यसक्रममा अनेक प्रकारका स्थानीय देवी-देवताहरुको परिकल्पना गरिए, जो डाँडाकाँडामा निवास गर्थे । साधकहरुले पनि त्यही डाँडाकाँडा र भीर-ओडारमै ती अलौकिक शक्ति देवी-देवताहरुको साधना गर्ने भए । त्यसबाट पनि पहाड-पर्वत र देवत्व पनि सँगसँगै गाँसिन गएको देखिन्छ । शैलुङ पर्वत पनि त्यस्तै अलौकिक शक्तिको वासस्थान वा पवित्र तिर्थस्थल मानिदै आएको छ ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका