सामाजिक अभियान्त जुनु मगर उत्कृष्ट घोषित

सैलुङअनलाइन संवाददाता
काठमाडौं

सामाजिक अभियान्त जुनु पुन मगर वर्षको उत्कृष्ट मगर घोषणा भएकी छिन् । बागलुङकी पुन मगरलाई सामाजिक संस्था नेपाल मगर संजाल क्लबले वर्षको उत्कृष्ट मगर घोषणा गरेकी हुन् ।

उत्कृष्ट मगर घोषित भएकी जुनु अनाथ तथा असहाय बालबालिका आमा हुन् । जुनुले देशभरिका अनाथ बालबालिकालाई आमाको माया र ममताका साथै उनीहरुको शिक्षा, अनुशासन र भविष्यको बाटो समेत कोरिदिने काम गर्दै आएकी छिन् ।

` भाषा,कला,संस्कृति र भेषभुषाको संरक्षण, मगर एकता हाम्रो अभियान ´ भन्ने मूल नारा लिएर स्थापना भएको सो क्लबको गत बैशाख २५ गते भर्चुअल बैठकले जुनु पुनलाई उत्कृष्ट मगर वर्ष घोषणा गरेको मगर संजाल क्लबका अध्यक्ष तिलक पुन मगरले जानकारी दिए । क्लबले प्रत्येक वर्ष यस्तो उत्कृष्ट मगर घोषणा गर्ने कामलाई निरन्तरता बताएको छ । संजाल क्लब २०७७ सालमा दर्ता भएको हो ।


कोरोना महामारीको दिस्रो लहर फैलिएको भयावह स्थितिमा भौतिक उपस्थितिमा प्रथम वार्षिकोत्सव मनाउन नसकिएको अध्यक्ष पुन मगरले बताए । उनका अनुसार भौतिक उपस्थितिमा जम्मा भएर वार्षिकोत्सव मनाउने खर्चले विभिन्न कारण पीडित भएकाहरुलाई सहयोग गर्ने निर्णय क्लबले गरेका छन् । उक्त खर्चबाट रामेछापका मन्थली घर भई हाल काठमाडौं, नयाँ बसपार्क बस्ने रिता रानामगर र धादिङका ब्लड क्यान्सर पीडित मिलन परियारलाई सहयोग गर्ने अध्यक्ष पुन मगरको भनाइ छ ।

मगर संजाल क्लबले आफ्नो भेषभुषा, कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन मात्र नभई मगर युवाहरूलाई नेपाल सरकारको नीति अनुरुप ` स्वास्थ्यको लागि खेल,राष्ट्रको लागि खेल ´ लाई पनि आत्मसात गरि खेलकुदको विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको अध्यक्ष मगरले बताए । उनका अनुसार सामाजिक संजाल तथा विभिन्न संचारमाध्यमबाट जनचेतना मुलुक कार्यक्रम संचालन गर्ने, वैदेशिक रोजगारको सिलसिलामा बिदेशमा अलपत्र परेकालाई सम्बन्धित देशको निकाय तथा सामाजिक संघ संस्थाहरुसँग परामर्श गरि उद्धारको पहल गर्ने लगायत छन् ।

क्लबले प्रत्येक बर्ष विभिन्न विधाका व्यक्तित्वहरु छानेर क्लबको वार्षिक उत्सवको अवसरमा सम्मान तथा पुरस्कृत गर्ने अदालत मगरले बताए । उनका अनुसार विश्वभरी रहेका मगर समुदायभित्र वा विभिन्न सामाजिक विकासमा महत्त्वपूर्ण योगदान दिने मगरलाई छनोट गरेर सम्मान तथा पुरस्कृत गर्ने छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका