कोरोना प्रभाव : बुद्ध जयन्तीमा सुनसान हुँदै लुम्बिनी

निरा गौतम संवाददाता
रुपन्देही

हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडी देखि नै उपसमिति बनाएर तयारी सुरु गर्थ्यो । बौद्ध उपासक उपासिका, भिक्षु भिक्षुणी पनि उत्साहित हुन्थे ।

बुद्ध जयन्ती मनाउन कोष क्षेत्रभित्रका बौद्ध गुम्बा तथा विहार सजाएर आकर्षक बनाइन्थ्यो । आन्तरिक तथा बाह्य पर्यटकले यो पवित्र दिनमा लुम्बिनी घुम्न जाने योजना बनाउँथे । विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरू बुद्ध जयन्ती समारोहमा सरिक हुन लुम्बिनी आउँथे ।

लुम्बिनीका व्यवसायीमा छुट्टै खालको उत्साह हुन्थ्यो । बुद्ध जयन्तीमा लुम्बिनी आउने पाहुनालाई स्वागत गर्न आ–आफ्ना व्यवसाय सजाएर चिटिक्क पार्थे र श्रद्धालुलाई स्वागतका लागि तम्तयार भएर बस्थे । स्थानीय युवाहरू पनि आफ्नो संस्कृति झल्कने प्रस्तुतिका लागि पूर्व तयारी गर्थे तर, अहिले त्यस्तो छैन । कोरोना भाइरस महामारीका कारण लुम्बिनी सुनसान छ ।

गत वर्ष पहिलो चरणको कोरोना भाइरस महामारी कम भएपछि केही दिन खुलेको बुद्ध जन्मस्थल दोस्रो चरणको महामारी सुरु भएपछि फेरी बन्द छ । मायादेवी मन्दिरसहित विकास कोष भित्रका विहारहरू पनि बन्द छन् । कोष बाहिरका होटेल तथा व्यवसाय पनि बन्द छन् ।

कोरोना सङ्क्रमणले गर्दा बुद्ध जयन्ती नजिकिए पनि विकास कोषका पदाधिकारी र कर्मचारीमा कुनै उत्साह छैन । पर्यटन व्यवसायी तथा स्थानीय पनि खुसी छैनन् । कोरोनाकै कारण गत वर्ष पनि बुद्ध जयन्ती मनाइएको थिएन । कोरोनाले गर्दा यस पटक पनि बुद्ध जयन्ती खल्लो हुने भएको छ ।

यस पटक बुद्ध जयन्तीमा लुम्बिनीस्थित विहार, र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकद्वारा मायादेवी मन्दिरमा सामान्य पूजाआजा र दीप प्रज्वलन गर्ने योजना विकास कोषले बनाएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय जगत नै शोकमा भएका कारण बुद्ध जयन्तीमा विशेष कार्यक्रम गर्ने अवस्था नभएकाले दीप प्रज्वलन र वृक्षारोपण गर्ने योजना बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको भनाइ छ ।
‘बाहिरबाट भिडभाड हुँदैन, मायादेवी मन्दिरमा शान्ति प्रार्थना हुन्छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरूको चिर शान्तिको कामना गर्दै प्रार्थना गर्छौ र त्यसलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण र भर्चुअल माध्यमबाट जोड्ने काम हुनेछ ।’ उपाध्यक्ष मेत्तेयले भने । सोही क्रममा विभिन्न देशका प्रमुख तथा प्रतिनिधिले पठाएका सन्देश वाचन गरिने उनले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउँछन् ।

‘जताततै कोरोना महामारीको त्रास छ । यस्तो अवस्थामा कार्यक्रम गर्ने कुरा भएन, कोष भित्रका भिक्षु भिक्षुणी, गुरुआमाको सहभागितामा सामान्य पूजाआजाको योजना बनाएका हौँ’, सदस्य सचिव शाक्यले भने, ‘अर्को वर्ष परिस्थिति सामान्य भए विशेष कार्यक्रम हुने छ ।’ शान्तिका अनुयायी बुद्धको जन्मदिनमा जन्मस्थलमै पूजाआजा नगर्दा नराम्रो सन्देश जाने भएकाले कोषले यस्तो योजना बनाएको जनाएको छ । बुद्ध जयन्तीमा साँझ मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी परिसरमा २५६५ औँ दीप प्रज्वलन गरिने छ ।

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ ।

बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले ईपू। २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । यस पटक यही जेठ १२ गते २५६५ औँ बुद्ध जयन्ती मनाइँदै छ ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गरेको भिक्षु सागर धम्म बताउँछन् ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा लागिएको थियो । छ वर्ष ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रूपमा उहाँले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिनुभएको थियो जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ ।

बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गतक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिनुभएको छ । चार आर्य सत्यमा, संसार दुःखमय छ, दुःखको कारण छ, दुःखको नाश सम्भव छ र दुःख नाशका उपायबारे बुद्ध दर्शनमा व्याख्या गरिएको छ । ‘बुद्ध शिक्षाको प्रमुख आधार दुःख र दुःख मुक्ति हो, यही चार आर्यसत्य नै बुद्धका मूल उपदेशहरू हुन्,’ भिक्षु धम्मले भने।

आर्य अष्टाङ्गतक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्छन् । बौद्ध दर्शनको आधारशिला प्रतीत्यसमुत्पाद हो ।

हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यस सिद्धान्त अनुरूप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ । यस चक्रमा अविद्या (अज्ञानता), संस्कार, विज्ञान (चेतना), नामरूप (मन र शरीर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाती (जन्म) र जरामरण पर्दछन् । यी कडीहरू मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन । दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ ।

यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ । बुद्धले दिनुभएका उपदेशहरूलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन ग्रन्थमा विभाजन गरिएको छ ।


सुत्तपिटक बौद्ध भिक्षुको पहिलो संगिती (सम्मेलन) बाट बुद्धको निर्वाणकालमा नै बुद्धका शिष्य भिक्षु आनन्दद्वारा तयार गरिएको यस पिटकमा बुद्धका उपदेशहरू रहेका छन् । विनयपिटकमा भिक्षुभिक्षुणरुका लागि बनाइएका नियम छन् भने अभिधम्मपिटकमा दार्शनिक विचारहरूको सङ्ग्रह गरिएको छ ।

वि.सं.२००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।

तस्विर : गत वर्ष लुम्बिनीमा बौद्व जागरणद्वारा गरिएको पूजामा खिचिएका हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका