प्रत्येक गोने ङ्ह्या अर्थात् जनैपूर्णिमामा लाग्ने सैलुङ मेला यसवर्ष मंगलबार सम्पन्न भएको छ । समुन्द्र सतहदेखि ३१४५ मीटरको उचाइमा रहेको सैलुङमा सदियौंदेखि पूर्णिमाको अघिल्लो दिन यो मेला लाग्ने गर्दछ ।
मेलामा भक्तजनहरु आफ्ना दिवंगत पितृहरुको सम्झनामा श्रद्वार्पण (ङोवा) का लागि आइपुग्ने गर्दछन् । श्रद्वार्पणका लागि आइपुगेका दुधपोखरीका निमा योञ्जनले आफ्ना स्वर्गीय बुबा ढोन्डुप तामाङको नाममा ङोवा र बत्ती बालेको बताए ।
मेला भर्नका लागि सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका स्थानबाट झाँक्री, लामाहरुसहित आउने गर्दछन् । बोन्बो (झाँक्री) हरु पूर्णिमाको दिन ने (डाँडा) हरुमा पुग्ने गर्छन् । यसैले आजकै दिन पनि झाँक्रीहरु आएका हुन् । यसै पूर्णिमाको अवसरमा नयाँ झाँक्रीहरु भने ७/१५ दिन अगावै ज्ञान आर्जनका लागि गुफा पनि बस्ने गर्दछन् । कृष्णबहादुर कार्की झाँक्रीले भने, ‘प्रत्येक वर्ष सैलुङ मेलामा आउने गरेकोले यो बर्ष पनि आएँ ।’
झाँक्रीहरुको प्रस्तुतिसँग मेलामा आउनेहरुले रमाइलो पनि गर्ने गरिन्छ ।
विशेषतः यहाँ तामाङ फापारे ह्वाइ (तामाङ दोहोरी), मगर गीतहरु गाएर मायाप्रिति साटासाट गरिन्छ ।
मेलामा स्थानीय केरा, आलु, मकै, चौरी छुर्पी, खुर्सानी, पदमचल काँक्रो लगायत कृषि उपजहरु किनबेच भएको छ ।
यस क्षेत्रमा तामाङ, शेर्पा, नेवार, मगर, थामी, क्षेत्री ब्राम्हण, गुरुङ र दलितलगायत जातिको बसोबासको थलो हो ।
तस्विर : दावसाङ्बु शेर्पा