नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजका लागि तय भएको सचिवालय बैठक बिहीबार (भोलि) बस्ने भएको छ । तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताइए पनि पूर्व एमालेको भागमा परेका विभाग र जनवर्गीय संगठनको इन्चार्जमा सहमति जुट्न नसक्दा बैठक स्थगित गरिएको बुझिएको छ ।
मङ्गलबार वालुवाटारमा पूर्व एमालेका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकले आफ्नो भागमा परेका विभाग र जनवर्गीय संगठनको इन्चार्जमा सहमति जुटाउने थियो । तर, जनवर्गीय संगठनको इन्चार्ज अर्थात् व्यक्तिबारे छलफल चल्दै गर्दा अध्यक्ष ओली र नेता नेपालबीचमा विवाद भयो । सोही बिषयलाई लिएर दुई नेता बीच केहीबेर बैठकमा चर्काचर्की नै भयो ।
बैठकमा सहभागि एक नेता भन्छन्, ‘पूर्व एमालेको भागमा परेका विभाग, जनवर्गीय संगठनको इन्चार्जबारे छलफल गर्न प्रधानमन्त्रीले वालुवाटार बोलाउनु भएको थियो । त्यही क्रममा जनवर्गीय संगठनको इन्चार्जलाई लिएर दुई कमरेडबीचमा कुरा मिलेन । केहीबेर चर्काचर्कीनै भयो र छलफल निष्कर्षविहीन बन्यो ।’
बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कसरी जाने भनेर छलफल गर्ने भयो । प्रधानमन्त्रीको सोही निर्णय अनुसार बुधबार अध्यक्षद्वबीच वालुवाटारमा छलफल भएको थियो । छलफल पछि आज (बुधबार) बस्ने भनेको सचिवालय बिहिबारका लागि सारिएको छ । उनी निकट एक नेताले बताए ।
यसैगरी आज (बुधबार) नै पूर्व एमलेका नेताहरु बीच फेरी पनि जनवर्गीय संगठनको इन्चार्जबारे छलफल हुने बताइएको छ ।
नेकपामा ३३ विभाग र २२ जनवर्गीय संगठन छन् । जनवर्गीय संगठनका इन्जार्चमा पूर्व एमाले र पूर्व माओवादी बीच भागबन्डा भएको छ । यस्तै पूर्व एमालेको भागमा १८ र पूर्व माओवादीको भागमा १४ विभागको नेतृत्व गर्ने सहमति यसअघि नै भैसकेको छ ।
तर, स्कुल विभाग कस्को भागमा भन्नेबारे विवाद कायमै छ । स्कुल विभाग कस्ले लिने भन्ने बारेमा अध्यक्षद्वयबीचमा समेत विवाद भएको छ । प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने प्रचण्ड नारायणकाजी श्रेष्ठको हकमा कुरा नमिले अध्यक्षद्वयकै मातहतमा राख्नु पर्ने अडानमा छन् ।
स्कुल विभागको जिम्मेवारी नेता पोखरेललाई दिने वा नदिने भन्ने बारे पूर्व एमालेका नेताहरुबीचमै पनि विवाद छ । वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खानाल स्कुल विभाग नेता पोखरेललाई दिन नहुने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल नेता पोखरेललाई विभाग प्रमुख दिनुपर्ने अडानमा छन् ।