अल बिदा नेपालप्रसाद दाई

काठमाडाैँ

कोभिड—१९ ले तहल्का मच्चाइ रहेको अवस्थामा कोठाभित्रै कैदी बन्नुको विकल्प छैन । समय काट्नको लागि अहिले फेसबुक सबैभन्दा प्रिय मित्र बनेको छ । केही समय यता फेसबुक पनि तस्बिर सहित श्रद्धाञ्जली सन्देश अर्पण गर्ने दुर्सा डाँडा बनेको छ । आफन्तजनको मृत्युको लास अघि मलामी भएर म जीवितै छु भन्ने साक्षी बक्ने अवसर समेत पाएको छैन । नत जन्मेकोमा जसम नै मनाउन पाएको छ । हरेक समय त्रासदीपूर्ण छ । जेठ ८ गते बिहान फेसबुकको सयरमै थिए । भाषाविद् अमृत योञ्जन तामाङले ८ बजेर २ मिनेट जाँदा आफ्नो फेसबुकको भित्तामा सन्देश अद्यावधिक गर्नु भयो, ‘तामाङ साहित्यकार नेपालप्रसाद स्याङ्दनको हिजो राति उपचारको क्रममा देहान्त ! पितृकोमा बास होस् !’ दोर्होर्‍याएर पढेँ । समाचार सही थियो । साहित्यकार खोजराज गोलेलाई सम्पर्क गरे । उहाँले पनि भर्खरै खबर पाएको बताए । केही समय यता अन्य रोगबाट मृत्यु हुने तथ्याङ्कलाई कोभिडका कारण हुने मृत्युको तथ्याङ्कले उछिनेका छन् । यद्यपि नेपालप्रसाद दाई त्यसै मध्येमा पर्नु भएन । उहाँ फोक्सो र अल्सरको समस्याका कारण उपचारको लागि अस्पतालमा भर्ना भएको रहेछ । रोगलाई उहाँले जित्न सक्नु भएन । मृत्युसँग सम्झौता गर्न बाध्य भए ।

नेपालप्रसाद दाइसँग मेरो पहिलो भेट उहाँकै निवास चावाहिल स्थित मैजुहालमा २०७० मा भएको थियो । त्यस बेला उहाँ तामाङ स्रष्टा समाजको अध्यक्ष हुनु हुन्थ्यो । तामाङ भाषा साहित्यलाई संरक्षण र प्रवर्द्धन गर्ने अभियानमा क्रियाशील संस्था समाजले आजको दिन सम्म पनि साहित्यिक गतिविधिलाई अघि बढाइ रहेको छ । भेटको अवसर तामाङ अन्वेषक रवीन्द्र तामाङ र साहित्यकार खोजराज गोलेले जुराएको थियो । भेटको उद्देश्य पुस्तक प्रकाशन सम्बन्धी छलफल थियो । ‘प्रकाशनको लागि कुनै चिन्ता लिनु पर्दैन बरु तपाई आफ्नो काममा लाग्नु’ प्रकाशनको व्ययभार व्यहोर्ने गरी समाजको अध्यक्षको हैसियतले यति भन्नु मेरो लागि सानो कुरा थिएन । त्यसपछि प्रकाशनकै सिलसिलामा उहाँसँग मेरो भेटघाट बाक्लिन थाल्यो । तामाङ भाषा, साहित्य, कला र संस्कृतिका विषयमा निकै गम्भीर मन्थन हुन्थ्यो । भाषालाई असाध्यै माया गर्नु हुन्थ्यो । भाषा साहित्यलाई अब तामाङ युवा पुस्ताले बोक्नुपर्छ भन्ने कुराको सदैव जिकिर गर्नु हुन्थ्यो । कम बोल्ने, सहयोगी भावना र सिर्जनाको लागि प्रेरित गरिरहनु हुन्थ्यो । कुराकानीको विषय नितान्त साहित्य सन्दर्भित हुने भएकोले उहाँको व्यक्तिगत जीवनमा कहिल्यै प्रवेश गरिन । कति सुन्दर सम्बन्ध ! जहाँ कुनै प्रभाव न दबाब । उमेरको हिसाबले पनि उहाँलाई म दाइ भनेर सम्बोधन गर्थे ।

मैले प्रकाशोन्मुख कृतिको अन्तिम स्वरूप तयार पारे । तामाङ स्रष्टा समाज र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तामाङ स्रष्टा र सिर्जनाहरू नामक समीक्षात्मक ग्रन्थ (२०७१) प्रकाशन भयो । २०७१ असार १० गते समाजको नियमित मासिक कार्यक्रममा घेदुङका पूर्व अध्यक्ष एवं लोकत्तोर समूहका अभियन्ता धनप्रसाद तामाङ र तामाङ स्रष्टा समाजको अध्यक्षको हैसियतले नेपालप्रसाद स्याङदनले संयुक्त रूपमा प्रकाशित ग्रन्थको लोकार्पण गरेको दृश्यहरू म स्मरण गर्दछु । म जस्तो मौसमी लेखकलाई सग्लो किताबको भारी बोक्ने आँट र भरोसा दिलाउनु भएकोमा विशेषतः उहाँप्रति जीवनभर कृतज्ञ रहनेछु ।

कविता ‘सङ्ग्रह चेङमा सेमला ताम’ (२०६४) अर्थात् ‘चोखो मनको कुरा’ गर्ने साहित्य अनुरागी नेपालप्रसाद स्याङदनले प्रजातन्त्रलाई सदैब ‘ओन्छयान प्रजातन्त्र !’ (२०६१) अर्थात् ‘कठै प्रजातन्त्र !’ भनेर प्रेम गरिरहे । तर पनि, रक्षकहरूबाटै प्रजातन्त्र हरेक घडी बलात्कृत भई रहे । बलात्कारको चित्कारभित्र धेरैले मृत्युवरण गरी रहेका छन् । प्रजातन्त्रका संरक्षक कथित राजनीतिक दलहरू र सत्ता पक्ष महामारीको यो विकराल अवस्थामा मानवीय सहयोगमा जुट्नुको सट्टा सत्ताको लुछाचुँडीको नाङ्गो ताण्डव देखाइ रहेका छन् । यसले नागरिकको संविधान प्रदत्त बाँच्नको लागि पाउने उपचारको मौलिक हक निलम्बन भएको छ । अझै यो शृङ्खलाले कहिले सम्म निरन्तरता पाउने यसको कुनै टुङ्गो पनि छैन । काव्यिक चेतले भरिपूर्ण प्रेरक व्यक्तित्व नेपालप्रसादले कर्तव्य विनाको अधिकार लिएर सत्तालाई आफ्नो निजी सम्पत्ति ठान्ने नश्लीय शासकको खेदो खन्न कहिल्यै छाडेनन् । जसको साक्षी उहाँका दुई कृति जिउँदो छ ।

उहाँलाई मैले अन्तिम पटक पोहोर साल बैङ्कमा भउज्युसँग भेटेको थिए । खासै लामो कुराकानी भएन । त्यो नै भौतिक रूपमा अन्तिम भेट हुन पुग्यो । अन्तमा उहाँको अवसानको दुखद घडीमा उहाँकै सिर्जनाको यो अंश समर्पण गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । अल बिदा नेपालप्रसाद दाई । 

बेसहारालाई सहारा दिनु पनि                                                        धोको फेरेर हाँस्न पनि सकिन्न 

मानवतावादीलाई गुहार्नु पर्दाेरैछ                                                  डाँको छोडेर पनि रुन पनि सकिन्न 

बाँच्नलाई संघर्ष गर्दागर्दै                                                                  (चेङमा सेमला ताम : पेज ३०) 

भोक भोकै तड्पिएर मर्नु पर्दो रहेछ ।

(चेङमा सेमला ताम : पेज ३८)

तपाईको प्रतिक्रिया