बौद्धकालीन सम्पदाको अन्वेषण जरुरी : मुख्यमन्त्री पोखरेल

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
63 Shares
रुपन्देही

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बौद्धकालीन सम्पदाको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताएको छ । आज २५६५औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उनले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलहरूको अवस्थाका बारेमा जानकारी हुन सकेकाले माटोमुनि दबिएर रहेका ती सम्पदा स्थलको अन्वेषण गरी संरक्षित गर्नु आवश्यक छ, भने ।

बुद्धकालीन सम्पदाका रूपमा रहेका ऐतिहासिक स्थलहरू तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोटलगायतका स्थलको खोज, अनुसन्धान तथा पर्यटकीय हिसाबले ती क्षेत्रको विकास जरुरी रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले बौद्ध सम्पदा स्थलको खोज र अनुसन्धानका लागि काम अघि बढेको जानकारी गराउँदै उनले यी महत्त्वपूर्ण सम्पदा स्थलमा पूर्वाधार तयार गरी पर्यटन प्रवर्द्धनका लागि बृहत्तर ढङ्गले काम अघि बढाउनुपर्ने जनाए । ‘पर्यटन प्रवर्द्धनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामी योजनाबद्ध रूपले अघि बढिरहेका छौँ’, मुख्यमन्त्री पोखरेलले उल्लेख गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको जोखिमका कारण बुद्ध जयन्तीमा लुम्बिनीमा औपचारिक कार्यक्रम आयोजना नगरिएको जानकारी गराए । ‘आजभन्दा २५६५ वर्षअघि अर्थात् इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदूत छन् । मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारसहित गृह त्याग गर्नुभयो’, शुभकामना सन्देशमा भनिएको छ ।

हिंसा र दुःखको कारण तथा समाधानको उपायको खोजीमा गृह त्याग गरिएको सिद्धार्थ गौतम बुद्धले भ्रातृत्व र मानव कल्याणका लागि समाजलाई महान् दार्शनिक विचारबाट दीक्षित गरिएको र मानिसलाई सत्कर्मको बाटोमा हिँडाउन सफल हुनुभएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धका उपदेशहरू आज बुद्ध दर्शनका रूपमा स्थापित भएको बताए । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएका उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया