गीतकार, कवि एवं कथाकार उषा शेरचनको आधि उपन्यास मङ्गलबार राजधानीस्थित एलिस रिसेप्सनमा सार्वजनीक भएको हो ।
वरिष्ठ साहित्यकार एवम् चलचित्रकर्मी चेतन कार्की, साहित्यकार पद्मावती सिंह, उपन्यासकार शेरचन र कुमारी लामाले संयुक्तरूपमा सार्वजनिक गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि चेतन कार्कीले शेरचनको साहित्यिक विशेषता र योगदानका बारेमा चर्चा गरे । शेरचनले यस उपन्यासमा नाताभित्रै हुने करणी (बलात्कार) को कथा बुनेकी उल्लेख गरे ।
सोही कार्यक्रममा गुञ्जनकी अध्यक्ष पद्मावति सिंहले शेरचनको लेखनको प्रकृति, प्रवृत्ति र विशेषताबारे चर्चा गरिन् । `यो उपन्यास नयाँ सोच र सामाजिक रूपान्तरणका पक्षधर नेपाली समाजको आवाज हो ।´ उनले भनिन् ।
निबन्धकार एवम् समीक्षक कुमारी लामाले आधि उपन्यास महिलामाथि हुने यौनजन्य हिंसाको सग्लो तस्बिर भएको बताइन् । २ सय पृष्ठ हाराहारीको सो उपन्यास बुक हिल पब्लिकेशनले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ४०० रुपैयाँ रहेको छ। शेरचनको यसअघि पहिलो नजन्मेका आस्थाहरु (कविता-सङग्रह), अक्षरहरुका शिविरबाट (मुक्तक सङ्ग्रह) प्रकाशित भइसकेका छन् ।