बोनम्यारो बिरामीको सहयोगार्थ नेपाली चलचित्र `सायाबुङ´को च्यारेटी शो साउदी अरबमा गरेको छ ।
चलचित्र मंगलबार पूर्वी क्षेत्रको खोबारस्थित क्लासिक रेस्टुरेन्टमा च्यारेटी शो सम्पन्न गरेको हो । किराँती संस्कृतिमा आधारित नेपाली भाषी `सायाबुङ´ को च्यारेटी शोलाई किराँत राई यायोक्खा शाखा साउदीको आयोजनामा सम्पन्न गरेका हुन् ।
भारतको नयाँ दिल्लीस्थित राजिब गान्धी क्यान्सर ईन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा बोन म्यारो ट्रान्सप्लान्टका लागि कुरी रहेकी उदयपुर त्रीयुगा नगरपालिका-१० शान्ति राईकी सहयोगार्थ चलचित्रलाई प्रदर्शन गरिएको हो । मुस्लिम धर्मावलम्बीहरुको चाड बकर ईदको अवसर पारेर गरिएको च्यारेटी शोलाई २ सयको हाराहारी उपस्थित रहेका दर्शकहरुले हेरेका थिए ।
साउदी अरबको इतिहासमा पहिलोपटक नेपाली चलचित्र च्यारिटी शो को रेकर्ड समेत `सायाबुङ`ले राखेको छ । चलचित्रका सहनिर्माता तथा व्यवसायी श्री यावा लिम्बुले शोका लागि सहकार्य गरेका थिए ।
आयोजक किराया साउदीका महासचिव सोनाम माङ्गपहाङ्ग राईले `सायाबुङ´ साउदीमा च्यारेटी गर्नका लागि दूतावाससँग स्वीकृत लिएको जानकारी दिए । महासचिव माङ्गपहाङ्गले बोनम्यारो शान्ति राईकी सहयोगार्थ चलचित्रको शो गर्ने लागेको बताउदै `सायाबुङ´को व्यानार देखाएका थिए । चलचित्रको शो हुनुअघि बिरामीको फोटोहरु, मेडिकल रिपोर्ट, आर्थिक सहयोगको लागि वडा कार्यालयको सिफारिस र चलचित्रको `ट्रेलर´को साथमा चलचित्र निर्मात्री तथा नायिका साया बान्तवा लिम्बुले धन्यवाद दिएकी भिडियो क्लिप देखाएका थिए ।
चलचित्र साउदीमा व्यवसायिक लागि नभए बिरामीको सहयोगार्थ र किराँतीहरुको कला, संस्कृति, भेषाभुषा लगायतको प्रवर्द्धन तथा सम्बर्द्धनका लागि च्यारेटी गरेको किराँत राई यायोक्खा साउदीका कार्यबाहक अध्यक्ष सिके चाम्लिङले बताए । सिकेका अनुसार चलचित्रको शो को लागत खर्च कटाई बाँकी बिरामी र निर्माता टोलीलाई बराबर दिने छन् ।
पाँचथरको विभिन्न स्थानमा छायांकन गरिएको `सायाबुङ´ दि पाल्मा ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएका हुन् । चलचित्रका संगीतकार धनु ज्ञाङ्मी मगर रहेको छ । त्यसैगरी छायांकन र सम्पादन देवजङ्ग थापाले समालेका छन् ।
भोगिराज राईको निर्देशन रहेको चलचित्रमा सौजन सुब्बा, निशा दुमी राई, सगुन सुसारा, साया बान्तवा राई, मदन दुमी राई लगायतका कलाकारहरुको अभिनय रहेका छन् । भक्त सुनुवार र उदय नेम्बाङ लिम्बुको संगीतमा दिपा लामा, दिपक लिम्बु र रजिना रिमालले आवाज दिएको छ ।
नेपालको विभिन्न ठाउँबाट रोजगारीका लागि साउदी अरब आइपुगेका किराँतीहरुले सन २०१७ मा किराँत राई यायोक्खा शाखा साउदीको स्थापना गरी भाषा, संस्कृति,भेषाभुषा, लिपि लगायतका संरक्षण र सम्बर्द्धनमा लागेका छन् ।