(कोभिड-१९ बाट नागरिक त्रसित भइरहेको यो समयमा आँखामा म्युकोर्माइकोसिस अर्थात् ढुसीहरूको समस्याबाट पनि नागरिक त्रसित भएका छन् । भारतमा कोभिड-१९ लागेको बिरामीमा यस्ता समस्या देखिन थाले पछि नेपालमा पनि त्रास बढेको हो । कालो-सेतो ढुसी अर्थात् (ब्ल्याक एन्ड ह्राइट फङ्गस) नेपालको लागि नयाँ हो ? ब्ल्याक एन्ड ह्राइट फङ्गसले आँखामा कस्ता समस्या निम्त्याउँछ त ? आँखामा देखिने लक्षण उपचार र रोकथामको विषयमा तिलगंगाा आँखा अस्पतालका अकुलो प्लास्टिक सर्जन डाक्टर वेन लिम्बुसँग सञ्चारकर्मी अञ्जु तामाङले गरेका कुराकानी)
भारत हुँर्दै नेपालमा पनि देखिएको ब्ल्याक एन्ड हृाइट फङ्गस अर्थात् कालो सेतो ढुसी कस्तो खालको रोग हो ?
ब्ल्याक एन्ड हृाइट फङ्गस दुबै ढुसीका प्रकार हुन् । ढुसीका समस्या मानव स्वास्थ्यमा देखिनु नयाँ र नौलो कुरा होइन । नागरिकलाई मैले जानकारी गराउँदा फङ्गसको समस्या धेरै पहिला देखिनै नेपालमा पनि देखिँदै आइरहेको छ ।
यो कुनै नयाँ रोग नभएको हुँदा नागरिकलाई नआत्तिन मेरो आग्रह छ । यो हात, छाला, नङ र आँखाको नानीमा पहिला पनि देखिरहेको समस्या हो । कोभिड–१९ देखिएको बिरामीमा पनि यो समस्या देखिएको हुँदा अहिले चासोको विषय बनेको हो । सचेत हुनु पनि राम्रो कुरा हो ।
ढुसी ब्याग्टेरियाहरु पत्ता लाग्दा नै सयौँ वर्ष पहिला पत्ता लागेको कीटाणु हो । नेपालमा पनि यदाकदा एक दुई जनामा देखिरहेको रोग हो । अहिले भारतमा यो रोगको प्रभाव धेरै देखिए पछि चासोको विषय बनेको हो ।
नेपालमा कोभिड–१९ का दुईचार जना बिरामीहरूमा कालो ढुसी देखिएको भन्ने कुरा छ । कोभिड–१९ भन्दा पनि पहिला यस्ता खालको बिरामीहरू कमै मात्रामा अस्पताल आएको पाएको छु ।
कोभिड–१९ भएको बिरामीको आँखामा कालो अथवा सेतो ढुसी देखिनुको कारण बिरामीको रोग प्रतिरोधात्मक क्षमता कम भएर हो । यो समयमा भाइरस–फङ्गसहरूले पनि आक्रमण गर्न सक्ने भएको हुँदा कोभिड–१९ का बिरामीको आँखामा ढुसी देखिएको हो ।
कोभिडमा कालो ढुसी छिर्नु नयाँ चुनौती हो । पहिला कालो ढुसी मात्रै थियो भने अहिले कोभिड–१९ र कालो ढुसी नयाँ अनुसन्धान जारी छ ।
ब्ल्याक एन्ड हृाइट फङ्गस अर्थात् कालो सेतो ढुसीको समस्या सबै व्यक्तिलाई हुन्छ कि निश्चित उमेर समूहको व्यक्तिलाई हुन्छ ?
ह्राइट फङ्गस सुगर भएको व्यक्तिमा लाग्ने सम्भावना धेरै हुन्छ । जस्तै आइरन सामान्य अवस्थामा प्रोटिनसँग बाँधिएर बसेको हुन्छ । जब सुगर हाई हुन्छ अनि आइरन रगतमा बसिरहेको हुन्छ । ढुसीले पनि आइरनलाई बढी मात्रामा मन पराउने भएको हुँदा सुगरको बिरामीलाई सामान्य व्यक्तिलाई भन्दा बढी नै ढुसीको समस्या हुनसक्छ ।
दिर्घरोगी लामो समयसम्म औषधि सेवन गर्ने व्यक्तिहरूमा पनि ढुसीले आक्रमण गर्न सक्छ । क्यान्सर, मिर्गौला फेरेका व्यक्ति, एचआइभी सङ्क्रमितलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । यस्ता व्यक्तिहरूले धेरै ख्याल गर्नुपर्ने हुन्छ । कोभिड–१९ लागेको सामान्य व्यक्तिलाई फङ्गसले असर गर्दैन ।
रोगसँग लड्ने क्षमता हुँदा नै कालो ढुसी हाम्रा नाक छालामा बसिरहेको हुन्छ तर असर गर्दैन । जब मान्छेको रोगसँग लड्न सक्ने क्षमता कम हुँदै जान्छ अनि मात्रै यो रोगले आक्रमण गर्ने हो ।
यस्ता फङ्गसले आँखामा ल्याउने समस्याहरू केके हुन् ?
सुरुमा आँखा रातो हुने, एउटा बस्तुलाई दुइटा देख्ने , धेरै सुन्निने र आँखा नै बाहिर निस्कने खालको समस्याहरू हुन्छन् ।
नेपालमा उपचारको सम्भावना कस्तो छ ?
आँखा सुन्निँदा नै अस्पताल आउन सक्यो भने केही उपचारहरू छन् । आँखामा मात्रै समस्या हो भने उपचार लाग्न सक्छ । आँखा निकालेर पनि उपचार गर्न सक्छौँ । तर आँखाबाट ब्रेनमा जाने भएको हुँदा ढुसीले भेटिएको बिरामीलाई बचाउन सक्ने सम्भावना कम हुन्छ । ब्रेनमा पुगेपछि सय जनामा ६० जना बाच्ने ४० जना मर्न सक्ने सम्भावना हुन्छ । ढुसी ब्रेन मानै पुगिसकेको छ भने बिरामीलाई बचाउन ६० प्रतिशत मात्रै सम्भावना छ भनेर हामीले भनिसकेका हुन्छौँ ।
नेपालमा आँखाको उपचार राम्रो छ भन्छन् ढुसीले पार्ने समस्या चाहिँ समाधान गर्न नसकिने हो ?
फङ्गसहरूले पार्ने समस्याको उपचारको बारेमा मैले भन्नुपर्दा नेपालमा मात्रै होइन धेरै विकसित देशहरूले पनि निको पार्न सक्ने अवस्था छैन । फङ्गसहरूले निम्त्याउने समस्या विश्वमा नै खतरा रोग हो । युरोपमा ब्ल्याक फङ्गस किन कम देखियो भने त्यहाँको स्वास्थ्य अवस्था, सरसफाइ राम्रो भएको हुँदा समस्या कम देखिएको हो । अक्सिजन लिएपछि पानी परिवर्तन गर्ने र सफा गर्नुपर्छ । स्वस्थ खानपान छ । यस्ता सामान्य कारणलाई पनि ख्याल नगर्दा फङ्गसहरूले समस्या दिने हो । यस्ता कुरालाई ध्यान दिन जरुरी हुन्छ । साथै कोभिड–१९ लागेको बिरामीको रोग प्रतिरोधात्मक क्षमता कम भएको हुँदा त्यस्ता व्यक्तिहरूमा पनि अहिले देखिएको हो ।
नेपालमा पनि पोरहाईजिङ भएको समुदायको व्यक्तिहरूमा फङ्गसको समस्या नहोला भन्न सकिन्न । पर्याप्त मात्रामा खानपान नभएको समुदायका व्यक्तिहरूमा पनि समस्या आउन सक्छन् । यस्तै कोभिड –१९ का बिरामीले स्पेरोइड (spheroid) नामक औषधि खानुपर्छ । औषधिको लिमिट हुन्छ तर राम्रो हुन्छ अथवा अलिकति गाह्रो हुने बित्तिकै बिरामी आफैले औषधिको जथाभाबी गलत प्रयोग गर्ने हुँदा त्यस्ता बिरामीलाई पनि समस्या देखिने सम्भावना हुन्छ ।
फङ्गसले आँखा र नाकको हड्डीलाई समस्या पुर्याएपछि ब्रेनमा जाने भएको हुँदा धेरै नै सचेत हुन जरुरी देखिन्छ । कोभिड–१९ निको भएको २ देखि ३ हप्ता भित्रमा यस्तो समस्या देखिन्छ । त्यो समयमा रोगसँग लड्ने क्षमता कम भएको मौकामा ढुसीले आक्रमण गर्ने हो ।
यो रोगबाट बच्नको लागि के गर्नुपर्छ ?
कोभिड लागेपछि ढुसीको समस्या देखियो की भनेर धेरैले मलाई आत्तिदै सोध्नु भएको छ । मैले माथि जानकारी गराएको लक्षणहरू तपाईँमा छ या त नाकबाट रगत बग्ने, नाक बन्द हुने र टाउको दुख्ने जस्ता समस्याहरू छन् भने सम्बन्धित चिकित्सकसँग बुझ्ने अथवा अस्पताल जाँदा राम्रो हुन्छ । नत्र तपाईँमा यस्तो खालका लक्षण तथा समस्याहरू देखिएको छैन भने यो तनाव लिनलाई आवश्यक छैन ।
साथै ढुसी फोक्सोमा छिरेको खण्डमा श्वासप्रश्वासमा गाह्रो हुने, घाटी दुख्ने समस्या हुन्छ । यो रोगले एकदम छिटो बिरामीलाई गलाउँछ । नेपालमा धेरै मात्रामा नदेखे पनि समस्या आउन नदिनको लागि पूर्व तयारीमा बस्न जरुरी हुन्छ । नागरिकलाई विभिन्न माध्यमबाट जनचेतना जगाउनुपर्छ ।
साथै स्वास्थ्यकर्मी होस या नागरिक हामी आफैले पनि व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । कोभिड–१९ का बिरामीले प्रयोग गर्ने अक्सिजनमा प्रयोग हुने पानी, माक्स राम्रोसँग सफा गरेर पुन प्रयोग गर्नुपर्छ । धेरै पटक प्रयोग गरेको पानीमा पनि ढुसी हुने भएको हुँदा बिरामी अथवा स्वास्थ्यकर्मी आफैले पनि यो कुरामा ध्यानमा राख्नुपर्छ । फङ्गसले आँखा र नाकको हड्डीलाई समस्या पुर्याएपछि ब्रेनमा जाने भएको हुँदा धेरै नै सचेत हुन जरुरी देखिन्छ ।
मधुमेहको बिरामीलाई कोभिड–१९ भएको छ भने सुगरको मात्रा नियन्त्रण गर्न एकदमै जरुरी छ ।
आँखामा ढुसीको समस्या देखियो भने नेपालको सबै आँखा अस्पतालमा उपचार सम्भव छ ?
उपचार पनि ढुसीले आँखामा कति असर गरेको छ । रोग कुन अवस्थामा पुगेको छ त्यो कुरामा भर पर्छ । मैले बुझे अनुसार अहिले काठमाडौँमा ढुसीले आँखामा समस्या पारेपछि उपचारमा प्रयोग गरिने एम्फोटेरिसिन–बी (amphotericin–B) औषधिको अभाव छ । सम्बन्धित निकायलाई यो औषधि झिकाउनको लागि पनि मेरो आग्रह छ । अहिले एक दुई जनामा समस्या देखिएको भन्नमा आएको छ भोलि बिरामीको सङख्या बढेको अवस्थामा औषधिको अभाव हुँदा उपचारमा गाह्रो हुन सक्छ ।
काठमाडौँ, विराटनगर, भैरहवा, पश्चिमको गेटा आँखा अस्पतालमा पनि उपचार सम्भव छ । फङ्गसको बिरामीलाई उपचारको लागि नाक, कान घाँटी, टाउको सम्बन्धी चिकित्सकको ठूलो भूमिका हुन्छ । साथै आँखा, न्यूरोसर्जन चिकित्सकको सहकार्यमा बिरामीको उपचार गर्नुपर्छ । नाक हुँदै फङ्गस ब्रेनसम्म पुग्ने भएको हुँदा नाक बन्द हुन्छ र टाउको दुखिरहन्छ भने सम्बन्धी चिकित्सकलार्इ देखाउनु राम्रो हुन्छ ।
सानो समस्या हुँदा धेरै भन्दा धेरै आत्तिने गरेको पाइन्छ यति धेरै पनि त्रसित हुन जरुरी छैन । कोभिडमा कालो ढुसी छिर्नु नयाँ चुनौती हो । पहिला कालो ढुसी मात्रै थियो भने अहिले कोभिड–१९ र कालो ढुसी नयाँ अनुसन्धान जारी छ । भोलि नयाँ उपचारहरू आउन सक्ने हामीले आश गरौँ । धेरै त्रसित नभई आशावादी बनेर धैर्य धारण गर्नुहुन नागरिकलाई मेरो अनुरोध छ ।