‘सिल’अवधि लम्ब्याउँदै स्थानीय तह

काभ्रेपलान्चोक

यही जेठ ४ गतेदेखि चार दिन नगर–क्षेत्र ‘सिल’गरेको बनेपा नगरपालिकाले पुनः चार दिन अवधि थप्यो । बनेपाले पछिल्ला दिन जिल्लामै सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमण दर देखिएपछि गत बुधबार सिलको अवधि दोस्रो पटक पाँच दिन लम्ब्याएको छ ।

जेठ ७ गते पाँच दिन नगर क्षेत्र सिल गरेको धुलिखेल नगरपालिकाले एकै पटक पुनः १० दिन सिलको अवधि थप्यो । जेठ ८ गतेदेखि चार दिन सिल गरेको पनौती नगरपालिकाले पाँच दिन सिल–अवधि थपेको छ । नमोबुद्ध नगर र रोशी गाउँपालिकाले दोस्रो पटक सात दिन सिलको अवधि थपेका छन् । ‘सङ्क्रमण दर बढिरहेकाले सिल–अवधि दोस्रो पटक लम्ब्याउनुपर्‍यो, हाल सङ्क्रमण दर केही घटेको छ, थप सिलबारे छल गर्नेछौँ’, बनेपाका नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भने ।

उनका अनुसार हाल नगरमा थप कडाइ गरिएको छ । नगरपालिकाले मर्निङ–वाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख सहर हो । बनेपामा हाल ५२१ सक्रिय सङ्क्रमित छन् भने २१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

नमोबुद्धले पनि थप गरेको सातदिने नगर क्षेत्रको सिल अवधि जारी छ । पाँचखालले भने जेठ ८ गतेदेखि एकै पटक १५ दिन नगर सिल गरेको छ । उसले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाएको छ ।

मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्र रूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यक सेवाबाहेक गत बुधबार एकै पटक १० दिन नगर क्षेत्र सिल गर्‍यो । बेथानचोक गाउँपालिकाको छदिने र भुम्लु गाउँपालिकाको पाँचदिने सिल अवधि जारी छ ।

भुम्लुका अध्यक्ष गुमानध्वज कुँवरले पछिल्ला केही दिनदेखि कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएपछि गाउँपालिका क्षेत्र सिल गर्नुपरेको उल्लेख गर्दै सिल–अवधि थप्नेबारे छलफल भइरहेको बताए । कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै हाल जिल्लाका आठ स्थानीय तहको सिल जारी अवस्थामा रहेको छ । सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवावाहक सबै पूर्णरुपमा बन्द गरेको जनाएका हुन् ।

साथै सिल गरिएका स्थानीय तहले फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवा प्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।


जिल्ला प्रशासन कार्यालयले पनि बुधवारदेखि दोस्रो पटक एकै पटक जिल्लामा दश दिन निषेधाज्ञा थपेको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

यसैबिच पछिल्लो २४ घण्टामा जिल्लामा २१४ मा कोरोना सङ्क्रमण पुष्टि भयो । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसिएमसी०का अनुसार पछिल्लो २४ घण्टामा १९७ सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता जिल्लामा हाल दुई हजार ५९९ सक्रिय सङ्क्रमित छन् । जिल्लामा सबैभन्दा बढी बनेपामा २० प्रतिशत अर्थात् ५२१ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा ४५६, पनौतीमा ३२४, पाँचखालमा ३५०, नमोबुद्धमा १४८ र मण्डनदेउपुरमा २०९ सक्रिय सङ्क्रमित छन् ।

यस्तै रोशीमा १२५, चौँरीदेउरालीमा ६१, तेमालमा ९८, भुम्लुमा १२७, खानीखोलामा २१, बेथानचोकमा १२९ र महाभारत गाउँपालिका ३० सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् दुई हजार ४७७ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १२१ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका