नेपालको राजनीतिमा पहिचानको सवाल

काठमाडाैँ

विश्वव्यापी कोभिड–१९ महामारीको दोस्रो लहरको कारण सामाजिक क्रियाकलापहरू भएको अवस्थामा सायद यहाँ पेसा व्यवसायहरू केही फुर्सदिला भएका छन् । हालै हस्पिटलबाट घर तर्फ हिंडदै आउने क्रममा पाँच सात जना ट्याक्सी व्यवसायीहरू फुर्सदिलो पाराले गफगाफ गरिरहेका देखिन्थे र उनीहरू फलाना पार्टी र देशको राजनीति यस्तो र उस्तो भनेर गफ गरिरहेका सुनिन्थे । सँगै बसेर गफ गर्ने मेरो समय र सन्दर्भ थिएन, फटाफट आफ्नो बाटो लागेँ तर मेरो मनमा भने राजनीतिको समाजमा पर्ने प्रभावका एक पछि अर्का परिदृश्यहरू खेलिरहे ।

सायद राजनीतिको सर्वव्यापीकरणबारे उल्लेख गर्नुपर्दैन । नेपाल जस्तो कम विकसित देश जहाँ ठूलाठूला विश्वव्यापी व्यापार व्यवसायहरू छैनन्, विचारधाराहरू निर्माण गर्न सक्ने बिश्वबिध्यालयहरु छैनन् र विश्वलाई चकित पार्ने ज्ञान र विज्ञानको अध्ययन र अनुसन्धानहरु छैनन् छ त केवल जिउने र रोजीरोटीको सवाल, अनि एक कदम अघि राजनीतिको सवाल । नेपाल जस्तो अति कम विकसित देशमा राजनीतिको स्तर र नैतिकता जस्तोसुकै भए पनि यसको असर समाजको प्रत्येक तहसम्म नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुगेको छ । त्यसो त धेरै शताब्दी अघि नै प्रख्यात दार्शनिकहरूले Man is a po।itica। anima। ”, Po।itics is the master science ” – Aristot।e, भनेर मानव समाजमा राजनीतिको महत्त्वबारे प्रस्टैसँग उल्लेख गरिसकेका छन् । नोबेल पुरस्कार विजेता प्रख्यात पोलिस साहित्यकार (writer) O।ga Tokarczuk को भनाई “In today’s wor।d everything is po।itica।. We are a statement – our c।othes, haircut, the way we act”. बाट आधुनिक मानव समाज र  राजनीति बारे बुझ्न अझ सजिलो हुन्छ ।

राजनीतिलाई राज्य-सरकार सञ्चालन गर्ने कला र विज्ञान हो भनेर पनि परिभाषित गरिएको छ तर यसको मापदण्ड र नैतिकता कतै पनि परिभाषित गरिएको छैन । ठाउँ समय र परिवेशअनुसार परिभाषित हुने भएकोले होला सायद गाउँमा गाउँ-स्थानीयस्तरको र देशमा देशस्तरको राजनीति हुने गर्दछ । राजनीतिका उत्पादित शब्दावलीहरू; स्थानीय-क्षेत्रीय राजनीति, राष्ट्रिय-अन्तराष्ट्रिय राजनीति अनि साथसाथै चतुर राजनीति, फोहोरी राजनीति आदि जनजिब्रोमा अभ्यस्त भइसकेकाछन् ।

राज्यको बहुसंख्यामा रहेर पनि यहाँका आदिवासी, जनजाति, थारु र मधेसी लगायतले आफ्नो मौलिक र सांस्कृतिक चाडपर्वहरूमा राज्यस्तरको सार्वजनिक सरकारी बिदा घोषणा गरोस् भनेर राज्यको निगाह पाउन निवेदन दिनुपर्ने अवस्था छ ।

नेपालमा थुप्रै राजनैतिक र शासन प्रणालीहरू प्रयोगमा आइसकेका छन् । इतिहासको क्रमसँगै जहानियाँ शासन प्रणाली, एकात्मक हिन्दु राजतन्त्र हुँदै वर्तमान धर्म निरपेक्ष सङ्घीय गणतन्त्रात्मक बहुदलीय शासन प्रणालीसम्म आइपुग्दा प्रत्येक सचेत नेपाली नागरिकले नेपालको राजनैतिक इतिहासलाई स्वतःस्फूर्त रूपमा आत्मसात् गरिरहेको देखिन्छ । बहुदलीय पार्टीगत राजनैतिक शासन पद्धतिको कारण प्रत्येक नेपाली नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पार्टीगत भागबन्डाको राजनीतिमा अल्झिएका छन् । समाजको तह तह सम्म पार्टीगत राजनीतिको असर देखिन्छ । सुशासन र देशको सम्वृद्धि जेसुकै होस, जीवनयापन सजिलो बनाउन आज प्रत्येक नेपाली नागरिकलाई कुनै एक पार्टीको राजनीतिमा समाहित हुनु पर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । देश र समाज बन्ने धेरै टाढाको कुरा भयो तर राजनीतिले टाठा बाटा व्यक्तिहरूको जीवन बनेको छ । अर्को अर्थमा भन्ने हो भने नेपाली नागरिकले कुनै पद पाउन कुनै पार्टीमा समाहित हुन जरुरी भइसकेको छ, ता कि राजनैतिक भागवण्डामा पर्न सकियोस् । अनेकतामा एकता भएको; जाती, भाषा र संस्कृतिले विविधता युक्त नेपालमा आज भागबन्डाको राजनीतिले गर्दा समाज पुरै विश्रृंखलित हुन पुगेको छ । उत्कृष्ट मानवीय गुण, सामाजिक न्याय र राजनीतिको सुन्दरता छिन्न भिन्न भएको छ । स्वार्थी र अदूरदर्शी राजनीतिका कारण विद्वता पुरै निकम्मा भएको छ ।  बौद्धिक जगत् आफ्नो दुनो सोझ्याउन पार्टी र नेताको प्रशंसा र चाकडी गर्न बाध्य छ, समाजका टाठा बाठाहरूले पार्टीगत राजनीतिलाई भजाएर आफ्नो स्वार्थ पुरा गर्ने कुरा त साधारण भइसक्यो ।

नेपालको भौगोलिक बनावट मात्र होइन, यहाँको जातीय, भाषिक, सांस्कृतिक र धार्मिक संरचना पनि विविधता युक्त छ । यस अर्थमा बहुदलीय राजनैतिक प्रणाली अपनाएको धर्मनिरपेक्ष सङ्घीय गणतन्त्र नेपालको सामाजिक संरचना पनि जाती, भाषा, संस्कृति, धर्म र सभ्यताको आधारमा विविधता युक्त छ । देशको विकास र संवृद्धि हुन नसके पनि नेपालमा विभिन्न राजनैतिक प्रणालीहरू प्रयोग भइसकेका छन् । वर्तमान धर्मनिरपेक्ष सङ्घीय गणतन्त्र सम्म आइपुग्दा पनि नेपाल जस्तो बहुजाती, बहुभाषा र बहुसंस्कृतिले सम्पन्न राष्ट्रमा एकात्मक राजतन्त्रात्मक पंचायती प्रणालीमा अवलम्बन भएको एक जाती, एक भाषा र एक धर्मको सारमा वास्तविक परिवर्तन भएको छैन । पञ्चायत कालमा लगाइने नारा ‘ हाम्रो राजा, हाम्रो देश, हाम्रो भाषा, हाम्रो भेष ’ मा मात्र ‘ हाम्रो राजा ’ छैन तर हाम्रो देश, हाम्रो भाषा र हाम्रो भेष सार रूपमा उही नै छ, यसले नेपाल राष्ट्रको विविधतालाई प्रतिनिधित्व गर्न सकेको छैन । नेपालको इतिहासमा निरन्तर रूपमा आर्य एकल जातीय; भाषिक, सांस्कृतिक, धार्मिक र राजनैतिक प्रभुत्व (।inguistic, cu।tura।, re।igious and po।itica। hegemony) को कारण अझै पनि नेपालमा पञ्चायतकालीन एक जाती, एक भाषा, एक भेष र एक धर्मका अवयवहरू विद्यमान छन् । यस देशमा बहुसंख्यामा (major bu।k) रहेका आदिवासी, जनजाति, थारु र मधेसी आदिको मौलिक पहिचान राज्यको मूलधारमा प्रतिबिम्बित हुन सकेको छैन ।

सबै अल्पसङ्ख्यक जातीहरूको सम्मिश्रणले बनेको नेपालमा राज्य संयन्त्रको सम्पूर्ण अङ्गहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, सञ्चार जगत्, कर्मचारीतन्त्र साथै पेसागत र सामाजिक सञ्जालहरूमा केवल एकल जातीय पकड छ । स्वाभाविक रूपमा राज्य भित्र रहेका तमाम विद्यालय, विश्वविद्यालय आदि शैक्षिक संस्थाहरू राज्यमा पकड हुने वर्चस्वशाली समूहको हित, पहिचान र अनुकूलतामा सञ्चालित हुन्छन् । राज्यको चौथो अङ्ग मानिने सञ्चार जगत् राज्यकै नियन्त्रणमा हुन्छ र यसले शासकीय शक्तिलाई टिकाउन नै भूमिका खेलिरहेको हुन्छ । वर्चस्वशाली समुदायको पहिचान स्थापना गर्नमा सञ्चार जगतको महत्त्वपूर्ण भूमिका हुन्छ । राज्यमा पहुँच भएको वर्चस्वशाली समुदायको पकडमा रहेको मिडियाको प्रचारप्रसारको कारण आदिवासी, जनजाति, मधेसी आदि पनि राज्यद्वारा नियन्त्रित मिडियाहरूमा आकर्षित भइरहेका हुन्छन्, फल स्वरूप आदिवासी, जनजाति आदि लगायतको मुद्धाहरु उठान गर्ने मिडियाहरू ओझेलमा पर्न पुग्छन् । राज्य सञ्चालित मिडिया यति पूर्वाग्रही (bias) हुन्छन् कि एउटा बाख्राले तीन वटा पाठा पाएको कुरालाई समाचार बनाउँछन् तर आदिवासी, जनजाति आदिको आवाजलाई समावेश गर्न चाहँदैनन् । सायद वर्तमान नेपालको राज्य संयन्त्र र मिडियाको प्रभावले होला हालसालै एक जना मित्रले भने– आदिवासी, जनजातिहरू बिद्धान छन्, विकास गर्न सक्ने क्षमता र सोच भएका छन् तर नेतृत्व गर्न सक्ने क्षमता भएका छैनन् ।

लेखसँग सान्दभिक लागेर राखिएको तस्विर । सरकारले आदिवासी जनजातिको चाडपर्वहरुको बिदा कटाैती गरेपछिका आन्दोलन  ।

कुशल नेतृत्व र सुशासन बेगर क्षमताले मात्र समग्र राष्ट्रको विकास हुन सक्दैनन् । समग्र राष्ट्रको नेतृत्व गर्ने पथ प्रदर्शक भनेको राजनीति नै हो । बौद्धिकता, दक्षता र ज्ञानमा कुनै कमी नभएपनि नेपालका आदिवासी, जनजाति बौद्धिक वर्ग खस-आर्य बौद्धिक वर्गको तुलनामा राजनैतिक र आफ्नो मौलिक पहिचानको चेतनाको सवालमा धेरै पछि छन् । राज्य सत्ता र राज्यको प्रभावको कारण हो वा संस्कार र संस्कृतिको प्रभाव हो, यो एक गम्भीर अध्ययनको विषय हो । समाजका केही टाठाबाठा हुँ भन्ने आदिवासी, जनजातिहरू विभिन्न पार्टीहरूमा आबद्ध हुनु स्वाभाविक नै हो किनकि पार्टीगत राजनीति र राजनैतिक पार्टी आफैँमा खराब होइन तर मुख्य कुरा राजनैतिक पार्टीको दर्शन र नेतृत्व हो र यो भन्दा पनि अझ महत्त्वपूर्ण कुरा राजनैतिक पार्टीको आचरण हो । नेपाल जस्तो बहुजाती, बहुभाषा, बहुसंस्कृति, बहुधर्म र अनेकतामा एकता स्विकारिएको राष्ट्रमा प्राय सम्पूर्ण सत्तासीन राजनैतिक पार्टीहरूमा खस-आर्य  एकल जातीय नेतृत्व छ । जनसाङ्ख्यिक हिसाबले (demographic) नेपालमा आदिवासी, जनजाति, थारु लगायतको बाहुल्यता भएपनि राजनैतिक नेतृत्वमा उपस्थिति प्राय शून्य छ । त्यसो त निर्णयकारी भूमिकामा नभए पनि केही टाठा बाठा हुँ भन्ने आदिवासी, जनजाति राजनीतिकर्मीहरुले केही पदहरू पाइरहेकै छन्, दुई चार जनाको नमस्ते खाइरहेकै छन् र व्यक्तिगत रूपमा लाभान्वित भइरहेकै छन् । शायद समाजमा टाठा बाठा हुँ भन्ने केही आदिवासी, जनजाति आदि राजनीतिकर्मीहरूको लक्ष्य भनेको नै –आफूलाई फाइदा हुने पार्टीमा लाग्ने, निर्वाचन लड्ने, निर्वाचित हुने, कुनै हैसियत अनुसारको पद खाने, दुई चार जनाको नमस्ते खाने र व्यक्तिगत रूपमा लाभान्वित हुने ।

वर्तमान सत्तासीन राजनैतिक पार्टीहरूमा आबद्ध आदिवासी, जनजाति राजनीतिकर्मीहरूको राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, मौलिक पहिचान जस्ता गहन राजनैतिक सवालहरू शायद प्राथमिकताको विषय नभएको हुन सक्छ वा नेतृत्वको आदेश पालना गर्नुपर्ने भएको  कारण अभिव्यक्त नभएको हुन सक्छ । नेपालको वर्तमान संविधान बन्दै गर्दा र राज्यको पुनर्संरचना हुँदै गर्दा, यत्रो धेरै विभिन्न राजनैतिक पार्टीहरूमा आबद्ध आदिवासी, जनजाति नेता र कार्यकर्ताहरू र सङ्घसंस्थाहरू हुँदाहुँदै पनि आदिवासी, जनजातिको सार्थक सहभागिता र मौलिक पहिचानको सम्बोधनबिना नै नेपालको नयाँ संविधान जारी भयो र नेपाल राज्यको सङ्घीय संरचनाको खाका तयार भयो ।


अनेकतामा एकतालाई स्विकारिएको नेपाल जस्तो भाषिक र सांस्कृतिक विविधतायुक्त राष्ट्रमा प्रत्येक भाषा र संस्कृतिको सार्वभौमिकता (।inguistic and cu।tura। sovereignty) स्वीकार गर्नुपर्दछ । यसबारे नेपालको वर्तमान संविधान मौन छ । आदिवासी, जनजातिको मातृभाषाहरू कुन ठाउँमा बोल्न नपाउने भनेर राज्यले बन्देज लगाउन सक्तछ । राज्यको बहुसंख्यामा रहेर पनि यहाँका आदिवासी, जनजाति, थारु र मधेसी लगायतले आफ्नो मौलिक र सांस्कृतिक चाडपर्वहरूमा राज्यस्तरको सार्वजनिक सरकारी बिदा घोषणा गरोस् भनेर राज्यको निगाह पाउन निवेदन दिनुपर्ने अवस्था छ । अध्येताहरू भन्ने गर्दछन् – Po।itics wins the cu।ture. अनि यो देशमा कहाँ रह्यो विविध भाषा र संस्कृतिको सार्वभौमिकता ? राजनैतिक र सांस्कृतिक अधिकार र पहिचानको चेतना बेगर नेपालका आदिवासी, जनजाति, थारु र मधेसीहरूको मौलिक भेषभूषासहितको मञ्चमा आसीन नेताहरूलाई मनोरञ्जन दिलाउने सांस्कृतिक झाँकीहरूको औचित्य के ? मौका मिले अमेरिकी राष्ट्रपतिलाई पनि मनोरञ्जनात्मक सांस्कृतिक झाँकीहरू देखाउन सकिन्छ । यी सबै राजनैतिक रूपमा समाधान गर्न सकिने कुराहरू हुन्, व्यवस्थापन आदि भनेको प्राविधिक कुराहरू मात्र हुन् । नेपालको वर्तमान राजनीतिक परिदृश्यमा एकल जातीय बर्चश्वताको कारण बहुराष्ट्रिय पहिचानको मुद्दा पेचिलो बनेको छ ।

बहुसंख्यामा रहेपनि आदिवासी/मूलवासी, जनजाति, थारु र मधेसी लगायत राजनीतिक हिसाबले केवल भोट ब्याङ्क (vote bank) को रूपमा मात्र सीमित छन् । यो मुलुकमा आदिवासी/मूलवासी, जनजाति, थारु र मधेसी लगायतको पहिचानको मुद्दा समाधान हुन बाँकी नै छ । नेपाली जनताको पहिचान सहितको सङ्घीयताको चाहना पुरा हुनै बाँकी छ । आदिवासी/मूलवासी, जनजाति, थारु र मधेसी राजनीतिकर्मीहरुले आफूलाई समाजको टाठाबाठा हुँ भन्ने तर राजनीतिमा व्यक्तिवादी लाभ र हानीको चिन्तन भन्दा बढी सोच्न नसक्ने हो भने आदिवासी/मूलवासी, जनजाति, थारु र मधेसी लगायतको पहिचानको मुद्दा समाधान हुन सक्तैन।पहिचानको मुद्दा सामूहिक हो र व्यक्तिवादी चिन्तनबाट सामूहिक मुद्दाहरू समाधान हुन् सक्तैन । पुर्खाको विरासत र शान पहिचानमा नै सुरक्षित हुन्छ, पहिचानले नै आफ्नो र भविष्यमा सन्ततिको भाषिक र सांस्कृतिक सार्वभौमिकतासहित राज्य सुनिश्चित गर्दछ । पैसा त संसारको जुनसुकै कुनामा बसेर पनि कमाउन सकिन्छ । आफ्नो पहिचान स्थापना गर्न आदिवासी, जनजाति आदि लगायत राजनीतिकर्मीहरूको पहिलो जिम्मेवारी त छँदैछ  । साथसाथै  आदिवासी, जनजाति आदि लगायत बौद्धिक जगत् र पेसा व्यवसायीकर्मीहरुले पनि आफ्नो पहिचान स्थापनार्थ गम्भीर रूपमा सोच्नुपर्ने बेला भइसकेको छ ।

प्रसिद्ध प्राचीन ग्रीक राजनेता Peric।es को भनाइलाई मनन गर्नुहोस् त – Just because you do not take interest in po।itics does not mean po।itics won’t take interest in you.  

तपाईको प्रतिक्रिया

पत्रपत्रिका