वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ ।
उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । सरकारले उनको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका हुन् ।
नेपालको इतिहासका साक्षी दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।