विद्यालय बन्दमा बालबालिकाका लागि पढाइका साथै खेल किन महत्त्वपूर्ण छ ?

काठमाडाैँ

एक सर्वेक्षणले देखाए अनुसार शारीरिक गतिविधि नगरेकै कारण बालबालिकाको शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यका साथै सामाजिक सीप विकासमा समेत असर गरेको छ । जसमा संसार भरका ८० प्रतिशत ११ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरू पर्दछन् ।

बालबालिकाहरूमा मोटोपनको समस्या दिनानुदिन बढिरहेको अवस्था छ । र बालबालिकाहरू अल्छी बन्दै गइरहेको अवस्था छ । बालबालिकाहरू स्वभावैले खेल खेल्न मन पराउने प्रवृत्तिका हुन्छन् । तर हामी अभिभावकले उनीहरूको लागि समय व्यवस्थापन गर्न नसक्दा अलिकति समय पाउने बित्तिकै कि ओछ्यान कि सोफामा पल्टेर मोबाइल र ट्यावलेटमा व्यस्त हुन्छन् । यो बन्दाबन्दीको समयमा उनीहरू घरबाहिर जाने अवस्था नभएको हुनाले हामीले खेल्नका लागि समय व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

पहिलेपहिले हामी सानो छँदा बिहान बेलुका आफ्ना अभिभावकहरूलाई घरको काममा सघाउथ्यौँ । बिदाको दिनमा मेलापात, गोठालो जाँदा साथीहरूसँग विभिन्न खेलहरू खेल्थ्यौँ । डण्डीवियो, गट्टा, लुकामारी,कबड्डी कबड्डी, दौडने, जोडी लखेटाई आदि । शरीरभरि माटो र बालुवा लगाएर पौडी खेलिन्थ्यो । दिनभरिको शारीरिक व्यायामले शरीर थाक्थ्यो र निन्द्रा र भोक मजाले लाग्थ्यो । शारीरिक र मानसिक रूपमा फुर्तिला हुन्थ्यौँ । जुन खेलहरू हिजोआज हराउँदै गइरहेको छ ।  बालबालिकहरुमा शारीरिक तथा मानसिक स्फूर्ति पनि हराउँदै गएको अवस्था छ ।

अभिभावकहरूको लागि पनि आफ्ना बालबालिका पढिरहेको मात्र देख्न मन पराउने, घर बाहिर ननिस्कने, किताब मात्र पढी रहने बालबालिकालाई ज्ञानी, चञ्चले स्वभावका बालबालिकालाई बदमास भन्ने गरेको पनि सुनिन्छ ।

यो बन्दाबन्दीको समयमा बालबालिकाहरूले घरबाहिर गएर साथीभाइसँग खेल्न पाएका छैनन् । विद्यालयको रमाइलो वातावरणमा साथीहरूसँग खेल्दै पढ्न पाएका छैनन् । हामी विभिन्न पेसामा आबद्ध भएका अभिभावकहरू पनि घरबाटै काम गरिरहेका छौँ । सामान्य अवस्थामा बालबालिकासँग बिताउने समय अलि कम थियो भने हिजोआज प्रशस्त समय छ । उनीहरूको सिकाइका साथसाथै विकासमा  सहयोग गर्ने अवसरको रूपमा यो समयलाई लिनु आवश्यक छ ।

उनीहरूमा जीवनमा आइपर्ने विभिन्न समस्या र चुनौतीहरूको सामना गर्न सक्ने सीपको विकास भएको हुन्छ । खेल्ने बालबालिकाहरू खुशी र स्मार्ट हुन्छन् ।

यो समयमा हामी बाहिर गएर खेल्न त सक्दैनौ तर घरको आँगनमा, र घरभित्रै पनि परिवारका सदस्यहरू बीच विभिन्न खेलहरू खेल्न सक्छौँ । जसले गर्दा उनीहरूको विकासमा मद्दत गर्दछ ।

यो बन्दाबन्दीको समयमा बालबालिकाहरूको लागि पढाइका साथसाथै खेल किन आवश्यक छ भन्ने कुरालाई तल उल्लेख गरिएको छ :

– बालबालिकाको पढाइका साथसाथै खेल किन महत्त्वपूर्ण छ भन्ने प्रसङ्गमा लामो समयदेखि बालबालिका तथा  शिक्षाको क्षेत्रमा योगदान दिदैं आउनु भएका विश्वविनोद भन्छन्,- ‘खेलले बालबालिकाको शारीरिक, मानसिक, र संवेगात्मक विकासमा योगदान दिएको हुन्छ । खेलले बालबालिकालाई नेतृत्वकला सिकाउँदछ भने आपसी समन्वय, संयोजनका कुरा पनि खेल्दै गर्दा उनीहरुले सिक्ने गर्छन् । खेलले अभिव्यक्ति कला र भाषिक सीपमा पनि सहयोग पुर्‍याउँदछ । भाषिक सीपको पनि विकास गराउँदछ । खेलले बालबालिकामा कल्पना शक्ति र सृजनशीलतामा बढवा दिन्छ ।’

– मन्थली सहिद स्मृति  बहुमुखी क्याम्पसमा विगत २० वर्षदेखि प्राध्यापनरत नेपाली विषयका सहायक प्राध्यापक पेशल आचार्य भन्छन् – ‘‘बालबालिकाहरू हरेक सिकाइलाई खेलका माध्यमबाट गर्न चाहन्छन् । यसरी उनी एक अर्कासँग मिलेर समूहमा खेल्न कुद्न र रमाउन चाहन्छन् । हामीले हाम्रा बालापनका अनेक उपद्राहरूलाई हेर्ने हो भने पनि हामीले नखेली नकुदी र नचली केही पनि सिकेका रहेनछौं । विदेशमा पनि उमेर र उनीहरूका चाहना अनुसारका खेलकुदमा नै कुनै पनि बाल बालिकाहरूलाई प्रवीण बनाउने काम गरिएका पाइन्छन् ।’’

– बाल मनोविदहरुका अनुसार, खेल खेल्दा बालबालिकाहरूको शारीरिक व्यायाम हुने हुनाले उनीहरूलाई भोक र निन्द्रा समयमा लाग्छ । समयमा खाना र निन्द्रा पुगेपछि उनीहरूमा शारीरिक र मानसिक रूपमा स्वस्थ हुने गर्छ । स्वस्थ बालबालिकाहरूले अन्य क्रियाकलापहरू पनि स्वस्थ ढङ्गले गर्न सक्छ ।

–  खेलमा नियमहरू हुने हुनाले उनीहरूले अनुशासनका कुराहरू सिक्छन् । खेल खेल्ने बालबालिकाहरूले समय र अवसरको महत्त्व बुझेको हुन्छ । किन कि खेलाडीले जहिले पनि आफू जित्नका लागि अवसर खोजिरहेको हुन्छ र समयै अवसरको प्रयोगमा ल्याउने गर्छ ।

-खेल खेल्ने बालबालिकाहरूले समूहमा सहयोग, सहकार्य गर्दा सफल भइन्छ भन्ने कुरा राम्रोसँग बुझेको हुन्छ । र उनीहरू सामाजिक हुन्छन् ।बालबालिकाहरूले नैतिकवान्, ईमान्दार, र धैर्य गर्ने सीपको विकास गरेका हुन्छन् ।

– खेल्ने क्रममा हारजित, सफलता, असफलता, उनीहरूले पटकपटक व्यहोरिसकेका हुन्छन् । त्यसैले उनीहरूमा जीवनमा आइपर्ने विभिन्न समस्या र चुनौतीहरूको सामना गर्न सक्ने सीपको विकास भएको हुन्छ । खेल्ने बालबालिकाहरू खुशी र स्मार्ट हुन्छन् । किन कि, बेखुसी र लुरुक्क परेर खेल्दा खेल जित्न सकिन्न भन्ने कुरा बुझेको हुन्छ ।


– खेल जित्नका लागि समूहमा मिल्नुपर्ने हुन्छ । त्यसैले खेलेर हुर्केका बालबालिकाहरू मिलनसार स्वभावका हुन्छन् ।

हामीले हाम्रा बालबालिकाहरूलाई औपचारिक शिक्षाका साथसाथै अन्य जीवनोपयोगी सीपहरूको पनि विकास गराउँ। हामीसँग भएको समय बालबालिकालाई लगानी गरेमा उनीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुग्नेछ । यो राष्ट्रका लागि एक असल र स्वस्थ नागरिक उत्पादनमा योगदान पुग्नेछ ।

(लेखक गोले शिक्षासँग सम्बन्धित विभिन्न गैरसरकारी संस्थामा विगत लामो समयदेखि आबद्ध छन् )।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका