निजगढले खोप खरिदका लागि प्रक्रिया अघि बढायो

सैलुङअनलाइन संवाददाता
निजगढ

निजगढ नगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप खरिद गर्नको लागि प्रक्रिया अघि बढाएको छ ।  कोरोनाविरुद्धको खोप किन्न लागेको निजगढ नगरपालिका बारा जिल्लाकै पहिलो स्थानीय तह हो।

नगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप खरिदको लागि केन्द्र सरकारसँग अनुमति मागेको छ । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग कोरोना भाइरस विरुद्धको खोप माग गर्दै यदि उपलब्ध गराउन नसके नगरपालिकाको आफ्नै आर्थिक स्रोतबाट खरिद गर्न स्वीकृति दिन मेयर सुरेशकुमार खनालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरिएको छ । मेयर खनाल संयोजक रहेको निजगढ नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले २० हजार डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।


नगरवासीको माग अनुसार खोप खरिद गर्न लागिएको मेयर खनालले बताएको छ । यसैबिच कोरोना खोप खरिद गर्नको लागी निजगढ नगरपालिकाले प्रक्रिया अघि बढाएकोप्रति नेपाली काँग्रेसका नेता पेमासिद्धि लामाले स्वागत व्यक्त गरिएको छ । बारा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ का प्रत्याशी उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत निजगढ नगरपालिकालाई अन्य विकास बजेट कटौती गरेरै भए पनि नागरिकको स्वास्थ्य सुरक्षाको लागि कोरोना खोप खरिद गर्न माग गरिएको थियो । यसैगरी निजगढ नगरपालिकाका जनप्रतिनिधिहरुले मासिक सुविधाहरूबापत पाउने १ महिनाको रकमबाट पेसेन्ट मनिटर खरिद गर्ने भएका छन् ।

कोरोना सङ्क्रमितहरूको उपचारको लागि निजगढ नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरेको आइसोलेसनमा जनप्रतिनिधिहरूको १ महिनाको सुविधा बापतको रकमबाट ३ थान पेसेन्ट मनिटर खरिद गरेर उपलब्ध गराइने मेयर खनालले बताए ।

कोरोना सङ्क्रमित बिरामीहरूको भाईटल्स मनिटर गर्ने डिस्प्ले स्क्रिन मनिटर उपलब्ध गराइदिन प्राथमिक स्वास्थ्य केन्द्रले गरेको अनुरोध अनुसार आवश्यक उपकरण खरिद गरेर उपलब्ध गराउन लागिएको मेयर खनालले बताए । सो मनिटरले बिरामीको मुटुको चाल,रक्तचाप, श्वाशप्रश्वाशको अवस्था सजिलै थाहा पाउन सकिने भएकाले कोरोना सङ्क्रमितको उपचारमा थप सहयोग पुग्ने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए । प्राथमिक स्वास्थ्य केन्द्रको लागी नगरपालिकाको विपद् व्यवस्थापन समितिले २ थान जेनेरेटर समेत खरिद गरेर उपलब्ध गराइने भएको छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका