कोरोना कालमा आदिवासीका आफ्नै अभ्यास

काठमाडाैँ

विभिन्न प्रकारका चुनौतीहरूलाई परास्त गर्न सक्ने मौलिक शैली, परम्परा र ज्ञान भएर पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट आम समुदाय झैँ आदिवासी जनजाति पनि प्रभावित छन् ।

त्यसै पनि आदिवासी जनजातिहरू विगत देखि नै सबै खाले स्वास्थ्य सेवाबाट वञ्चित नै थिए । कोरोना काल अघिको सामान्य अवस्थामा समेत उनीहरूलाई स्वास्थ्य पहुँचबाट पाखा पारिएका नै थियो । अहिलेको कोरोना महामारीको बेला यो बन्चितिकरणको सिलसिला अरू बढेर गएको छ । परिणाम स्वरूप आदिवासी जनजातिहरू कोरोना महामारीबाट मात्र नभएर सङ्क्रमित र गैह्रसंक्रमित दुवै प्रकारका रोग र यसबाट सिर्जित अन्य सङ्कटमा गुज्रिरहेका छन् ।

नेपालमा कोरोना महामारी सङ्क्रमणको सङ्ख्या हरेक दिन जसरी बढिरहेको छ, त्योसँगै मृत्युदर पनि बृद्धि भइरहेको छ । ती सङ्क्रमित र उपचारको अभावमा मृत्यु व्यहोर्नेहरुको भरपर्दो खण्डीकृत तथ्याङ्क हालसम्म उपलब्ध छैन, तथापि विश्वव्यापी अनुभवका आधारमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र सुलभ स्वास्थ्य उपचारमा पहुँच नहुनेहरू नै यो सङ्क्रमणको जोखिममा हुन्छन् । यस कोणबाट विश्लेषण गर्ने हो भने नेपालका आदिवासी जनजातिहरू महामारीबाट पीडित हुने उच्च जोखिमको सूचिमा पर्छन् ।

राष्ट्रिय मानव अधिकार आयोग र नेपाल आदिवासी जनजाति महासङ्घले यसै साता आयोजना गरेको ‘कोभिड-१९ र आदिवासी जनजातिको मानव अधिकार’ विषयक भर्चुअल संवाद कार्यक्रमका क्रममा आदिवासी अगुवा, अभियन्ता तथा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरूले कोरोना महामारीले आदिवासीहरूमा पारेको प्रभाव र यसको निदानमा भएको राज्यको हेलचेक्राईपूर्ण व्यवहारको निन्दा गरेबाट पनि  अवस्थाको साँगोपाङ्गो आँकलन गर्न सकिन्छ ।

विभेदपूर्ण व्यवहार

अहिले विशेष चर्चामा आउने गरेको ‘कोरोना भाइरसले कसैलाई भेदभाव गर्दैन’ भन्ने’ भनाई सत्य हो । तर जसरी महामारीले सबै जातजातिका महिला, पुरुष, वृद्धबृद्धा, युवा तथा बालबालिकालाई समान रूपमा सङ्क्रमणको सिकार बनाउँछ वा बनाइरहेको छ, त्यसै गरी यसका विरुद्धको उपचारका लागि उपलब्ध राज्यका सेवा तथा सुविधाको वितरण असमानता र विभेदपूर्ण रहेको छ ।

त्रिभुवन विश्व विद्यालय मानव शास्त्र विभागले स् नेपालको समावेशीकरण’ सम्बन्धी गरेको सर्वेक्षण अनुसार स्वास्थ्य सेवामा पहुँचका दृष्टिकोणले पुछारमा पर्ने समुदायमा दलित पछि आदिवासी जनजाति देखाइएको छ । आदिवासी बसोबास गर्ने भौगोलिक क्षेत्रबाट निकै टाढा मात्र प्राथमिक स्वास्थ्य संस्थाहरू खोलिएका छन् । परिणामतः बालबालिकाले नियमित लिने खोप सेवा देखि गर्भवती महिलाले पाउनु पर्ने आधारभूत सेवाबाट पनि वञ्चित हुनु परेको प्रष्ट चित्र त्यस अध्ययनमा पढ्न सकिन्छ ।  अहिलेको कोरोना महामारीमा पनि विगतको स्वास्थ्य चित्र भन्दा फरक छैन । आधारभूत स्वास्थ्य सेवामा त आदिवासीहरू वञ्चित थिए भने महामारीका क्रममा आवश्यक पर्ने सेवा पाउने प्रश्न नै भएन ।

महामारीले उब्जाएको सङ्कटलाई अवसरका रूपमा परिणत गर्न आदिवासीय प्रथाजनित संस्थाहरूको केही असल अभ्यासहरू सतहमा पनि आएका छन् ।

बढ्दो खाद्य असुरक्षा

महामारी र घोषित बन्दाबन्दीका कारण आदिवासी जनजातिहरूले विषम खाद्य सङ्कटको सामना गर्दैछन् । समाजशास्त्री डा. मुक्तसिंह लामाका अनुमानमा अबको खाद्यसंकट कल्पनाभन्दा बाहिरको हुने छ । किनभने धेरै आदिवासीको जीविकोपार्जनको क्षेत्र पहिले नै खोसिएको थियो । आफ्नो परम्परागत भूमि र भूक्षेत्र माथि औपनिवेशिक अतिक्रमणमा परे पछि त्यसै पनि उनीहरूको प्राकृतिक निर्भरता घटेको थियो । परम्परागत पेसा, व्यवसाय प्रायः लोप नै भई सकेको भने पनि हुन्छ । आधुनिक अर्थ प्रणालीमा उनीहरू समायोजन भई सकेका छैनन् । यसकारण नेपालका आदिवासी जनजातिहरू जीविका र अर्थव्यवस्थाका दृष्ट्रिकोणले सङ्क्रमणकालीन अवस्थामा  छन् ।

प्रथाजन्य प्रणाली कायम भएका आदिवासीहरूमा महामारीको असर त्यति नराम्रो ढङ्गले परिसकेको छैन । जहाँजहाँ पुर्ख्यौली भूमि र स्रोतसँगको सम्बन्ध कायम राखिएको छ, त्यहाँ कोरोना महामारी र  खाद्य सङ्कट भित्रिएको छैन । तर बजार, खरिद र उपभोगसँग जोडिए पछि खाद्य सुरक्षाको सङ्कट पनि जोडिएको छ ।

प्रथाजन्य खाद्य सुरक्षा उनीहरूको पुर्ख्यौली भूमिमा रहेको प्राकृतिक स्रोतमा पहुँच र नियन्त्रणमा आधारित हुन्छ । किनभने उनीहरू आफै जग्गा खनजोत गरेर, खाद्य सङ्कलन गरेर, माछा मार्ने कार्य गरेर, सिकार गरेर वा पशुपालन गरेर आफ्नो लागि खाद्यवस्तु जुटाउनु उनीहरूको परम्परा हो । पछिल्लो समयमा स्वतन्त्र पूर्व सुसूचित सहितको सहमति (एफपीक) बिना उनीहरूको पुर्ख्यौली भूमिबाट उनीहरूलाई बेदखली गरिए पछि आदिवासीको खाद्य अधिकारको परिपूर्तिमा त्यसै पनि गम्भीर बाधा अड्चनहरू देखिएका थिए । कोरोना महामारीमा यसैको चर्को स्वरूप भोकमरी, अनिकाल र खाद्य सङ्कट थपिएको छ ।

सूचनाको खडेरी

सूचनाको खडेरी आदिवासीहरूले व्यहोरेको अर्को सङ्कट हो । हुन त अहिले कोरोनासँगै सूचनाको महामारी पनि चलेको छ, तर ती सूचनाहरु आदिवासीका लागि कतिको लाभदायक छन् भन्ने प्रश्नमा भने नकारात्मक जवाफ आउन सक्छ । नर्वेको सामी आदिवासी जातीय सङ्गठनका अध्यक्ष यानी नुर्गमले संयुक्त राष्ट्र सङ्घको आदिवासी स्थायी मञ्चमा बोल्दै कोभिड महामारीका क्रममा आदिवासीले बुझ्ने भाषामा सूचना पाउन नसकेकै कारण असुरक्षित भएको बिचार राख्नु भएको थियो । नेपालमा पनि सूचना प्रदायक सञ्चार संस्था र धेरै प्रकारका सार्वजनिक  माध्यम भए पनि आदिवासीका लागि भरपर्दो सञ्चारमाध्यम बन्न सकेको छैन ।


उचित सूचना र जानकारी प्राप्त नगर्नु नै सेवा र सुविधामा पहुँच नहुनु हो । पहुँच नै भए पनि स्वास्थ्य सेवा प्रदायक अधिकारीहरू आदिवासी मैत्री भाषा बोल्दैनन् । दोहोरो संवादको अभावमा कोरोनाको जोखिमको तह उनीहरूले थाहा पाउँदैनन् । थाहा नै पाए पनि उनीहरूको कुरा सुनुवाइ हुने कुनै संयन्त्र बनेको छैन ।

आदिवासीको आफ्नै अभ्यास

विश्वकै आदिवासीहरूले कोरोना महामारीका क्रममा केही सकारात्मक र संसारका मानव जगतका लागि अनुकरणीय काम पनि गरेका छन् । महामारीले उब्जाएको सङ्कटलाई अवसरका रूपमा परिणत गर्न आदिवासीय प्रथाजनित संस्थाहरूको केही असल अभ्यासहरू सतहमा पनि आएका छन् । संयुक्त राष्टसंघीय मानव अधिकार उच्च आयोगले नेपालका आदिवासीहरू सङ्कटबाट समाधान खोज्ने प्रयास गरेकोमा सराहना व्यक्त गरेको छ । आदिवासी जनजाति सम्बन्धी काम गर्ने संस्था लाहुर्निपका अनुसार महामारीका बेला आदिवासीको प्रथाजनित संस्थाहरूले आफ्नै प्रथाजन्य ज्ञानका आधारमा आफ्नो भूक्षेत्र भित्रका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि आफ्नो तरिकाले बन्दाबन्दी गर्ने, सामाजिक दुरी कायम गराउने र आइसोलेसन सेन्टरको व्यवस्थापन र रोग निर्मलीकरणमा योगदान दिएका छन् ।

आदिवासी महिलाका सम्बन्धमा  राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चजस्ता संस्थाहरूले सार्वजनिक रूपमा नै महामारीको बेला आदिवासीको प्रथा परम्परा र ज्ञानको संरक्षण गर्न र यसको प्रयोग गरेर सुरक्षित बन्न आह्वान गरेको छ । यस प्रकारको सामुदायिक साझेदारीबाट समुदायको पहिचान र परिचयको रक्षा र मानव स्वास्थ्यको पनि सुरक्षा भएको पाइन्छ । आदिवासी सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था कल्चरल सर्भाइभको आफ्नो वेभ म्यागेजिनमा उल्लेख भए अनुसार संसारभरका आदिवासीहरूले भूमि र वातावरणलाई जोडेर आफ्नो सांस्कृतिक क्रियाकलाप, प्रथा, परम्परा र ज्ञानको प्रयोग  एक अद्धितिय भूमिका हो ।  आफै चुनौती सहेर विश्वलाई योगदान दिनु पक्कै पनि सानो कुरा होइन ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका