बन्दाबन्दीले हाँस नबिक्दा किसानलाई दाना खुवाउन धौधौ

सैलुङअनलाइन संवाददाता
तनहुँ

तनहुँको व्यास नगरपालिका-१३ का निवासी ईश्वरराज पन्थले व्यावसायिक रुपमा स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ ।

दोस्रो भेरियन्टसहितको कोभिड-१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरुपमा बन्द हुँदा हाँस बिक्री नभएको हो । किसान पन्थले व्यास नगरपालिका-१३ को गुदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की ५०० पालेको छ भने सोही वडाको पोखरीभञ्ज्याङमा दुई लाख माछा र आठ हजार हाँस पालेको छ । करीव चौध करोड रुपैयाँको लगानी गरी फार्म संञ्चालनमा ल्याइएको हो ।

झन्डै १४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो फार्म सम्भवतः नेपालकै ठूला फार्म भएको दाबी गरिएको छ । पन्थीले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी दुई वटा फार्म सञ्चालन गरी व्यावसायिक रुपमा अघि बढ्नु भएको छ । बन्दाबन्दीपश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिक्रीको लागि राखिएपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म मासु बिक्री हुने गरेको छ ।


बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत धौधौ हुन थालेको किसान पन्थले बताए । हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो माग लिएर बेलुका घरघरमा पुर्‍याइदिने गरिएको छ । ` दाना खुवाउन पनि समस्या हुन थालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो ´ उनले भने । ` निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हुदैथ्यो ´, उनले भने, ` होटल तथा रेष्टुरेन्टहरुमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।´

चितवनको भाटभटेनी सुपरमार्केटले केही शर्तसहितको सम्झौता गरी मापदण्ड अनुरुपको सबै कुरामा ठीक भई दुई टन मासु तयार गरिसकेको अवस्थामा झ्याप्पै लकडाउन हुँदा समस्या खेप्नुपरेको छ । केही हाँसको मासुलाई घरेलु जडिबुटी र मसला मिसाएर बनाइएको ७०० ग्राम तयारी प्याकेज हाँसको सुकुटी एक हजार पाँच सय रुपैयाँमा बिक्री गर्ने गरि प्याकेजिङ कार्य समेत थालिएको किसान पन्थले बताए ।

फार्ममा कार्यरत कामदार र निजकी श्रीमती अनिता ढकाल पन्थलगायतले हाँसको सुकुटी प्याकेजिङ कार्य गर्दै आएका छन् । यसरी प्याकेज गरिएको मितिले ४५ दिनसम्म प्रयोग गर्न सकिन्छ । उनले भने,` कोभिडको वर्तमान परिस्थितिमा प्रतिरक्षाको लागि प्रयोग गरी मजबुत बनाउन पौष्टिक आहारको परिपूर्ति गर्न सकिन्छ ।´ हाँसलाई अघाउञ्जेल दाना खाना दिने हो भने एक दिनमा सवा लाख रुपैयाँको दाना खान्छन् तर अहिले जेनतेन ५०÷६० हजार रुपैयाँको दानाले जीविकोपार्जन गराइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका