ब्लग: तामाङ भाषा नजान्दा

दक्षिण कोरिया

युट्युव हेर्दै थिएँ । मनमा तामाङ भाषा सिक्ने कुनै युट्युव च्यानल छ कि भन्ने सोच आयो । सर्च गरेँ । एउटा एनिमेटेड भिडियो भेटियो । भिडियोमा एउटा केटा तामाङ लुगामा सजिएर हिड्छ । तामाङ बस्तीमा पुग्छ । गाउँलेले नयाँ मान्छे आएको ठानेर घर कता हो बाबु भनेर सोघ्छ । तर, उ तामाङ भाषा जान्दैन । गाउँलेका कुरा उसले बुझ्दैनन् । गाउँलेहरु उसँग नेपालीमै कुरा गर्छन् । कुराकानीकै क्रममा एकजना गाउँले बज्यैले फ्याट्टै भन्छिन् ‘तामाङ टोपी लाएछौ तर भाषा त चिल्लै ?’ यो भिडियो हेरेपछि मलाई लाग्यो यो त मेरै कथा हो, ठ्याक्कै मेरो ।

मैले मातृभाषा नजान्नुको कथा यस्तो छ । म जन्मे हुर्केको धनुषा । घरमा हाम्रो परिवारमा कसैले पनि तामाङ भाषा नबोल्ने । बज्यैलाई भाषा आउने भए पनि कहिल्यै बोल्नु भएको सुनिन । कहिले काही उहाँ आफ्नो भाइसँग कुरा गर्नु हुन्थ्यो । हाम्रा छिमेकीहरु पनि तामाङ कोही थिएनन् । बरु, नेपाली, मैथिली अनि हिन्दी भाषी छिमेकी थिए । मैले पनि नेपाली, हिन्दी र मैथिली भाषा नै सिकेँ । मलाई धेरै समयसम्म तामाङको आफ्नै भाषा हुन्छ भन्ने थाहै थिएन । अन्य समुदायको भाषा फरर बोल्ने म आफ्नो भाषा भने चिल्लै ।

विश्वका ९० वटा देशमा ३७० करोड भन्दा बढी आदिवासी जनजातिको बसोबास रहेको छ । ती आदिवासी जनजातिहरुको आफ्नै इतिहास, भाषा, संस्कृति, भेषभुषा, परम्परा छन् । सन् २०१६ मा युनेस्कोले गरेको एक अध्ययनमा विश्वका २ हजार ६ सय ८० आदिवासीले बोल्ने भाषा खतरामा छन् । यी भाषाहरु मध्ये कतिपय भाषा बोल्न र लेख्न सक्ने मानिसहरुको संख्या न्युन छन् भने कतिपय भाषा बोलीचालीमा मात्रै सीमित छन् ।

नेपाललगायत विश्वका कयौं देशका कतिपय भाषा कहिल्यै नर्फकने गरी लोप भैसकेका छन् । भैरहेका छन् । आफ्नो समुदायलाई एकताबद्ध गर्न, ज्ञानबर्दक कुरा बाँड्न, जल, जंगल, जमिनसँग जोडिएका आफ्ना कला, संस्कृति, परम्परा आउने पुस्तालाई हस्तान्तरण गर्न आफ्नो मातृभाषालाई बचाइ राख्न आवश्यक छ । त्यही भएर होला संयुक्त राष्ट्रसंघले सन् २०१९ लाई आदिवासीको भाषा संरक्षण गर्न कै लागि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । त्यस्तै अगस्ट ९ मा भएको विश्व आदिवासी दिवसमा पनि आफ्नो भाषालाई संरक्षण गर्न जोड दिइएको थियो ।

यो वर्ष आदिवासीको भाषा बचाउनका लागि संयुक्त राष्ट्रसंघले छुट्टै अभियान शुरु गरेको भए पनि मलाई भने पहिल्यै देखि भाषा नआउनुको छट्पटीले सताइ रहन्थ्यो । तराईबाट अध्ययनका लागि जब काठमाडौ पुगेँ तब धैरै तामाङ समुदायका साथीभाइ आफन्तसँग चिनाजानी भयो । धेरै साथीभाइ आफ्नो भाषा फरर बोल्ने, आफू भने बुझे जस्तो मात्र गर्नु पर्ने । कहिले काहीँ उनीहरु मसँग तामाङ भाषामै कुरा गर्थे । बाध्यताले म त बुझ्दिन भन्दा आफैँलाई लाज लाग्ने अवस्था हुने ।
धेरैले चाँहि म तराईमा हुर्किएको भन्ने थाहा पाएपछि भाषा आउँछ कि आउँदैन भनेर सोध्थे । आउँदैन भन्दा धेरैले सामान्य रुपमै लिन्थे । तराईको मान्छे के भाषा आउथ्यो भन्थे । थोरैले तामाङ भएर पनि भाषा आउँदैन भनि जिस्क्याउँथे पनि । म आफैँ भाषा नआएर खिन्न हुन्थेँ । पछिपछि एउटा आइडिया लाएँ कसैले सोधिहाले भने बुझ्छु, फर्काउन चाँहि आउँदैन भन्थेँ ।

मैले ठाने, भाषा अब त सिकेरै छोड्छु । अमेरिकामा जन्मिएर हुर्किएका क्याथरिन एस मार्च र डेविड होल्मवर्गले त तामाङ भाषा फरर बोल्न सक्छन् भने मैले किन सक्दिन ?

भाषा सिक्ने मन त थियो । तर, पढ्ने कि काम गर्ने ? वा भाषा सिक्दै बस्ने ? समस्या आइप¥यो । फेरी घरमा सबै म जस्तै चिल्लै थिए । भाषा सिक्ने चाहना त्यसै त्यसै रहिरह्यो ।

पछि कोरिया आएँ, यहाँ पनि तामाङ साथीभाइसँग चिनजान भयो । संगत भयो । प्रश्न यहाँ पनि उही तेर्सिए । नानालाई तामाङ भाषा आउछ ? आउँदैन । धेरैले अचम्म मानेर हेर्थे, मानौ म अर्कै ग्रहबाट आएको एलियन हुँ । त्यसपछि त आफनै तामाङ भाषा नआउँदाको पीडाले झन लेखेट्न थाल्यो ।

मैलाई लाग्यो जान्दिन भन्दै पन्छिन खोजेपछि भाषा सिक्न सकिन्न । मैले ठाने, भाषा अब त सिकेरै छाड्छु । मैले कहिल्यै सोच्दै नसोचेको कोरियन भाषा त पढेँ भने आफनो मातृभाषा पढ्नलाई के जोखना हेराउनु पर्ने हो र ?

त्यही दिनदेखि मेरो मातृभाषा कक्षा जारी छ । कोरियन डिउटी सकेपछि दैनिक एक घण्टा भाषा सिक्छु । तामाङ व्हाइ, सेलो, फापारे गीत सुन्छु, बेला बेला अमिर योञ्जनले ‘तामाङ डाजाङ’ पत्रिका पठाउनुहुन्छ, त्यो पनि पढ्छु । अग्रज दाज्युहरुले गरेका तामाङ भाषण सुन्छु । यसरी मेरो तामाङ भाषा सिक्ने क्रम चल्दैछ । एदा ह्राङला ग्योइ आखासाम लोप्के । गाइबा खाइमाइ आत । (तपाईंलाई आफ्नो भाषा आउँदैन भने सिकौं । ढिला कहिल्यै हुँदैन ।)

तपाईको प्रतिक्रिया