पोकलीमा सुनुवार सङ्ग्रहालय स्थापना

ओखलढुङ्गा
तस्वीर: चन्द्रकला क्षेत्री

सुनुवार समुदायको लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको पोकलीमा सुनुवार सङ्ग्रहालय स्थापना गरिएको छ ।

सुनुवार सेवा समाजले जिल्लाको लिखु गाउँपालिका—९ पोकलीको वाच्पुमा घर निर्माण गरेर सो सङ्ग्रहालय स्थापना गरेको हो । सङ्ग्रहालय भवन निर्माणका लागि दाताहरूबाट रु तीन लाख, लिखु गाउँपालिका—९ बाट तीन लाख रुपैयाँ र सङ्घीय सांसद यज्ञराज सुनुवारको सांसद विकास कोषबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको समाजका अध्यक्ष देवकुमार रुपाचाले बताउनुभयो । उहाँले सुनुवार समुदायको मौलिक संस्कृतिको संरक्षण र पोकलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समाजले आफ्नै सुविधा सम्पन्न भवन बनाएर सङ्ग्रहालय स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिए ।

उक्त भवनमा सुनुवार समुदायको मौलिक संस्कृति झल्काउने भेषभूषा, सुनुवारी बाजा र सुनुवार संस्कृतिका ऐतिहासिक एवम् धार्मिक महत्त्वका सामग्री राखिने समाजका सल्लाहकार पशुपति सुनुवारले बताए । ‘हाम्रो समाजको आफ्नै छुट्टै भवन थिएन, हाम्रो मौलिक संस्कृति झल्काउने सामग्री राख्न तथा भेला र बैठक गर्न समस्या थियो’, उनले भने, ‘भवन निर्माण भएपछि अब पोकली घुम्न आएका पर्यटकलाई सुनुवार समुदायको मौलिक संस्कृतिबारे जानकारी दिन सहज भएको छ ।’ सुनुवार समुदायको जातीय पहिचान स्थापना गर्न र सुनुवारी भाषा एवं संस्कृतिसँग सम्बन्ध जोडिएका पोकलीमा पर्यटन प्रवर्द्धन गर्ने गरी सङ्ग्रहालयको अवधारणा ल्याइएको उपजको भनाइ छ ।

सुनुवार संस्कृतिको संरक्षण, प्रचारप्रसार र पोकलीको पर्यटन प्रवर्द्धनमा सङ्ग्रहालयले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समाजको छ । दुई कोठे सो भवनको रङ्ग रोगन र शौचालय बनाउने काम सम्पन्न भएको छ । पछि त्यसमाथि तल्ला थपिने लक्ष्य छ । सुनुवार समुदायको बाहुल्यता रहेका लिखु—९ पोकलीमा वर्षेनी सयौँको सङ्ख्यामा ‘पोकली झरना’ घुम्न आउने पर्यटक सुनुवार समुदायको मौलिक संस्कृति हेर्न लोभिने गर्दछन् । पोकली झरना अवलोकन गर्न आउने पर्यटकले सुनुवार समुदायको मौलिक संस्कृतिबारे जानकारी लिन चाहने भएकाले वडाको सम्पदाको रूपमा रहने हुँदा सो भवन निर्माणमा वडा कार्यालयले सहयोग गरेको लिखु—९ का वडाध्यक्ष सुकवीर तामाङले बताए ।

मुलुककै दोस्रो अग्लो झरनाका रूपमा मानिने जिल्लाको पोकली झरनाको नाम सुनुवार भाषासँग जोडिएको मानिन्छ । किंवदन्ती अनुसार परापूर्व कालमा कुनै नव आगन्तुक पोकली झरना अवलोकनमा आइपुगेको र त्यहाँ एक जना सुनुवार समुदायकी महिलाले सिस्नु टिप्दै गर्दा यो झरनाको नाम के हो भनेर पर्यटकले सोध्दा ती महिलाले सिस्नु के को लागि टिपेको भन्ने प्रश्न होला भनेर ‘पो कलि’ भन्ने जवाफ दिएको र सोही समय देखि उक्त झरनाको नाम पोकली रहन गएको भन्ने मान्यता छ । सुनुवार भाषामा पो भनेको सुँगुर र कलि भनेको लाई भन्ने बुझिन्छ ।


कतिपयले पोकली झरनाको नामका विषयमा फरक फरक तर्क गर्ने गरेको भए पनि त्यहाँका सुनुवार समुदायले पोकली नामकरणमा सुनुवारी पहिचानसँग जोडिएको दाबी गर्ने गरेका छन् । एक सय ३० मिटर उचाइको सो झरना अङ्कित हुलाक टिकटसमेत प्रचलनमा आइसकेको छ ।

समुद्री सतहदेखि करिब दुई हजार २०० मिटर उचाइमा रहेको सो झरना कर्णाली प्रदेशको कालिकोटस्थित १४८ मिटर उचाइको पचल झरना पछिको नेपालको दोस्रो झरना रहेको मानिन्छ । लिखु खोलाको उत्तर पूर्वबाट झर्ने सो झरना नजिकै पर्ने घना जङ्गलले ढाकेको गौरी वन अर्को आकर्षण हो । खोलाको चट्टाने भागमा बजारिँदै झरेको पानीको बेगले आनन्द दिने गरिन्छ । झरनाको २०० मिटर तल हाँडीदह छ ।

परापूर्व कालमा झरना आसपासमा रिठ्ठे झाँक्री बसोबास गर्ने र गाउँमा आवश्यक पर्दा हाँडी दहमा धूप हालेर प्रार्थना गरेपछि भाँडाकुँडा दहबाट निस्कने गरेको जनविश्वास छ । सुनुवार समुदायको बाहुल्यता रहेको पोकली झरना क्षेत्र आसपासमा ब्राह्मण, तामाङ, शेर्पासहित अन्य जातजातिको पनि बसोबास छ । बहु सांस्कृतिक एवं बहु धार्मिक पहिचानको सम्भाव्यता बोकेको पोकली क्षेत्रमा पुग्ने पर्यटकलाई स्थानीयवासीले लोभलाग्दो जातीय झाँकी र नाच देखाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका