निजगढले कोरोनाले ज्यान गुमाएका परिवारलाई राहत प्रदान गर्ने

पर्यटकीय क्षेत्रमा जान रोक

सैलुङअनलाइन संवाददाता
निजगढ

निजगढ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएका नगरबासीहरुको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

मेयर सुरेश कुमार खनाल संयोजक रहनुभएको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।


कोरोना भाइरस सङ्क्रमणको पहिलो र दोस्रो लहरका कारण ज्यान गुमाएकाहरूको परिवारलाई प्रति परिवार ३१ हजार रुपैंया उपलब्ध गराउन नगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको मेयर सुरेशकुमार खनालले बताए । कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने निजगढ नगरपालिका प्रदेश २ कै पहिलो स्थानीय तह हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी जारी निषेधाज्ञाका कारण प्रभावित भएका अति विपन्न र असहाय परिवारहरूलाई राहत वितरण गर्नको लागी पनि नगर कार्यपालिका समक्ष सिफारिस गरिएको मेयर खनालले बताए ।

निषेधाज्ञाका कारण अति विपन्न र असहाय नागरिकहरूको जीवनयापनमा कठिनाइ भएकोले उनीहरूलाई खाद्य सामग्री उपलब्ध गराउनुपर्ने नगरपालिकाको दायित्व रहेकोले तेस्ता परिवारको लगत सङ्कलन गर्न वडा कार्यालयहरूलाई निर्देशन गरिने मेयर खनालले बताए । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागी जारी निषेधाज्ञामा पनि नगरको पर्यटकीय क्षेत्रहरूमा चहलपहल बढ्न थालेपछि ती स्थानहरूमा घुमफिरको लागि पूर्ण रूपमा निषेध गरिने भएको छ ।

नगरपालिकाको गणेशमान पार्कस्थित बकैया नदी,भरतगंज सिंगौल स्थित बगर झरना,धन्सार नदी,डम्मरपुरस्थित शक्तेश्वर महादेव मन्दिर परिसरको शक्ति झरना र नदीमा गर्मी छल्नेहरूको भिड बढ्न थालेपछि विपद् व्यवस्थापन समितिले ती स्थानहरूमा जान रोक लगाउने निर्णय गरेको हो । गर्मी छल्नका लागि निजगढका सो पर्यटकीय क्षेत्रहरूमा बारा सहित पर्सा र रौतहटदेखि मानिसहरू आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका