बहराइनमा स्पुतनिक–भी खोप ९४.३ प्रतिशत प्रभावकारी भएको दाबी

सैलुङअनलाइन रासस
मस्को
तस्विर : फाइल

रुसको डाइरेक्टर इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्ड र निर्देशिका अनुसार अनुसन्धान गरिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

दोस्रो खोप लगाएको १४ दिनपछि मात्रै खोपको पूर्ण प्रभावकारी देखिएको पनि अध्ययनबाट पुष्टि भएको जनाइएको छ ।

खोप लगाएकाहरू कसैको पनि अहिलेसम्म मृत्युको खबर नआएको र खोप लगाएकाहरू गम्भीर बिरामी पनि नभएको उनीहरूको दाबी छ ।

बहराइनको मानवीय क्षति न्यून गर्नका लागि रुसी खोपको ठुलो योगदान गरेको पनि बहराइनका अधिकारीहरूले बताउने गरेका छन् ।

स्पुतनिक–भी को कारण बहराइनको जनजीवन चाडै नै सामान्य अवस्थामा फर्किने अपेक्षा पनि गरिएको त्यहाँको प्रशासनले जनाएको छ ।


‘हाम्रो अध्ययनले कोरोनाभाइरसविरुद्धको खोप स्पुतनिक–भी निकै प्रभावकारी र उपयोगी रहेको देखिएको छ,’ बहराइनका स्वास्थ्य मन्त्री फेक्वा साइद अल सालेहले भने ।

अधिराज्यभरि रहेका सबै नागरिकलाई यो खोप निःशुल्क र सहजै उपलब्ध हुने व्यवस्था गरिएको पनि उनले बताए ।

कोरोनाभाइरस विरुद्ध स्पुटनीक भी खोप प्रयोग गर्ने देशहरू मध्ये बहराइन ६७औँ देश भएको पनि रुसी अधिकारीहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका