मातृभूमिको सुरक्षामा सशस्त्रको योगदान महत्त्वपूर्ण छ : गृहमन्त्री

सैलुङअनलाइन संवाददाता
काठमाडौँ
नवनियुक्त गृहमन्त्री खगराज अधिकारी सितल निवासमा सपथ लिनुहुदै । तस्वीर : प्रदीपराज वन्त/रासस

गृहमन्त्री खगराज अधिकारीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा भए गरेका काम कारबाहीबारे जानकारी लिएको छ । उक्त निरीक्षण पश्चात् आयोजित समारोहमा गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी कर्मचारीले सीमा सुरक्षामा पुर्‍याएको योगदान र राष्ट्र तथा नागरिकको सेवा–सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

सदियौँदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमता महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । मन्त्री अधिकारीले भने, ‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिइएको सेवा तथा सुविधा अब्बल छ, भूकम्पजस्ता महामारीमा साधन श्रोतको अभावकाबीच सशस्त्र प्रहरीले गरेको कार्यको सम्मान प्रकट गर्न चाहन्छु ।’

गृहमन्त्री अधिकारीले मन्त्रालय आवश्यक साधन श्रोत, जनशक्ति र वृत्ति विकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने बताए । उनले कार्यक्षेत्रमा पूर्ण व्यावसायिक र उच्च मनोवलकासाथ क्रियाशील हुन सशस्त्रका प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले समायानुकुल राशन व्यवस्थापन, वृत्ति विकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने आश्वासन दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृहमन्त्रीबाट भएको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोबल तथा हौसलामा वृद्धि भएको विश्वास व्यक्त गरे । गृहमन्त्रीको १२ बुँदे निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरस पालना गरिने उनले प्रतिबद्धता व्यक्त गरे । भ्रष्टाचार तथा लैङ्गिक हिंसामा शून्य सहनशीलताको नीति कडाइका साथ पालना गर्दै सङ्गठन अगाडि बढिरहेको जानकारी गराए ।

महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापन जस्तो संवेदनशील र नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको विषयलाई थप प्रभावकारी बनाउन सुदूर पूर्वको ओलाङचुङ्गगोलाबाट सुदूर पश्चिमको छाङ्गरु तथा सुस्ताबाट कञ्चनपुरको ब्रम्हदेवसम्मको स्थानमा गण, गुल्म र बिओपी स्थापना गरी सेवा, सुरक्षा र उद्धार कार्यमा खटिँदै आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया